हेटौँडा : मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नभएको १० दिन बितिसकेको छ । गत माघ २९ गतेदेखि मकवानपुर प्रजिअविहिन रहेको हो । गत माघ २९ मा मन्त्रिपरिषद् बैठकले मकवानपुरका प्रजिअ तीर्थराज चिलुवालको सरुवा गरेको थियो । सो लगत्तै उहाँ अर्थ मन्त्रालयमा हाजिर हुनुभयो । त्यस यता गृह मन्त्रालयले मकवानपुरका लागि प्रजिअको जिम्मेवारी कसैलाई पनि तोकेको छैन ।
चिलुवालको ८ महिनाकै अवधिमा अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो । गत जेठ २३ गतेदेखि चिलुवालले मकवानपुरको प्रजिअको जिम्मेवारी सम्हाल्नु भएको थियो । यता विगत एक सातादेखि मकवानपुरमा सहायक प्रजिअ समेत नभएको अवस्था रहेको थियो । फागुन ६ गते सहायक प्रजिअमा राजेन्द्र प्रसाद कँडेल हाजिर हुनुभएको छ । यसअघि मकवानपुरको सहायक प्रजिअ धोलकराज ढकाल हुनुहुन्थ्यो । उहाँको सहसचिव पदमा बढुवा भएसँगै संघीय मन्त्रालयमा हाजिर हुनुभएको छ ।