फाइल तस्बिर

हेटौंडाः त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातह तह प्रथम वर्षको परीक्षा शुक्रबारबाट सुरु भएको छ । पहिलो दिन बीबीएस र बीएको क्रमशः बिजनेस अंग्रेजी र अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो ।

हेटौंडा—२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा बीबीएसको बिजनेस अंग्रेजी विषयको परीक्षामा २ सय ९५ जना परीक्षार्थी उपस्थित भएका छन् । १५ जना परीक्षार्थी भने परीक्षामा अनुपस्थित रहेको मकवानपुर बहुमुखी क्याम्पसका सहप्रशासक सत्यनारायण सिलवालले जानकारी दिनुभयो । बीएको अनिवार्य अंग्रेजी विषयको परीक्षामा ६३ जना परीक्षार्थी उपस्थित भएका छन् भने १० जना परीक्षार्थी अनुपस्थित रहेको उहाँले बताउनुभयो । दुबै परीक्षामा ७ प्रतिशत परीक्षार्थी अनुपस्थित भएका छन् ।

बीबीएसको बिहान ७ बजेदेखि १० बजेसम्म र बीएको दिउँसो १२ बजेदेखि ३ बजेसम्म गरी दुई सिफ्टमा परीक्षाको तालिकाअनुसार नै परीक्षा भइरहेको छ । मकवानपुरको सबैभन्दा बढी विद्यार्थी अध्ययनरत मकवानपुर बहुमुखी क्याम्पसमा ६ वटा क्याम्पसका विद्यार्थीको परीक्षा केन्द्र रहेको सिलवालले उल्लेख गर्नुभयो । हेटौंडा स्कू लअफ म्यानेजमेन्ट हेटौंडा, निर्मल बहुमुखी क्याम्पस बस्तीपुर, महेन्द्रकिरण बहुमुखी क्याम्पस मनहरी, पालुङ बहुमुखी क्याम्पस पालुङ, वंशगोपाल बहुमुखी क्याम्पस चौघडा र हेटौंडा क्याम्पस हेटौंडा गरी ६ वटा क्याम्पसहरुको परीक्षा केन्द्र मकवानपुर क्याम्पसमा रहेको छ ।

यस्तै, हेटौंडा—४ स्थित हेटौंडा क्याम्पसमा मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा केन्द्र रहेको छ । मकवानपुर बहुमुखी क्याम्पसबाट मात्र बीबीएसको बिजनेस अंग्रेजी विषयको परीक्षामा ६ सय २३ जना परीक्षार्थी उपस्थित भएको हेटौंडा क्याम्पसका कार्यालय सहयोगी प्रमुख सरोज राजथलाले जानकारी दिनुभयो । ३९ जना परीक्षार्थी भने परीक्षामा अनुपस्थित रहेको राजथलाले बताउनुभयो । बीएको अनिवार्य अंग्रेजी विषयमा १ सय ३७ जना परीक्षार्थी उपस्थित भएका छन् । ७ जना परीक्षार्थी भने परीक्षामा अनुपस्थित रहेको उहाँले जानकारी दिनुभयो । हेटौंडा क्याम्पस केन्द्रमा दुबै परीक्षामा ६ प्रतिशत विद्यार्थी अनुपस्थित भएका छन् । हेटौंडा क्याम्पसमा पनि दुई सिफ्टमा परीक्षा सञ्चालन भइरहेको छ ।

कोभिड महामारी संक्रमण जोखिमका कारण यसअघि सार्वजनिक परीक्षा तालिकाभन्दा करिब एक साता ढिला परीक्षा सुरु भएको हो । पहिलो दिनको परीक्षा प्रायः सबैको सोचेजस्तो राम्रो हुन नसकेको परीक्षार्थीहरुले बताइएका छन् । परीक्षार्थीहरु पहिलो परीक्षामै राम्रो नतिजाका लागि सन्तोषजनक देखिएका छैनन् ।

मकवानपुर जिल्लामा मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसमा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर र पश्चिम क्षेत्र मनहरी गाउँपालिकाका विद्यार्थीसमेत परीक्षाका लागि हेटौंडा आउनुपर्ने बाध्यता छ । मकवानपुरमा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस र हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, मनहरी बहुमुखी क्याम्पस, पालुङ बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र नारायणी कलेजमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत्को स्नातक तहका शैक्षिक कार्यक्रम अध्यापन हुने गरेको छ ।