दिल्ली विधान सभाको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले ४८ सिट सहित दुईतिहाई मत प्राप्त गरेको छ । प्रतिशतको हिसाबमा भारतीय जनता पार्टीले ७० मध्ये ४८ सिट जितेर ५२ प्रतिशत मत हासिल गरेको छ । नयाँ सरकार निर्माणको तयारीमा भारतीय जनता पार्टी रहेको छ । यो आलेख प्रकाशन हुनेबेलासम्म दिल्लीमा भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुन सक्छ । दिल्ली विधानसभा चुनाव २०२५ को नतिजाले नयाँ दिल्ली राजधानीको राजनीतिक परिदृश्यलाई पूर्णरूपमा परिवर्तन गरिदिएको छ । भारतीय जनता पार्टीले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने मौका पाएको छ, जबकि आम आदमी पार्टी २२ सिटमा खुम्चियो ।

मत प्रतिशतको हिसाबले आम आदमी पार्टी ३८ प्रतिशतमा झरेको छ भने कांग्रेस यस पटक पनि शून्य सिटमै रोकियो । ७० सिट मध्ये ६७ सिटमा कांग्रेसको उम्मेदवारको जमानत जफत भएको छ । कांग्रेस प्रदेश अध्यक्ष देवेन्द्र यादव नै तेश्रो स्थानमा झरे । शिला दीक्षितको नेतृत्वमा करिब १५ वर्ष शासन गरेको कांग्रेस अहिले लज्जास्पद रुपमा पराजित भएको छ । आम आदमीको उदयसँगै कांग्रेसको पतन आरम्भ भएको थियो ।

दुई पटक दुईतिहाई मत ल्याउन सफल भएको आम आदमी पार्टी यसपटक भ्रष्ट्राचारको आरोपले नराम्रोसँग पछारियो । यो पराजयका पछाडि विभिन्न कारणहरू जिम्मेवार देखिन्छन् । विशेषगरी दिल्ली सरकारको शराब नीति काण्ड र केजरीवाल निवास नवीकरण विवादले जनताको विश्वास कमजोर बनायो । अर्को तिर भने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष संलग्नता सहितको चुनावी अभियान, हिन्दुत्वको मुद्दा र भारतीय जनता पार्टीको संगठित रणनीतिले पनि आम आदमीको पराजयलाई सुनिश्चित गर्‍यो । यसपटक आम आदमी पार्टीका शिर्ष नेताहरू नै पराजित भए । अरबिन्द केजरिवाल, मनिष सिसोदिया, सत्येन्द्र जैनदेखि अन्य प्रभावशाली मन्त्री भैसकेका नेताहरू समेत पराजित भए । जस्ले पार्टीको भविष्यप्रति गम्भीर प्रश्न खडा गरिदिएको छ ।

शिक्षा सुधारका लागि चर्चित मन्त्री अतिशी मार्लेना पनि आफ्नो निर्वाचन क्षेत्रबाट पराजित भइन । त्यस्तै, स्वास्थ्य मन्त्री सौरभ भारद्वाज, जो कोभिड–१९ महामारीका बेला निकै चर्चित थिए, आफ्नो क्षेत्रबाट चुनाव हार्न पुगे । ट्रान्सपोर्ट तथा ऊर्जा मन्त्री कैलाश गहलोत पनि पराजित भएका प्रमुख नेतामध्ये एक थिए । पूर्वमन्त्री तथा वरिष्ठ नेता गोपाल रायको हारले पनि आम आदमी भित्र गहिरो संकट निम्त्याएको छ । यी पराजयहरूलाई हेर्दा स्पष्ट देखिन्छ कि आम आदमी माथि जनताको विश्वास कमजोर भएको छ । बदलिँदो दिल्लीको राजनीतिक परिदृश्यले दिल्लीमा भविष्यमा ठूलो असर पार्ने देखिन्छ । भारतीय जनता पार्टीको जितपछि अब राजधानीमा केन्द्रीय सरकारको प्रभाव झन् बलियो हुनेछ । अर्कोतर्फ आम आदमी पार्टीका लागि यो पराजय आत्ममूल्यांकन गर्ने अवसर बनेको छ । पार्टीले अब संगठनको पुनर्संरचना र नयाँ रणनीति अवलम्बन नगरेमा उसको राजनीतिक भविष्य खतरामा पर्न सक्छ ।

