हेटौँडा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६, रातामाटामा योद्धा गाडीले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेर ४० मिनेटको समयमा बिपि राजमार्गमा झापाबाट काठमाडौं जाँदै गरेको प्र १–०१–००१ च ८८२१ नम्बरको योद्धा गाडीले साईकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गाडीको ठक्करबाट कमलामाई नगरपालिका–१२ का ३६ वर्षीय शेर बहादुर खपाङ्गी गम्भीर घाइते भएका थिए । घाइते शेर बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । उपचारको क्रममा शेर बहादुरको बिहान ४ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । गाडी चालक झापा जिल्लाको दमक नगरपालिका–१२ का ३१ वर्षीय हेमराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।