महङ्गो प्रबिधिको अनलाईन शिक्षा नै सर्वोत्कृष्ट सिकाई सहजीकरण हो भन्नेहरुका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित अमर माध्यमिक विद्यालयले लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा १२ वटा अस्थायी सिकाई केन्द्र सञ्चालन गरी करिब–करिब ६५२ बालबालिकालाई समेटी विद्यालयले गर्नुपर्ने कर्तव्य निर्वाह गरेको पाइयो । विद्यालय बन्द भएको अन्योलको अवस्थामा सरकारद्वारा जारी निर्देशिकाको आधारमा यस विद्यालयले शिक्षक र अभिभावकको परिचालन गरी विद्यार्थीलाई ५ वर्गमा वर्गीकरण गरेर तथ्यांक संकलन गरिएको थियो । वर्गीकरण गरिएका पाँच वटा वैकल्पिक सिकाई माध्यमहरु मध्ये उक्त तथ्यांकको आधारमा विद्यालयले शुरुमा अनलाइनको माध्यमबाट सिकाई सहजीकरण गर्यो ।
विपन्न र मजदुर वर्गका बालबालिकाको बाहुल्यता रहेको यस विद्यालयमा अनलाइन शिक्षा निल्नु न ओकल्नु हुनपुग्यो । अर्थात करिब २० प्रतिशत बालबालिका मात्र उक्त सिकाई सहजीकरणमा सामेल भएका थिए । कक्षा १० मा अध्ययनरत एक बालिकाले भनौं कि न भनौं जस्तै बडो असजिलो गरी बुबाले मोबाइल लानु भएकोले अनलाइनमा पढन पाइन । घरमा नेट जोडिएको थिएन जसले गर्दा बुवा घरमा हुनु भएको बेला डाटा खोलि पढ्ने गर्थे । अनलाईन पढ्ने समयमा बुवा घरमा भएपनि हुने जस्तै लाग्थ्यो तर बुवाको काममा पनि मोबाईल नै चाहिने भएकोले उहाँले लानु हुन्थ्यो । विद्यालयको चाहना बालबालिकालाई अभिभावकले सुरक्षित तवरले विद्यालय पढाउनमा सहयोग गरोस् भन्ने हो भने कतिपय अभिभावकहरु विद्यालय नखुलेका कारण आफूहरु काममा जान नपाएकोले विद्यालय खुल्नुपर्ने तर्क अघि सारेको समेत पाइन्थ्यो ।
अमर माध्यमिक विद्यालयका बालबालिकाको सिकाई शुरु गर्न कुन वर्गका बालबालिकाको कुन तरिकाबाट सहजीकरण गर्दा प्रभावकारी हुन्छ भनी शिक्षक र अभिभावकको निर्णयको आधारमा कक्षा ८, ९ र १० लाई अनलाइनबाट सञ्चालन गर्ने निर्णय बमोजिम अनलाइन शिक्षा सञ्चालन गरेको विद्यालयको दावी रहेको छ । नेटको र स्मार्ट फोनको उपलब्धता नभएका कारणबाट करिब २५ प्रतिशत बालबालिका मात्र उक्त अनलाईन कक्षामा जोडिएको पाइयो । अनलाइनबाट सुरक्षित किन र कसरी हुने भन्ने ज्ञानको अभावका कारण अनलाइनमा जोडिएका बालबालिका पनि पढाई भन्दा अन्य लिङ्क हेर्ने गरेको शिक्षकहरु बताउनु हुन्छ । विद्यालयको पढाई अनलाइनबाट भएको तर आफ्नो आर्थिक समस्याका कारण मोबाइल र ईन्टरनेट नभएकाले पढाईबाट बञ्चित भएका बालबालिकाहरु नजिकको साथीको घरमा गएर पढ्ने गरेको पनि पाइयो । तर केहि बालिकालाई केटा साथीको घरमा गएर पढ्न जाँदा यौन दुव्र्यवहार भएको विद्यालयको प्रधानाध्यापक मालती उप्रेतिले बताउनु भयो ।
