हातमा कालोपट्टी बाँधेर समाचार वाचन गर्दै हेटौँडा–४ स्थित रेडियो निकासकी पत्रकार सुमिना चौलागाई ।

हेटौँडा : मकवानपुरका पत्रकारहरु आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु र विभिन्न संचार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरको आव्हानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् ।

मकवानपुरमा पत्रकारहरुले आइतबार बिहानैदेखि आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालोपट्टी बाँधेर शुक्रबार भएको घटनाको विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको टोलीले विभिन्न संचारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारहरुसँग ऐक्यवद्धता पनि जनाएका छन् ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विषयलाई लिएर केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा विरोध जनाइएको बताउनुभयो । उहाँले भोलि सोमबार बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत कार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने जानकारी गराउनुभएको छ ।