हेटौँडा ः श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको पाँचौँ साधारण भेला तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हेटौंडा–१० स्थित टोनी हेगन पार्कमा बिहीबार भएको अधिवेशनले सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गरेको हो ।
राजनैतिक, सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा प्रतिष्ठानका आजीवन सदस्यहरुबीच भएको भेलाले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । बाँकी चार सदस्य संस्थाको बैठकले मनोनित गर्नेछ । सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्ष ईन्द्रप्रसाद नेपाल र पुरुषोत्तम आचार्य, महासचिव सुवास खनाल, सचिव भरत दुलाल, कोषाध्यक्ष शुभलक्ष्मी विक रहनुभएको छ । सदस्यहरुमा ऋषिराम पोखरेल, अरुण खतिवडा, अनिता न्यौपाने, सन्तोष पौडेल, शान्ति प्रियवन्दना, रामबहादुर थापा र रामबाबु खतिवडा चयन हुनुभएको छ ।
प्रमुख वक्ताका रुपमा बामपन्थी नेता केदार न्यौपाने रहनुभएको भेलामा सल्लाहकारहरु प्रेमबहादुर पुलामी छिन्तु, मुनु सिग्देल, श्रीधर पोखरेल, हेटौंडा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामालगायतको आतिथ्य रहेको थियो र कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य ऋषिराम पोखरेलले राख्नुभएको थियो । साधारणसभामा संस्थाका सचिव सुवास खनालले प्रस्तुत गर्नुभएको कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पनि पारित गरिएको थियो । नवनियुक्त अध्यक्ष न्यौपानेले आफूले बनावटी ठूला योजना नबनाएको र संस्थाको भेलामा प्रस्तुत योजनाहरूलाई निष्ठापूर्वक अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।