भरतपुर महानगरपालिका विकासको दृष्टिले अहिले चर्चामा छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकहरुमा भरतपुर महानगरको फराकिलो बाटोघाटो, बत्ति, ढल व्यवस्थित र आकर्षक शहरको भिडियो प्रशस्त देख्न पाईन्छ । प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्यसम्पादनको आधारमा भरतपुरलाई उत्कृष्ट महानगरको रुपमा घोषणा गरेको छ । महानगर प्रमुख रेणु दाहाल पहिलो स्थानीय तहको निर्वाचन–२०७४ मा विजयी हुँदै गर्दा मत च्यातिएको घटना चर्चित र आलोचनात्मक रह्यो । तर अहिले यिनले विकासको काम गरेर भरतपुरवासीको मन जितेकी छिन् ।
हेटौँडा भरतपुरको छिमेकी उपमहानगर भित्र पर्छ । हेटौँडा बागमती प्रदेशकै एकमात्र उपमहानगरपालिका हो । भरतपूरको यत्रो विकास हुनु र हामीकहाँ विकास टक्क रोकिएको देख्दा टिठ लागेर आउँ छ । हेटौँडाको मुटु रहेको बजारक्षेत्र अस्तव्यस्त छ । यहाँको बजार साँघुरो र कुरूप छ । बाटो फराकिलो हुन नसक्दा दुघर्टनाको तथ्यांङ्क कहाली लाग्दो छ । हेटौँडाका जनप्रतिनिघिहरुले तीन वर्ष बिताइसके, विवाह ब्रतबन्ध उद्घाटनमा व्यस्त उपमहानगर प्रमुख र उपप्रमुखले हेटौँडाको विकासमा तिब्रता नदिएको आम गुनासो छ । एकजना नगर प्रमुख कस्तो हुन्छ ? कति काम गर्न सक्छ ? उसको अधिकारक्षेत्र कति हो ? बालेन, रेणु दाहाल र हर्क साम्पाङहरूको सक्रियताले देखाउँछ ।
स्थानीय सरकार भएको नाताले ईच्छाशक्ति भयो भने धेरै विकास निर्माण गर्न सकिन्छ । काठमाडौं महानगरमा धैरै नगर प्रमुख भए । तर बालेन जति चर्चामा कोहि रहेनन् । साँघुरो न्यूरोडको पेटि होस वा फूटपाथ वा मापदण्ड मिचेर बनाइएका संरचना वा खोला किनारमा रहेको अव्यवस्थित बसोबास बालेनले आफ्नो तहबाट ईमान्दारीपूर्वक काम गरे । भलै यिनी वर्तमान प्रधानमन्त्रीसँग कति पटक ठोक्किन पुगे । आज काठमाडौं बालेन सिटि नामले पनि चर्चामा छ । त्यस्तै हर्क साम्पाङ घराने जनतालाई खानेपानी उपलव्ध गराउन मरिहत्ते गरेर काम गर्दैछन् । यिनी भर्खर रित्तो गाग्री बोकेर संघीय सरकारको ध्यान आकृष्ट गर्न पुगे । यिनी भन्दै थिए घराने जनतालाई मैले ढुङ्गा हान्न सिकाईन, ढुङ्ङा बोक्न सिकाएँ अर्थात श्रम गर्न सिकाएँ, खुट्टा तान्न होईन पाईप तान्न सिकाएँ । यि प्रतिनिधी घटना मात्र हुन् । काम गर्छू भन्ने हुटहुटी भयो भने केहि गर्न सकिन्छ भन्ने सिङ्गै सरकार निरर्थक भैरहेको पृष्ठभूमिमा केहि केहि थान नगर प्रमुखहरुको काम र चर्चाले पनि आनन्दित पार्दो रहेछ ।
हेटौँडा बागमती प्रदेशको राजधानी हो । यहाँ राजधानी सुहाउँदो विकास छैन । यहाँ एकातिर प्रदेश सरकारलाई आवश्यक पर्ने संरचना निर्माण हुन सकेको छैन भने यहाँको साँघुरा सडक राजधानी अनुकुल छैन । कुनै बेला तात्कालिन प्रधानपञ्च निरशंकर श्रेष्ठ हुनुहुँदो रहेछ । उहाँले नै हुप्रचौरको योजना बनाउनु भएको भन्ने सुनिन्छ । बरू त्यतिबेला पछिसम्मलाई हेरेर हुप्रचौरको प्लानिङ गरेको पाएँ, हुप्रचौर क्षेत्रको बाटो खुला र आज जसरी नगरवासी मर्निङ वाक, खेलकुद गर्छन् त्यसले हेटौँडाको सुन्दरता