अनलाइनमा पढ्ने बालबालिकाहरु पाठ छिटो सकिन्छ, बुझ्न गारो भएको, एकोहोरो पढाई भएका बारे बताइएको कारण अबको पाटो शिक्षकहरुले थप प्रयास र सरकारको अनलाइन शिक्षामा प्रभावकारी लगानी आवश्यक देखिएको छ । विद्यालयले सञ्चालन गरेको अस्थायी शिक्षक सिकाई बडो उपलब्धिमूलक रहेको अभिभाावकहरु बताउनु हुन्छ । अभिभावक शिला लामाले विद्यालयका शिक्षक र शिक्षिकाको वडो मिहिनेतका साथ हाम्रा बालबालिका अस्थायी केन्द्रमा पढ्न पाएको बताउनु हुन्छ । अभिभावकको साथ र सहयोग त्यस्तै शिक्षक साथीहरुको कर्तव्य निर्बाहका कारण अस्थायी शिक्षण सिकाई केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेको प्रधानाध्यापक मालति उप्रेति बताउनु हुन्छ ।
अभिभावक बिहानै काम गर्न जानु पर्ने र साँझ परेपछि मात्र कामबाट फर्कनु पर्ने बाध्यताका कारण अभिभावकले आफ्ना छोराछोरीलाई खासै रेखदेख, संरक्षण र स्याहार गर्न नसकेकोले बालबालिकालाई नियमित अध्यापन गराउन र सुरक्षित राख्न असजिलो भएको विद्यालयका शिक्षक शिक्षिकाहरु बताउनु हुन्छ । विद्यालयले सञ्चालन गरेको अस्थायी सिकाई केन्द्रको सञ्चालनको लागि अभिभावकले आत्मसाथ गरी ज्यादै प्रभावकारी ढंगबाट सहयोग र शिक्षक शिक्षिकाको लगनशीलताका कारण बालबालिकाहरुले खुसीका साथ पढ्न पाएको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतिले बताउनु भएको थियो ।
नेपाल सरकारको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार विद्यालयले गत असार ७ गतेबाट विद्यालय खोल्नका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय, प्रअ बैठकबाट निर्णय, वडा अध्यक्षसँग समन्वय र सहकार्य गरी विद्यालय खोलेर पठन पाठन शुरु भएको पाइन्छ । विद्यालय खोल्न विद्यालय तयार भएको अवस्थामा स्थानीय सरकारबाट विद्यालयले आफ्नै जोखिमतामा स्वास्थ्यको मापदण्ड पुरा गरी खोल्न सकिने अवधारणा आएपछि शिक्षक र अभिभावकको पहलमा विद्यालय खुलेको पाइन्छ ।
विद्यालयले अति राम्रो र प्रभावकारी ढंगले स्वास्थ्यको मापदण्ड पूरा गराउन विद्यालयको प्रवेशद्वारमा नै थर्मल गनले ज्वरो नाप्ने व्यवस्था, विद्यालय भित्र प्रबवश गर्नासाथ हात धुने व्यवस्था, प्रत्येकको अनिवार्य मास्कको व्यवस्था, विपन्न वर्ग र मास्क हराएका, चुडिएकाहरुलाई विद्यालयले मास्कको बेग्लै व्यवस्था, विद्यार्थीहरुलाई भौतिक दूरी कायम गरी विद्यालयमा बस्न अनुरोध लगायतका मापदण्डहरु, अनुशासनका नियमहरु तयार गरी पालना गरिएको राम्रो अभ्यासको थालनी भएको पाइन्छ ।
अन्त्यमा प्रत्येक बालबालिकालाई शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकार हुन्छ तर त्यो शिक्षा सार्थक हुनु पर्दछ । शिक्षा सार्थक र गुणस्तरीय हुन सकेन भने त्यो शिक्षा निरर्थक हुन जान्छ । शिक्षाको माध्यमबाट बालबालिकाले जीवनउपयोगि सीप, ज्ञान र नविनतम् मुल्य र मन्यता सिक्नु पर्दछ । यदि यस्तो खालको सीप बालबालिकाले सिक्न सकेनन् भने त्यो शिक्षा निरर्थक हुन जान्छ । शिक्षा जहिले पनि स्तुतिपरक नभई यथार्थपरक, निर्देशित नभई सहभागितामूलक, विभेदपूर्ण नभई सामाजिक न्याय र लैङ्गिक समानतामा आधारित, सहज, सरल, स्वभाविक, सचेतना, उत्प्रेरक, व्यवहारिक, फराकिलो र खुल्ला दृष्टिकोण बोकेको हुनु पर्दछ ।