हेटौँडाः वरिष्ठ कलाकार, गीतकार नीर शाहलाई यस वर्षको ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले आईतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पुरस्कार बारे जानकारी दिएको हो ।
प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले १ लाख राशिको पुरस्कार नीर शाहलाई प्रदान गरिने निर्णय भएको जानकारी गराउनुभएको छ । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालदेखि पुरस्कार रकम प्रायोजन गर्दै आउनुभएको छ । मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर नेपाली गीत लेखनमा समेत पु¥याउनुभएको योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
आगामी माघ १५ गते हेटौँडामा एक विशेष समारोहकाबीच नीर शाहलाई पुरस्कार समर्पण गरिने बताइएको छ । २०६४ सालमा अम्बर गुरुङलाई पुरस्कृत गरेर सुरु भएको ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ बाट क्रमशः प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसक्नुभएको छ ।