थपेको छ । डोरमणि सरको पालामा निर्माण भएको सहिद स्मारक पर्यटकीय क्षेत्रको रुपमा विकास हुनु पनि ठुलो उपलव्धि हो । तर त्यसपछि हेटौँडामा ठोस काम हुन सकेन । तात्कालिन नगरप्रमुख मधु अधिकारीको पालामा खरिद गरेको टिसिएनको जग्गामा बसपार्क बन्न सकेको छैन । उहाँकै पाला शुभारम्भ गरिएको बासुदेव सभागृह जसको संरचना समेत निर्माण भैसकेको थियो, उक्त बासुदेव सभाहल भत्काईयो । त्यहाँ झापा जस्तो टावर बनाउने भनेर अहिले अलपत्र पारेर छाडिएको छ ।
यहाँ शिक्षा, स्वास्थ्य जस्ता कुरामा हेटौँडा पछाडि छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालको विवाद कायम छ । यो विषय अदालतसम्म पुगेको छ । हेटौँडाबाट केन्द्रिय राजधानी जोड्ने बाटोहरूको अवस्था जर्जर र जोखिमपूर्ण छ । दिनहुँ हजारौं मानिस ओहोर–दोहोर गर्ने छोटो दुरिकै बाटो कुनै राम्रा र गुणस्तर छैन । संविधानले स्थानीय तहलाई सरकारको रुपमा परिभाषित गरेको छ । सरकार भैसकेपछि यस्का आफ्नै नीति, कार्यक्रम, बजेट र योजनाहरू हुन्छन् । एउटा लक्ष्यसहित प्रत्येक आर्थिक वर्षमा आफ्नो सरकारको यो नीति र प्राथमिकता यो हो भनेर अघि बढ्नुपर्ने स्थानीय तहका सरकार हचुवाको भरमा कहाँ कमिशन आउँछ, कहाँ व्यावसायिक टावर बनाउने, ठेक्कापट्टा बिना टेण्डर आफ्ना मान्छेलाई कहाँ दिने, अझ गाउँपालिकामा त ढुंगा बालुवाको व्यापारी नै जनप्रतिनिधि छन् । वडा अध्यक्ष नै एक्साभेटर राखेर भाडामा चलाउँछन् । यस्तो बिडम्वनापूर्ण स्थिती छ ।
हाम्रो विकासका आयोजनाहरूमा गुणस्तरहिन, कमसल मात्र होइन आफूलाई फाईदा नहुने भएपछि काम सम्पन्न नगर्ने प्रवृत्ति देखिन्छ । हुन त जुन मुलुकमा ठेकेदारहरू नै सांसद भएर आउँछन् त्यहाँ विकास निर्माणको काममा कुन हदसम्मको चलखेल हुन्छ भन्ने सहजै बुझ्न सकिन्छ । ठेकेदार पृष्ठभूमिका अघिकांश सांसद जो मूख्यमन्त्री, मन्त्रि भएका छन् ति जिम्वेवारीमा आउँदा स्वार्थ बाझिएको देखिएकै छ । यिनले नै पार्टीलाई सहयोग गर्ने हुँदा यि नेताका प्यारा पनि छन् । यस्तै खाले मान्छे निरन्तर निर्वाचनबाटै आउने निर्वाचन प्रणाली नै गलत छ । खर्चिलो निर्वाचन प्रणालीले मुलुकमा विकृति बढाएको छ । प्रशस्त पैसा खर्च गरेर निर्वाचन जित्ने होडबाजी नै चलेको छ ।
निर्वाचन प्रणाली बेठिक छ तसर्थ ठिक मान्छेको प्रतिनिधित्व हुन सकेको छैन । अधिकांश ठेकदार, व्यापारी नै चुनाव जितेर आउने थिति बन्यो । घोषणापत्र विचार नीतिको प्रतिस्पर्धा भन्दा पैसा जसले खर्च गर्न सक्यो उसैले टिकट पाउने, उसैले निर्वाचन जित्ने अवस्था देखिन्छ । राम्रा र इमान्दार मान्छेहरू क्रमशः राजनीतिबाट पाखा लाग्दैछन् । एकथरि बुढाहरूको राजनीतिमा एक्जिट आर्यघाट पुगेपछि मात्र छ । जसले राजनीतिलाई फोहर थुप्रिएको पोखरी जस्तो बनायो । आजका यूवा पुस्ता जो ठूलो संख्याको रुपमा मतदाता छन् ति निर्णायक पनि छन् । तिनले नयाँ चिन्तन, नयाँ युवा खोज्न थाले । तिनले देश भित्र रोजगारी खोज्न थाले । देश विकास भएको हेर्न खोजे । तर, यो लथालिङ्ग अवस्थाले ति निराश छन् ।