आगामी लोकसभा चुनाव २०२९ लाई ध्यानमा राख्दै भारतीय जनता पार्टीले आफ्नो पकड अझ बलियो बनाउने रणनीति तयार गर्नेछ, जबकि आम आदमी पार्टीका लागि हराएको जनमत फिर्ता ल्याउनु सबैभन्दा ठूलो चुनौती हुनेछ । मध्यम वर्गमा केजरीवालको भ्रष्ट्राचार विरोधी अडानका कारण कुनै समय चुलिएको केजरिवाल प्रतिको आकर्षण एक दशकभन्दा बढी दिल्लीको सत्तामा रहेपछि घटेको छ । मध्यम वर्गको नेतृत्वमा भएको भ्रष्ट्राचार विरोधी आन्दोलनको नेतृत्व गरेका केजरीवालले गरिबको पार्टी बन्ने बाटो रोजेका थिए । गरिब र दिल्लीमा सङ्घर्षरत मजदुर वर्गले उनलाई कहिलेबाट साथ दिन छाडे भन्ने अझै प्रस्ट भएको छैन । भ्रष्ट्राचारको आरोप, प्रमुख नेताहरू जेल पर्ने क्रम र केजरीवाल स्वयंको गिरफ्तारीले आम आदमी पार्टीको अभियानलाई क्षति पुर्‍यायो । यहि मौकालाई भाजपाले तत्काल सदुपयोग गर्‍यो र सफल भयो । अहिले भ्रष्ट्राचार काण्डमा मुछिएर पराजित भएका केजरिवालको राजनीतिक उदय भ्रष्ट्राचार विरोधी आन्दोलनबाट प्रारम्भ भएको थियो ।

केजरीवाल र अन्ना हजारेको उदय भारतीय राजनीतिमा एक महत्वपूर्ण मोड थियो, जसले भ्रष्ट्राचार विरुद्ध ठूलो जनआन्दोलनको सुरुवात गरेका थिए । यो आन्दोलन २०११ देखि २०१२ को बीचमा चरमरुपमा थियो र यसले भारतीय राजनीतिलाई गहिरो प्रभाव पार्‍यो । अन्ना हजारेको नेतृत्व भ्रष्ट्राचार बिरोधी आन्दोलन अघि बढ्यो, अन्ना हजारे एक सामाजिक कार्यकर्ता र गान्धीवादी विचारधाराका व्यक्तिले भ्रष्ट्राचार विरुद्ध ठूलो आन्दोलन सुरु गरे । उनको मुख्य माग थियो कि भ्रष्ट्राचार रोक्न एक बलियो लोकपाल संस्था गठन गरियोस् । यो आन्दोलनलाई ‘इन्डिया अगेन्स्ट करप्सन’ नाम दिइयो र यसले देशभर व्यापक समर्थन प्राप्त गर्‍यो । अन्ना हजारेको आन्दोलनमा अरविन्द केजरीवाल, किरण बेदी, र अन्य धेरै सामाजिक कार्यकर्ताहरूले महत्वपूर्ण भूमिका खेले । यस आन्दोलनले जनताको बीचमा भ्रष्टाचार प्रति जागरूकता फैलायो र सरकारमा दबाब बनायो ।

अरविंद केजरीवाल, एक आईआरएस अधिकारी थिए, अन्ना हजारेको आन्दोलनमा एक प्रमुख नेताको रूपमा उभिए । उनले भ्रष्टाचार विरुद्ध लडाईमा महत्वपूर्ण भूमिका खेले । तर, आन्दोलनको बीचमा नै उनले महसुस गरे कि केवल सडकमा प्रदर्शन गरेर भ्रष्ट्राचार पूर्णरूपमा अन्त्य गर्न सकिँदैन । त्यसैले, उनले राजनीतिमा प्रवेश गर्ने निर्णय गरे । २०१२ मा अरविन्द केजरीवालले ‘आम आदमी पार्टी’ को स्थापना गरे । यस पार्टीको उद्देश्य साधारण नागरिकको हितको रक्षा गर्नु र भ्रष्ट्राचारमुक्त शासन प्रणाली स्थापना गर्नु थियो । आम आदमीले २०१३ को दिल्ली विधानसभा चुनावमा शानदार प्रदर्शन गर्‍यो र केजरीवाल दिल्लीका मुख्यमन्त्री बने ।

