(पुस्तक समीक्षा)
पठन संस्कृतिको विकासका लागि समृद्ध समाज राष्ट्रिय दैनिकको १५ औँ वार्षिकोत्सवको अवसरमा बालजागृति इंग्लिस सेकेण्डरी स्कुल हेटौँडा–२ सँगको सहकार्यमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले प्रदान गर्नु भएको मायाको चिनो ‘खबुज’ उपन्यास अद्योपान्त पढेँ । उक्त कृति मेरो मथिङ्गलको मझेरीमा मज्जैसँग गढेको हुँदा केही प्रसंग कोट्याउने वा भट्याउने जमर्को गरेको छु ।
खबुजको अर्थ–मध्यपूर्व तथा अरब प्रायद्वीपका मुलुकमा तन्दुर वा भट्टीमा पोलिने आँटा वा मैदाको रोटी । यसलाई ठाउँअनुसार ‘खुब्ज’, ‘खोब्ज’, ‘खुबुस’ वा ‘खफुस’ पनि भन्ने गरेको पाइन्छ । प्रस्तुत खबुज कृतिका लेखक बेन्यामिन मलयालम भाषाका कथाकार तथा उपन्यासकार हुन् । भारतको केरला राज्यका स्थायी बासिन्दा उनी सन् १९९२ देखि बहराइन बस्दै आएका छन् । यो नेपाली अनुवाद पेन्गुइन इण्डियाले प्रकाशन गरेको आडु जिविदमको अङ्ग्रेजी संस्करण गोट डेज (२०१३) मा आधारित छ । फाइनप्रिन्टद्वारा प्रथम पटक सन् २०१५ मा पेन्गुइन इन्डियासँग अनुवाद अधिकार लिई प्रकाशित भएको पाइन्छ ।
दुई चार वर्ष खाडीतिर काम गरेर घरको ऋण तिर्ने, घरमा एउटा कोठा थप्ने अनि श्रीमतीको पेटमा हुर्कदै गरेको बच्चाको लालनपालनलाई चाहिने पैसा कमाएर घर फर्किने प्रस्तुत कृतिका मूलपात्र नजिबको सपना हुन्छ । खाडी जाने उसको सपना पूरा त हुन्छ । तर दूर्भाग्यले उसलाई पुर्याउँछ अनकन्टार साउदी मरूभूमिको बाख्रा फार्ममा । त्यहीँ सुरू हुन्छ उसको बँधुवा मजदुर दैनिक ।
आफ्नो घरगाउँ र परिवारको सम्झना दबाएर उराठ मरूभूमिमा खुला आकाशलाई घर र बाख्रालाई आफन्त मान्नु उसको नियति बन्छ । अन्ततः त्यस नियतिबाट उम्कन उसले तय गर्छ एउटा कष्टकर यात्रा । नजिबको सोही कष्टकर भोगाइ र यात्रालाई प्रस्तुत उपन्यासमा कारागार, मरूभूमि, उन्मुक्ति र शरण गरी चार चरणमा चित्रण गरिएको छ ।
सुन्दर सपनाका पोका बोकेर खाडी पुगेका नजिब जस्ता श्रमिकले अर्बबको बाख्राको खोरमा काम गर्दा पाउने गरेको कष्टकर यातनाबाट उन्मुक्ति पाउन आफैं कारागारको ढोका ढकढक्याउन पुग्छन् । बाँच्नका लागि नजिबले पनि आफैंलाई कारागारमा सुम्पेको हुन्छ । यसैबाट कल्पना गर्न सकिन्छ, जानाजान कारागारमा जाक्किने हदसम्म पुग्नुअघि कति हन्डर, ठक्कर खाएको हुन्छन् होला ?
