चितवन जिल्लाको भरतपुरको विकास मकवानपुर जिल्लाको हेटौँडा भन्दा पछि भएको हो । २०२५/३० सालसम्म चितवनबासी काठमाडौं जान हेटौँडा भएर जानु पर्दथ्यो । अहिले चितवन जिल्लाको भरतपुर सबै सुविधाले देशकै सम्पन्न शहर मध्येमा गनिन्छ । शहरको बाटो फराकिलो र मूल सडक एसियाली मार्गको मापदण्ड अनुसार बनेको छ । हरेक सुविधा सम्पन्न ठुल्ठुला मेडिकल कलेज र अस्पतालहरुमा सर्वसाधारण जनतादेखि सम्पन्नहरुले पनि सेवा लिइरहेका छन् । सबै रोगको उपचार भरतपुरमा सम्भव छ । विद्यालय, महाविद्यालयहरु यत्रतत्र सर्वत्र छन् भने अधिकांश प्राविधिकस्तरमा समेत उच्च शिक्षा हासिल गर्ने सुअवसर यहाँ उपलब्ध छ । कृषिको हिसाबले यो जिल्लामा सबै किसानले ३ बाली भित्र्याउँछन् ।
दूरदराजका गाउँ–गाउँसम्म मोटर बाटो पुगेको छ । बाटोको सुविधा भएकै कारण यहाँका के पुरुष के नारी सबै–सबै साइकल चढेर आफ्नो उब्जनी र सामान ओसार–पसार गर्छन् । देशमै सबैभन्दा बढी साइकल यहीँ चलेको छ । खेलकुदमा पनि ठूलो सम्भावना बोकेको शहर हो यो । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बन्न लागेको छ । धार्मिक, सांस्कृतिक, कृषि उब्जनीको र पर्यटकीय हिसाबले त यो शहर र जिल्ला अब्बल हो नै ।
हाम्रो हेटौंडा ३ वटा महानगर (काठमाडौ, बीरगंज र भरतपुर) को बीचमा छ । फेरि देशकै ठूलो प्रदेशको राजधानी भएर पनि आज भन्दा ४०/४५ वर्ष अगाडि पूर्वाधार तयार भएको मूल सडक, अरु सबै शहरहरुका राजमार्ग टिलिक्क टल्किएर सुन्दर शहरको निर्माण भइसके पनि यहाँको मूल सडकको खिचलो टुंगिन नसक्दा लठाब्रजमा परेको छ । बाटो भत्काउने र भत्काउन नदिने बीच पैसा र शक्तिको ठूलै चलखेल चलेको छ । यो समस्याको समाधान गर्ने सामथ्र्य कसैको छैन । जस्को मार एकथरि जनताले वर्षौंदेखि भोगिरहेका छन् भने बाटोको अनिश्चितता र अस्तव्यस्त हुनुका साथै नगरबासीलाई चिन्तित बनाएको छ ।
शक्तिमा बसेका नेताहरू एक आपसमा शक्ति प्रदर्शन र हानथाप गरिरहेका छन् । यो समस्याको समाधान गर्ने साहसी नेतृत्व हेटौँडाले जन्माउनै सकेन । हेटौँडाको अर्को समस्या अव्यवस्थित फोहोरलाई तह नलगाउनु हो । केहि दिन अगाडि राप्तीको बगरमा असरल्ल जथाभावी फ्याँकिएका फोहरमा आगो लागेर प्रदुषण फैलाइरहेको दृश्य । प्राकृतिक रुपले समेत सुन्दर शहरलाई यही फोहोरले प्रदुषित बनाएको छ । यो समस्याको दीर्घकालीन समाधनको सोँच बनाएर समाधान नगर्ने हो भने राप्ती नदि काठमाडौंको बागमती, बिष्णुमतीमा रुपान्तरण हुन्छ नै । अहिले पनि यो खोलाबाट पुरानो रैथाने माछाहरु हराउँदै गइसकेको छ । उपमहानगरपालिकाले घर–घरमा गएर ट्याक्टरबाट फोहोर उठाउँदैमा समस्या समाधान हुँदैन ।
आजभन्दा ५०/६० वर्ष अगाडिसम्म केहि घर र थोरै जमिन मात्र आवाद भएको ठाउँमा रुख, झारपाट, बुट्यान र बगरले भरिएको हेटौँडामा आज कहिँ कतै एक टुक्रा जमिन खाली बाँकी छैन । हेटौँडा अस्पतालको पछाडि चौकीटोलदेखि दक्षिणतिरको त्यो ठुलो बगर नदि उकासको नाउँमा भूमाफियाहरुले नम्मरी जग्गा बनाई बिक्री वितरण गरी शहर बनाइसकेका छन् । बुद्धचोकदेखि पूर्वतर्फ कान्तिपथको दायाँ–बायाँको जग्गा २०१३ सालमा त्रिभुवन विश्वविद्यालयको उक्त जग्गामा चिरान काठ राखेर पाले समेत राखेको थियो । उक्त जग्गामा काठ चिरान गर्ने ठेकेदार र त्रिवि बीच लामो समय मुद्दा चलेको थियो । पछि सबै जग्गा ठेकेदार र उसैले राखेका व्यक्तिहरुको भएको छ । पालेघर बसेको जग्गा एक टुक्रा मात्र जमिन पनि पालेघर रहेको भन्दा दक्षिणमा एकजना मासु पसलेले अद्यापि कब्जा गरेको छ । त्रिविको त्यो जग्गा पनि सम्बन्धित निकायले वास्ता गरेको छैन ।
यसरी हेटौंडा–११, थानाभर्याङ, राप्तीकिनारको जमिन पनि सुकुम्बासी र भूमाफियाहरुको कब्जा गरेपछि घर, घडेरीमा बिक्री भएको छ । केहि सार्वजनिक जग्गाहरुमा केहि दलका कार्यालय बनेको छ । पुराना ठूला र साना पोखरीको डिलमा एमाले कार्यालय बनेको छ भने राष्ट्रवादी खेलकुदको दुई टुक्रा जमिनमा राप्रपाको कार्यालय ठडिएको छ । यसरी अहिले हेटौँडामा केहि वडा कार्यालयहरुको घर बनाउन समेत जग्गा छैन । खोजबिन गर्ने हो भने अहिले पनि अवैध तरिकाबाट कब्जा गरिएका जग्गाहरु फेला पर्छन् । तर टाउको किन र कस्ले दुखाउने ?
