बालसाहित्यको क्षेत्रमा नवसर्जक साहित्य चौतारी नेपाल मुलुककै परिचित संस्थाको रुपमा स्थापित भइसकेको छ । विद्यालय तहका बालबालिकालाई साहित्यमा सहभागी हुन प्रेरित गर्ने चौतारीले अग्रज साहित्यकारसँग उहाँहरुको बाल्यकाल र सुरुवाती साहित्य लेखनका विषयमा कुरानी गर्न सुरु गरेको छ । नवसर्जक साहित्य चौतारीका सदस्य उज्ज्वल बराल र पम्फा रुम्बाले मकवानपुरे साहित्यकार सुवास खनालसँग गरिएको कुराकानीः

समाजः साहित्य क्षेत्रमा लाग्न तपार्ईं कसरी प्रेरित हुनुभयो ?
खनालः सुरुसुरुमा साहित्यिक कार्यक्रममा सुन्नका लागि मात्र गइन्थ्यो, रचनाहरु सिर्जना गरिँदैन थियो । पछिपछि बुवाममीले कार्यक्रममा जाने, सुन्ने आउनेमात्र गर्नु हुँदैन, लेख्नु पनि पर्छ भन्नुभयो । त्यसपछि लेख्न मन लाग्न थाल्यो । बिस्तारै लेख्न थालेँ । धेरै चिजहरु हुँदै गएपछि ७–८ कक्षा पढ्ने बेलामै मैले रचनाहरु सृजना गर्न थालेको हुँ । झरना साहित्यिक परिवारले प्रतियोगात्मक कार्यक्रमहरु गथ्र्यो, पुरस्कार जित्ने लोभ हुन्थ्यो । अनि भाग पनि लिएँ र पुरस्कार पनि जितेँ । त्यसले पनि प्रेरित गर्‍यो र पछि साहित्य बुझ्दै गएपछि रहरका लागि मात्र होइन, जिम्मेवारीसाथ साहित्य लेख्नुपर्छ भन्ने अनुभूति हुन थालेको छ । त्यसैले केहि न केहि सकारात्मक परिवर्तनका लागि चेतनाका साथ साहित्य लेख्ने गरिएको छ ।

समाजः तपाईंले कुन बिधामा रहेर साहित्य लेख्ने गर्नुभएको छ ?
सुरुवातदेखि नै कविताहरु बढी लेखियो । कविताकै कार्यक्रममा बढी सहभागी भइयो । पछिल्लो समयचाहिँ कथा लेखनमा पनि जोडिएको छु । त्यसपछि निबन्धहरु, लघुकथा, गजल पनि लेखेको छु । मैले धेरैजसो कविता लेखेको छु र अहिलेसम्म पनि मेरो मूल केन्द्रित बिधा कविता नै हो । हालसम्म दुईवटा कविता संग्रहहरु प्रकाशित भएका छन् ।

समाजः कृति लेख्ने क्रममा तपाईंले पठन संस्कृतिलाई कत्तिको जोड दिनुभयो ? अथवा कत्तिको ध्यान दिएर आफ्नो कृतिहरु सिर्जना गर्नुभयो ?
पहिले पाठ्यपुस्तकहरु आफ्नो साथमा हुन्थ्यो र त्यसबाटै सहयोग लिन्थें । तर जब झरना साहित्यको कार्यक्रममा जान थालियो, पुरस्कार जित्न थालियो अनि हामी एउटा बाल क्लबमा पनि समाहित थियौं । त्यो क्लबमा हामी पाँच–पाँच रुपैयाँ उठाउँथ्यौं अनि मुना पत्रिका किन्थ्यौं, सुनकेशरा बालपत्रिका किन्थ्यौं र पालो–पालो पढ्थ्यौं । पछि त्यो हुँदै साहित्यिक कृतिहरु पढ्ने बानी लाग्यो, साहित्यका अनेकौं किताबहरु पढ्न थालियो । ती किताब सरसरी पढ्नेमात्र होइन, त्यसका गुण पक्ष के हो, आलोचित पक्ष के हो, ती किताबले कस्ता खालका प्रभावहरु राख्छन् भन्ने सम्बन्धमा समेत गाँसिएर किताबहरु पढ्ने गरिएको छ । कुनै पनि लेखक राम्रो लेखक बन्नका लागि पठन एकदमै आवश्यक छ ।

समाजः तपाईंले साहित्यिक यात्रा सुरुवात गर्ने क्रममा कत्तिको सहज महसुस गर्नुभयो र अहिले त्यो सम्बन्धी कस्तो छ त वातावरण ?
सुरुतिर पनि लेख्न गाह्रो नै लाग्थ्यो, तर त्योचाहिँ सुरुवाति लेखनमा कविता, गजल बन्दिए हुन्छजस्तो लाग्थ्यो । त्यो हिसाबले गाह्रो लाग्थ्यो । मैले लेखेको अरुले कविता, गजल मान्छन् कि मान्दैनन् भन्ने लाग्थ्यो । अनि मैले लेख्या राम्रो भन्छन् कि भन्दैन भन्ने नि लाग्थ्यो । सृजना भनेको कठिन नै हुन्छ र अहिले पनि लेख्ने मुड बनाएर बसेपछि जे पायो त्यहि लेखेर हुँदैन, राम्रा कुराहरु लेख्नुपर्छ । लेखनमा बिभिन्न खालका रुपहरु छन् । म कुनरुपमा अगाडि बढ्ने भन्ने खालका कुराहरु हुन्छन् । त्यसकारणले गर्दा लेखन सधैं चुनौतीपूर्ण छ जस्तो लाग्छ मलाई ।

समाजः तपाईंका दुईवटा कविताका पुस्तक पनि प्रकाशन भइसके । तपाईं अन्य बिधामा कत्तिको अग्रसर हुनुहुन्छ ?
पछिल्लो समय मैले केहि कथाहरु पनि जम्मा गरिसकेको छु । करिबकरिब १३ वटा कथा बनिसकेका छन् । अबको कृति भनेको मेरो कथाकै आउँछ ।

समाजः साहित्यमा लागेर तपाईंले के पाउनुहुन्छ र त्यसमा लाग्दा के–के गुमाउनुपर्छ जस्तो लाग्छ तपाईंलाई ?
साहित्यमा लागेर एकदमै पैसा कमाइन्छ भन्ने दृष्टिकोणले अहिलेसम्म कोहि पनि साहित्यकार बनेका छैनन् । सबभन्दा पहिले त सन्तुष्टिको कुरा हो । साहित्यममा लाग्दा सुसंगत पाइन्छ, धेरै साथी भेटिन्छ, धेरै लेखकहरुसँग चिनजान हुन्छ । आफूले लेखेका कुराहरु अरुलाई भन्न पाइन्छ । त्यो एउटा प्राप्ति हो जस्तो मलाई लाग्छ । गुमाउनु परेको कुरामा चाहिँ साहित्यकार नभएको भए अरु केहि हुन्थेँ होला, केहि कुरा छुट्थ्यो होला । त्यस्तो खासै केहि गुमाउनु परेको जस्तोचाहिँ मलाई लाग्दैन ।