हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि २ जनाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका अनुसार बिहिबार भएको उम्मेद्वारी दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाटले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
अनिल अग्रवाल संघको वर्तमान समितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने रानाभाट उपाध्यक्ष हुनुहुन्छ । संघको निर्वाचन कार्यक्रम शनिबार बिहानदेखि हेटौंडा–२ स्थित पल्पसा सदनमा हुनेछ । महासचिव पदका लागि प्रतिमा श्रेष्ठ र विकेशलाल श्रेष्ठकले उम्मेद्वारी दर्ता गराउनुभएको छ । कोषाध्यक्ष पदका लागि कृष्ण कर्माचार्य (भाइ) र तेजराज अधिकारीको उम्मेद्वारी परेको छ भने सह–कोषाध्यक्षमा राधिका सामरी पाण्डे र निमल वैद्यको उम्मेद्वारी परेको छ । एशोसिएटतर्फ उपाध्यक्षमा विष्णु खनाल र उज्जवल चौलागाईं उम्मेदवारी पर्दा सचिवमा माधव ज्ञवाली निर्विरोध निर्वाचित हुनुभएको छ ।
वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुलीको उम्मेद्वारी परेको छ । उद्योगतर्फकै उपाध्यक्षमा दीपक उप्रेती र रविन्द्र प्रसाद घिमिरेको उम्मेद्वारी पर्दा सचिवमा रुपकराज दहाल निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै, वस्तुगत उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारीको उम्मेद्वारी परेको छ भने सचिव पदका लागि राजाराम कार्की र नेत्रप्रसाद खतिवडाले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
वाणिज्यतर्फ सदस्यमा राजेन्द्र लामिछाने (राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञ बहादुर राई र होमनाथ खनाल (रोशन) को उम्मेद्वारी पर्दा महिला आरक्षणतर्फ निलमकुमारी पाण्डे, निलम बजगाई र मुनाकुमारी पाठकको उम्मेदवारी परेको छ । एसोसिएट सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा, पुजन विडारी, हेटौंडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली र बहुराष्ट्रिय कम्पनिबाट विक्रमकुमार सञ्जेलको उम्मेद्वारी परेको छ । उद्योगको महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवालको उम्मेदवारी परेको छ भने वस्तुगगतको मनहरी आरक्षणतर्फ नारायण अधिकारी र शंकरप्रसाद कालाखेतीको उम्मेदवारी पारेको छ ।
यस्तै, मनहरी आरक्षण नारायण सुवेदी र उद्योग तर्फका सदस्यको उम्मेद्वारी गंगाका कुमारी श्रेष्ठको उम्मेद्वारी रद्द गरिएको छ । संघको विधान (बाहौं संशोधन सहित) को दफा ११ को उपदफा (६) मा “कार्यसमितिको पदाधिकारी एवम् सदस्यहरुको निर्वाचन हुने मिति (महिना) भन्दा २ वर्ष अगाडि सदस्यता प्राप्त गरेको सदस्यहरुले मात्र निर्वाचनमा उम्मेद्वारी दिन मिल्ने व्यवस्था लागू भएको हुँदा दुबैजनाको उम्मेद्वारी रद्द गरिएको निर्वाचन अधिकृत इश्वरराज ढकालले जानकारी दिनुभयो ।