अन्ना हजारेको आन्दोलन र अरविन्द केजरीवालको राजनीतिक उदयले भारतीय राजनीतिमा एक नयाँ लहर सिर्जना गर्‍यो । यस आन्दोलनले न केवल भ्रष्ट्राचार विरुद्ध जनतालाई जागरूक गर्‍यो, तर यो पनि देखायो कि साधारण नागरिकले पनि राजनीतिमा परिवर्तन ल्याउन सक्छन् । आम आदमीको उदय एक नयाँ प्रकारको राजनीतिको प्रतीक बन्यो, जो जनताको प्रत्यक्ष समर्थनमा आधारित थियो । यस आन्दोलनले भारतीय राजनीतिमा पारदर्शिता र जवाफदेहीको मागलाई बलियो बनायो र यो देखायो कि जनताको आवाजलाई बेवास्ता गर्न सकिँदैन । यसरी अरविन्द केजरिवालले दुईपटक दुईतिहाई मत सहित दिल्ली सरकारको नेतृत्व गर्‍यो । दिल्लीको लोकप्रियता पञ्जाबसम्म पुग्यो । पञ्जाबको ११७ सदस्यीय विधानसभा चुनावमा आम आदमी पार्टीले ९२ सीट जितेर स्पष्ट बहुमत हासिल गर्‍यो । पञ्जाबमा हाल आम आदमी पार्टीको सरकार रहेको छ, जसका मुख्यमन्त्री भगवन्त मान हुन् । उनी १६ मार्च २०२२ मा पञ्जाबका १८औँ मुख्यमन्त्री बनेका थिए । यसरी बिस्तारै बढ्दै गएको आम आदमीको लोकप्रियता पछिल्लो समय केजरिवालको कदमले जनतामा निराशा बढायो । केजरिवाल अत्यन्त महत्वाकांक्षी थिए । यिनले २०१४ मा मूख्यमन्त्री पदबाट राजिनामा दिएर लोकसभा चुनावमा नरेन्द्र मोदिसँग वाराणसीमा चुनाव लड्न पुगे, ठूलो अन्तरले पराजित भए । निर्वाचन हारपछि २०१५ मा फेरि दिल्ली फर्किएर विधानसभा निर्वाचनमा ऐतिहासिक बहूमत हासिल गर्दै दोश्रो पटक दिल्लीका मूख्यमन्त्री भएका थिए ।

आम आदमी पार्टीलाई ठूलो घक्का लागेको छ । भ्रष्ट्राचार विरोधी आन्दोलनले स्थापित नेता अन्ततः त्यहि आरोपमा कमजोर भए । आम आदमी पार्टीको प्रभाव हाम्रोमा परेको थियो । नेपालमा आफूलाई वैकल्पिक शक्ति भन्नेहरू आम आदमी पार्टीसँग आफूलाई तूलना गर्थे । दिल्लीमा आम आदमी पार्टीको लोकप्रियता देखेर नेपालमा पनि वैकल्पिक शक्तिको चर्चा हुने गथ्र्यो । पछिल्लो समय सुशासन, भ्रष्ट्राचारमुक्त समाजको विषय उठान गरेर रबि लामिछाने राजनीतिमा आए । संयोग मान्न्नू पर्छ जसरी भ्रष्ट्राचारको नाराले केजरिवाला स्थापित भए त्यहि प्रकरणमा मुछिएर लज्जास्पद हार भयो । यहाँ रबि पनि भ्रष्ट्राचार र सहकारीको रकम अपचलनमा परेर कमजोर देखिएका छन् ।

आखिर पुराना दलको विकल्प मात्र खोज्ने होईन नीति, विचार, आचरण सबैको विकल्प देखिनुपर्छ । नैतिक र ईमान्दार राजनीतिको अमूल्य निधि हो । जतिसुकै नयाँ भएर आए पनि भ्रष्ट्राचार र आर्थिक अनियमितताको खाडलमा भासियो भने त्यस्ले जनतालाई निराशा बाहेक केहि दिँदैन । केजरिवालले पछिल्लो समय लोकप्रियवादी नारा अगाडि सारे तर त्यो लामो समय टिकेन । दिल्लीको राजनीतिक घटनाक्रमबाट नेपालका नयाँ शक्ति भन्नेहरुले पाठ सिकुन । आखिर त्यतैको हावाले यहा छुने हो । जनताले नयाँ पुराना भन्दा पनि काम हेर्ने हो । ईमान्दारीपूर्वक काम गर्न सके स्थायी र टिकाउ हुन सकिन्छ । आगे जो विचार, अस्तू ।।