राजधानीको पनि राजधानी बनेको हेटौँडामा सामान्य रोग बाहेक अरु रोग लागे काठमाडौं, भरतपुर वा वीरगन्ज दौडाउनु पर्छ । अन्यत्र लैजान नसक्नेले अकालमा ज्यान गुमाउनु पर्छ । ठूलो, राम्रो अस्पताल त छ तर विशेषज्ञ चिकित्सक छैन । यो नै हेटौँडावासीको बिडम्बना हो । यौटा कुरा त भन्नैपर्छ देश संघीयतामा गइसकेपछि स्थानीय वडाहरुमा आफ्नै वडाका जनप्रतिनिधि भएकोले हाल जेजति वडावासीहरुले सुविधा पाएको छ त्यस्मा भने जनताले सहज महसुस गरेको छ । सर्वसाधारण जनताले प्रत्यक्ष सेवा पाउने वडा कार्यालयहरु भाडाका घरहरूमा भएकोले दिन र पु¥याउन सक्ने जति सेवा दिन सकिरहेको छैन । वडा कार्यालयहरुको पनि आफ्नै व्यवस्थित घर र कार्यालय हुनुपर्छ । त्यसपछि जनताले आफ्नै गाउँमा सिंहदरबार भएको महसुस गर्नेछन् । प्राकृतिक रुपले रमणीय हेटौँडाको हावापानी पनि राम्रो छ ।
यहाँको तापक्रम काठमाडौंको भन्दा न्यानो र तराईको उखरमाउलो गर्मी भन्दा शितल छ । यसैले यहाँका विद्यालय र महाविद्यालयहरुमा तराई भेगका विद्यार्थीहरुको चाप थेगी नसक्नुको छ । यस कुरालाई मध्यनजर राख्दै भएका विद्यालयहरुलाई एकै ठाउँमा राखेर गुन्द्रुक कोचेझैं कोच्ने योजनाको सट्टा मौजुदा विद्यालयहरुलाई अझ व्यवस्थित र स्तरीय बनाउन तर्फ ध्यान दिनुपर्छ । इन्जिनियरिङ्ग, स्वास्थ, लगायत विज्ञान प्राविधि, सूचना प्रविधि, प्राविधिक र सीपमूलक विषयहरुमा समेत अध्ययन अध्यापन गराउने महाविद्यालयहरु खोलेर हेटौँडालाई शैक्षिक शहरको रुपमा रुपान्तरण गर्न सकिन्छ । यतातिर ध्यान किन नदिने ?
जनताबाट चुनिएका जनप्रतिनिधिहरु जुन दलबाट चुनिएको भएपनि जनताको सेवामा दलको स्वार्थ भन्दा माथि उठेर काम गर्ने संस्कार बसेको छैन । यो संस्कार नबसेसम्म देशमा परिवर्तन सम्भव छैन । अहिले दलहरूमा जनताको सामुहिक काम भन्दा एकले अर्कोलाई कसरी सिध्याउने केकाम गर्दा आर्थिक लाभ हुन्छ, चुनाव कसरी जितिन्छ, भ्रष्ट भएपनि आफ्नै पार्टीकालाई कसरी जोगाउने ? यस्तैमा हाम्रा तलदेखि माथिसम्मका नेताहरुको दिमाग खलबलिरहेको अहिले सर्वसाधारण जनताले महसुस गरेका छन् । पार्टीको आशीर्वाद प्राप्त नगरी कहिँ कसैको नियुक्ति, सरुवा र भ्रष्ट भए पनि क्षम्य हुने भएपछि ल्याकत भएपनि स्वाभिमान र आत्मसम्मान नहुनेहरु ठूला पार्टीका झोले भएका छन् । भ्रष्ट र भ्रष्ट्राचार ननिख्रने बाटोमा अहिलेका हाम्रा नेताहरू लागि रहेका छन् । आफ्नै दलका भ्रष्ट नेताहरूको विरोधमा कार्यकर्ताहरु चुँसम्म गर्न सक्दैन । देशको दूर्गतिको मुल कारण भ्रष्ट्राचार नै हो । अति खतिको बाटो हो । चोट परेपछि ढुङ्गाबाट पनि आगो निस्कन्छ । आगो बल्नु भन्दा अगाडि सबै जिम्मेवार दलहरूलाई चेतना भया । (श्रेष्ठ सेवानिवृत्त शिक्षक हुनुहुन्छ ।)