तर, दुर्भाग्य कारागारमा समेत उनीहरूले सुरक्षित महसुस गर्न पाउँदैनन् । अरबीहरू कानून हातमा लिएका र हरेक हप्ता कारागारमा ‘आइडेन्टिफिकेसन परेड’ हुन्थ्यो । अरबीहरूले आफ्ना भगौडा कामदारहरूलाई कारागारमा आएर पहिचान गर्थे । बिहानको नास्तापछि सबैलाई लाइनमा उभ्याइन्थ्यो । आफ्नो कामदारलाई देख्ने बितिक्कै अरबीहरू कानको जाली फुट्ने गरी झापड हान्थेँ । कसैकसैले त कम्मरको पेटी फुकालेर आफ्नो रिस नमरून्जेल सुम्ल्याउँथे ।
आफ्नो स्पोन्सरलाई परैबाट देख्नेबित्तिकै कैदीको होस हवास उड्थ्यो र ऊ डाँको छोडेर रून थाल्थ्यो । आफूलाई यातना दिने अरबीकहाँ फेरि फर्कनु अकल्पनीय कुरा हुन्थ्यो । अरबीहरूमा कुनै दया, माया हुँदैनथ्यो । तिनले कैदीलाई– यसले मेरो पैसा चोरेर भाग्यो । मेरो छोरीलाई बलात्कार गर्न खोज्यो । यसले मलाई मार्न खोज्यो भन्ने जस्ता गम्भीर आरोप लगाउँदै तुरुन्तै कारागारबाट फिर्ता लैजान्थे । पर्सिएको खसीको जस्तो दयनीय हुन्थ्यो कैदीको अनुहार । म निर्दोष छु भन्दै कैदी डाँको छाडेर रून्थ्यो । तर उसको चर्को रोदन कारागारका भित्तामाथिसम्म पुग्थ्यो अनि त्यतैकतै हराउथ्यो । सुख्खा मरूभूमिमा पानीका केही थोपा हराए झैँ ।
प्रसिद्ध मुलुक साउदी अरब गएको भए पनि लाग्थ्यो यस उपन्यासका मुख्यपात्र नजिब जो एउटा बिरानो ग्रहमा बस्थे, जसका सहयात्री थिए केही सय बाख्रा, ऊठ, निजको मालिक अर्बब, हप्तामा दुई पटक आउने पानीको ट्याक्टर, हप्तामा एक पटक आउने परालको ट्रक र महिनामा एक पटक आउने गहुँको ट्रेलर ।
मानवीय जीवन भोगाइका क्रममा हरेकको एउटा न एउटा उत्कर्ष हुन्छ, चाहे त्यो खुसी होस्, दुख होस्, बिमारी होस् या भोकमरी नै किन नहोस् ! जब अन्तिम बिन्दुमा पुगिन्छ, तब त्यहाँ दुई वटा उपाय हुन्छन्– कि त त्यस्तै हालतमा बाँच्ने । कि त्यहाँबाट उम्कन अन्तिम प्रतिवाद वा सङ्घर्ष गर्ने । नजिबले साउदी अरब खाडीमा बस्दा भोग्नु परेको कष्टकर जीवन र अन्तिम अवस्थामा त्यहाँबाट भाग्न गर्नुपरेको सङ्घर्षको कहालीलाग्दो यात्राको वास्तविक रूप हो खबुज उपन्यास ।
यस उपन्यासका सम्बन्धमा अमर न्यौपानेले पुस्तकको भूमिका मा भन्नुभएको छ– खबुजले मनमुटु दुबै हल्लायो । पढ्दै जाँदा अनुवाद पढ्दै छु भन्ने नै बिर्से । हाम्रो गाउँतिर अरब गएर आएका दाजुभाइले सुनाएका दुःखका कथा यस्तै हुन्छन् ।
त्यसैगरी वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले भन्नुभएको छ– “उपन्यास पढ्दापढ्दै बीचबीचमा म रोएँ । किनकि म कामदारहरूको अवस्थासँग सहानुभूति राख्न सक्थेँ । चरम आर्थिक समस्याका कारण नेपालीका कैयौं मानिस पेट पाल्नकै लागि विदेशिन बाध्य छन् । हाम्रो अर्थतन्त्रको झल्को दिने र समदेशीसँग सहानुभूति राख्न सघाउने यो उपन्यास सबैले पढ्नैपर्छ ।” हो, म पनि यहाँहरू सबैलाई त्यसै भन्छु ।