सिएम रिमाल

सहिद, जसले आफ्नो जीवनको अमूल्य समय र स्वयम् जीवन नै राष्ट्र र जनताको हितमा अर्पण गरे, इतिहासका उज्यालो पाटाहरू हुन् । उनीहरूले देखेका सपना थियो समानता, स्वतन्त्रता र समृद्धिको । उनीहरूको त्यागले नेपालमा अधिकारको चेतना भ¥याङ चढ्न थाल्यो । तर आज, सहिदहरूको सपना र वास्तविकताको बीचमा ठूलो खाडल देखिन्छ । सहिदहरूले जुन नेपालको कल्पना गरेका थिए, त्यो वर्तमान अवस्थामा हराएको छ । सहिदहरूलाई माला चढाएर, स्टाटस लेखेर र भाषण ठोकेर मात्र कृतज्ञता व्यक्त गर्न सकिन्छ जस्तो नेताहरूलाई लाग्छ तर सहिदका सपनाहरू भाषण र फूलमालाको भ्रमभित्र गुमनाम भइरहेका छन् ।

नेताहरूको व्यवहारले सहिदहरूको त्यागलाई व्यङ्ग्य गरेको जस्तो देखिन्छ । सहिदका सपना अहिले केवल भाषणको मसला बनेका छन् । ‘समानता’ का लागि ज्यान दिने सहिदहरूको बलिदानको नाममा महँगा पाँचतारे होटलमा बैठक बस्ने नेताहरू समानताका सबभन्दा ठुला दुश्मन बनिरहेका छन् । जनताको हक र अधिकारका लागि ज्यान दिने सहिदको नाममा महँगा योजना पास गरेर त्यो बजेट आफैंको बङ्गला र विलासी गाडीमा खर्च गर्ने नेताहरू नै आजको वास्तविकता हो । सहिदहरूको नाममा उभिएर भाषण दिने नेताहरूले सहिदका आदर्शलाई सस्तो राजनीति गर्न प्रयोग गरेका छन् । सहिद दिवसमा फूलमाला र झन्डा लिएर जाने, फोटो खिच्ने, सामाजिक सञ्जालमा सहानुभूतिका शब्द पोस्ट गर्ने र भोलिपल्ट भ्रष्टाचारको अर्को योजना बनाउने काम गर्नुलाई हामीले सहिदप्रतिको सम्मान मान्ने कि अपमान ?

नेपाली राजनीतिमा सहिदका नाममा योजनाहरू बनाइन्छन् तर ती योजना केवल कागजमै सीमित रहन्छन् । विकासका नाममा नेता र ठेकेदारबीच मिलेमतो हुन्छ । सहिदका सपनाहरूलाई बेचेर ठूला ठेक्काका नाटकहरू गरिन्छन् । ‘सहिद पार्क’ बनाउने भनेर बजेट छुट्याइन्छ तर त्यो पार्क कहिल्यै पूरा हुँदैन । सडक र पुल उद्घाटन गरिन्छ, जसको आयु एक वर्ष पनि हुँदैन । यस्तो अवस्थामा सहिदहरूको सपना राजनीतिक स्टन्टभन्दा केही बढी भएको देखिन्न ।

सहिदले न्याय, समानता, र स्वतन्त्रताको सपना देखेका थिए । उनीहरूले समृद्ध नेपाल निर्माणको कल्पना गरेका थिए । तर आज, न्याय केवल कानूनका किताबमा सीमित छ । समानताको नाममा गरिबहरू झन् गरिब बन्दै गएका छन् भने धनीहरू अझ धनी । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता नेताहरूको विलासितामा रूपान्तरण भएका छन् । सरकारी अस्पताल र विद्यालयको हालत दयनीय छ । गरीबले उचित उपचार पाउँदैन भने विद्यालयका विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित छन् । सहिदका सपना नेताहरूका भाषण र नीतिमा सीमित हुन पुगेका छन् ।

सहिदले देखेको नेपालको निर्माणका लागि नेताहरूले अब आत्ममूल्यांकन गर्नुपर्ने समय आएको छ । सहिदप्रतिको साँचो सम्मान भनेको उनीहरूको सपना कार्यान्वयन गर्नु हो । भाषण र माला चढाएर मात्रै सहिदप्रतिको कृतज्ञता व्यक्त हुँदैन । उनीहरूले देखेको समाज निर्माणका लागि शिक्षा, स्वास्थ्य र समानताको सुनिश्चितता आवश्यक छ । सहिदहरूको बलिदानबाट हामीले पाठ सिक्नुपर्छ, किनकि सहिदहरूको त्याग केवल अहिलेका नेताहरूको विलासी जीवनका लागि थिएन । सहिदले एउटा उज्यालो भविष्य देखेका थिए, जसमा प्रत्येक नेपालीले स्वतन्त्रता, समानता र न्यायको महसुस गर्नेछ ।

नेताहरूले सहिदहरूको नाममा गरेको राजनीति अब समाप्त हुनुपर्छ । सहिदहरूले दिएका बलिदान नेताहरूका व्यक्तिगत स्वार्थ पूरा गर्ने साधन बनेका छन्, जुन अपमानजनक हो । सहिदहरूले दिएको आत्मबलिदानमा आत्मसम्मान छ, त्यो अपमान सहिद दिवसका भाषणले ढाकछोप गर्न सक्दैन । आज सहिदप्रतिको साँचो श्रद्धाञ्जली भनेको उनीहरूको सपना कार्यान्वयन गर्नु हो । जसले गर्दा उनीहरूको बलिदान खेर जाँदैन र नेपालले सही दिशामा प्रगति गर्न सक्छ । सहिदका सपनाहरूलाई पुनः जीवित पार्नुपर्ने यो क्षणमा नेताहरूले गम्भीरता देखाउन नसके, इतिहासले उनीहरूलाई कहिल्यै माफ गर्नेछैन ।

सहिदको नाममा ठूला कुरा गर्छन्
पाइलैपिच्छे भ्रष्ट्राचार गर्छन्
स्वर्ग जस्तै देश बनाउँछु भन्छन्
तर ट्याक्स लगाएर हावा बेच्न्छन्