यहि पृष्ठभूमिमा तिनले रवि लामिछानेको अनूहारमा लि क्वान देख्नु, बालेनको मुहारमा महाथिर मोहम्मद देख्नु, दुर्गा प्रसाईको हुँकारमा ट्रम्पको छायाँ देख्नु यो निराशाले निम्त्याएको विकल्पको खोजी हो । यि मानिस आउँदैमा चमत्कार हुने होईन, न कि राजा आउँदैमा पनि रातारात कायापलट हुने हो ? तर जो माथि त्यत्रो आशा गरियो ति बाटै निराश हुँदा जनता आजित भएका मात्र हुन् ।
काम गर्नेहरुका लागि यहि व्यवस्था पनि बाधक छैन । भरतपुर महानगरपालिकाकी प्रमुख त्यसका लागि उदाहरण छिन् । बालेनको ईच्छाशक्ति, हर्कको मिहिनेत र श्रम, कुनै बेलाको केपी ओलिकै राष्ट्रवादी अडान यि प्रशंसनीय कदम हुन् । काम गर्न ईच्छाशक्ति हुँदा परिणामहरू देखिन्छन् । तर पछिल्लो समय भष्ट्राचारले देश थिलथिलो भयो । स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म भष्ट्राचारको पिरामिड खडा भएको छ । काण्डै काण्डको फाईल चाङ अवस्थामा छ । उसले उसको फाईल खोल्छू भन्यो, धम्कायो, डरले दुई ठूला दल मिल्यो । दुबै मिलेर अर्कोलाई प्रतिशोध साध्यो । यहि चक्रले देशको राजनीति अस्थिरता तर्फ जाँदैछ ।
राजनीति नै अस्थिर भइरह्यो भने त्यसले सबैक्षेत्र प्रभावित हुन्छ । हाम्रा गौरवका आयोजनाले मूर्तरूप पाउन नसक्नुको पछाडि निरन्तरको राजनीतिक तरलता हो । यहि कारणले व्यवस्था परिवर्तनको आवाज उठ्दैछ । संविधान संशोधन गरेर भएपनि व्यवस्था प्रतिको असन्तोषलाई न्यूनीकरण गर्न सक्नुपर्छ तर संशोधन दलीय स्वार्थ केन्द्रित भयो भने त्यसले बिस्फोटक अवस्था पैदा गर्छ । २०८७ सालमा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीले सरकार गठनको जग हल्लाई दिनुभएको छ । अब यो सरकार विघटन भयो भने देशमा चरम निराशा उत्पन्न हुन्छ । व्यवस्थाप्रतिको वितृष्णा झन चूलिन्छ । हामी अस्थिरताको चक्रमा फस्छौं । तसर्थ विकास, शान्ति र स्थीरता चाहने हरेकले सकारात्मक सोचौं । विचार, वाद भन्दा माथि देश छ । देशलाई शिरमा राखेर अघि बढौं । अँध्यारो÷निराशजनक अवस्था छ अब केहि हुँदैन भन्ने, जति गरे नि हुँदैन भन्ने हत्तोत्साह बिच पनि साना–साना विकास निर्माणको कुराले पनि पुलकित बनाउँदो रहेछ । न्यूरोडको पेटि फराकिलो बनाउँदा होस् वा भरतपूरको चिल्ला सडक हुन् वा अस्पतालमा सेवाग्राहीले सरलरूपमा उपचार पाउने भयो भन्दा बिछट्टै खुसी हुनुपर्ने अवस्था हो र ? यि त स्वभाविक नियमित गर्नूपर्ने साधारण काम हो नि । तर समाज ओहो भयंकर भयो भन्ने अवस्था मूलुक पुग्नु निराशा कै संकेत हो । ड्यूटी गर्नेले ड्यूटी गर्दा खुसी हुनुपर्ने अवस्था भनेको ड्यूटी गर्नेले ड्यूटी नगरिरहेको अवस्था हो । तसर्थ बेलैमा सचेत होऔं ।
नैतिक, ईमान्दारीपूर्वक मेरो भूमिका जिम्मेवारीको यो हो भनेर कर्तव्यनिष्ठ भएर लागौं । काम गर्न कतै बाधा छैन । ईच्छाशक्ति भए राम्रा काम गरेर देखाउन सकिन्छ । सबैले आ–आफ्नो ठाउँबाट राम्रो गर्दै गए मात्र सकारात्मक सन्देश जान्छ नै । तसर्थ कर्तव्य र देशलाई केन्द्रविन्दुमा राखेर अघि बढौं, निस्काम कर्म गरौं फल आफै आउँछ । अस्तू ।