हेटौँडा : हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौंडा–१५ र हेटौंडा–१८ बीच उपाधि भिडन्त हुने भएको छ । शुक्रबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सेमीफाइनल चरणको दुई खेलहरुमा जीत निकाल्दै हेटौँडा–१५ र हेटौँडा–१८ फाइनलमा प्रवेश गरेसँगै यी दुईटिम बीच उपाधि भिड्न्त हुने निश्चित भएको हो । फाइनल खेल शनिबार हुनेछ ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा हेटौंडा–८ लाई हेटौंडा–१५ ले २–० गोलले हराएको छ । हेटौंडा–१५ को जीतमा रोहित डिम्डुङ्गले २ गोल गरे । उनले खेलको १२ औं मिनेटमा पहिलो गोल र ५१ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । म्यान अफ द म्याच डिम्डुङ्ग नै घोषित भए । यस्तै, दोस्रो खेलमा हेटौँडा–९ लाई हेटौंडा–१८ ले २–१ गोलले पराजित गरेको छ । हेटौंडा–९ को तर्फबाट पहिलो हाफको पहिलो मिनेटमा नै गोल गर्दै सञ्जिव कार्कीले अग्रता दिलाएका थिए । १–० गोलले पछि परेको हेटौंडा–१८ बाट अभिराज थापा मगरले खेलको ३६ औं मिनेटमा गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ३९ औं मिनेटमा अभिराजले दोस्रो गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याए । म्यान अफ द म्याच थापा नै घोषित भए ।