हेटौंडाः दोस्रो संस्करणको हेटौंडा–४ नम्बर वडा खेलकुद महोत्सव अन्तर्गत वडास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार हेटौंडा–४ स्थित ब्रह्मदिक् एकेडेमीको व्यवस्थापनमा वडास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको हो ।

हेटौंडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको कविता प्रतियोगितामा ब्रह्मदिक एकेडेमीमा कक्षा–९ मा अध्ययनरत कृष्मा लौंडारी प्रथम हुनुभएको छ । प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालयको कक्षा–९ मा अध्ययनरत रोहन काफ्ले द्वितीय र सत्यम जेभियर्स बोर्डिङमा अध्ययनरत आँचल शाही ठकुरी तृतीय हुनुभएको छ ।

४ नम्बर वडाभित्रका विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा वडाभित्रका ३ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । कविता प्रतियोगिताका विजेताहरुलाई खेलकुद महोत्सवको समापन कार्यक्रममा पुरस्कार प्रदान गरिने छ ।

खेलकुद महोत्सव अन्तर्गत शुक्रबार भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा निबन्ध लेखन प्रतियोगिता हुनेछ । यस्तै, वडाभित्रका विद्यालयका शिक्षकहरुबिच ५ ‘ए’ साइड फुटबल प्रतियोगिता पनि शुक्रबारबाट सुरु हुनेछ । यसअघि वडास्तरीय हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भइसकेको छ । जिल्लास्तरीय शिक्षक दौड र बिस्तारै स्कुटर दौड प्रतियोगितासमेत सम्पन्न भएको छ ।