हेटौँडा ः प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत फागुन १३ गतेदेखि हुने प्रादेशिक छनोट खेल खेल्न मकवानपुरको टिम घोषणा गरिएको छ । मकवानपुर जिल्ला क्रिकेट संघले शुक्रबार मकवानपुरका नियमित कप्तान सुमन सुनारको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

उपकप्तानमा रिजन ढकाललाई जिम्मेवारी दिइएको छ । मकवानपुरको टिममा राम नरेश गिरी, गौरव खड्का, शुभ कंशाकार, तक्षक सिम्खडा, युविन बुढाथोकी, पियुष शर्मा, विशाल फुयाल, असीम श्रेष्ठ, समीर चौलागाई, गोकुल अधिकारी, सक्षम बास्ताकोटी, साकार गजुरेल अटाएका छन् । आस्तिक दाहाल, रोहित ठाकुर, इरफान अलि र विजय यादवलाई वैकल्पिक सूचिमा राखिएको छ । मकवानपुरको टिम व्यवस्थापकमा विमर्श ओझा र प्रशिक्षकमा सुवर्ण भट्टलाई जिम्मेवारी दिइएको छ ।

युविन बुढाथोकी र तक्षक सिम्खडा जिल्ला टिममा फर्किएका छन् भने आस्तिक दाहाल र रोहित ठाकुर बैकल्पिक खेलाडीका रुपमा रहने भएका छन् । प्रादेशिक छनोट खेल खेल्न मकवानपुरसहित ६ वटा जिल्लाको टिम र एउटा त्रिभुवन विश्वविद्यालयको टिम सहभागी हुनेछ । फागुन १३ गतेदेखि काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा समूह ‘ए’ का काठमाडौं, ललितपुर, भक्तपुर र त्रिभुवन विश्वविद्यालयको टिमले छनोट खेल खेल्नेछ भने समूह ‘बी’ का मकवानपुर, चितवन र नुवाकोट जिल्ला टिमले चितवनस्थित गौतम बुद्ध रंगशालामा खेल हुनेछ । दुई समूहको बिजेता र उपविजेताले सेमिफाइनल चरणको खेल खेल्नेछ ।