हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को आयोजनामा भएको बागमती प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिता–२०८१ मा द्वितीय हुन सफल हेटौंडा–५, सानोपोखरास्थित रिलायन्स बोर्डिङ स्कुलका विद्यार्थीलाई विद्यालयले पुरस्कृत गरेको छ । बिहीबार बिहान विद्यालयको प्रार्थना समयमा प्रदेशस्तरीय नृत्य प्रतियोगितामा द्वितीय हुन सफल विद्यार्थीलाई विद्यालयका संस्थापक प्रिन्सीपल केशवलाल श्रेष्ठले विद्यार्थीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
जिल्लास्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट तीनमा रहँदै रिलायन्स बोर्डिङ स्कूलका विद्यार्थी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका थिए । नृत्य प्रतियोगितामा अंकिता लामा, युनिसा बर्तौला, युनिसा श्रेष्ठ, सुधा लामा, श्रीसुधा गिरी, सगुन लामा, स्वेच्छा लो, एन्जिला पाख्रिन, मायुसा लामा, सिम्रन लो, जिना केसी, एनिमा गुरुङ, युना खड्का र सुविन महर्जनको समूह द्वितीय हुन सफल भएका हुन् । गत सोमबार काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय प्रतियोगितामा ३१ वटा विद्यालयको सहभागिता रहेको थियो ।
रिलायन्स बोर्डिङ स्कुलकी सहायक प्रिन्सीपल अनुजा झाको अध्यक्षता तथा विद्यालयका संस्थापक प्रिन्सीपल श्रेष्ठको प्रमुख आतिथ्यमा विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम भएको हो । श्रेष्ठ प्याव्सन बागमती प्रदेश समितिको अध्यक्ष समेत हुनुहुन्छ । कार्यक्रममा रिलायन्स बोर्डिङ स्कुलका प्रिन्सीपल दिनेश सुवेदी, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रितु श्रेष्ठ लगायतको उपस्थिति थियो । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट हुन सफल हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–१८ स्थित मकवानपुर बालविद्या सदनका विद्यार्थीको समूह पनि प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका थिए ।