भारतको प्रयागराजमा महाकुम्भ मेला भव्य आयोजना भइरहेको छ । महाकुम्भ मेलामा करोडौं भक्तजनहरू सहभागी भइरहेको खबर आइरहेको छ । कुम्भ मेला केवल धार्मिक मात्र नभई साँस्कृतिक, सामाजिक र आर्थिक दृष्टिले पनि महत्वपूर्ण छ । यो मेलाले हिन्दू धर्मको गहिराइ, अध्यात्म र परम्पराको जगेर्ना, यसको महत्वलाई उजागर गरिराखेको छ । धार्मिक मान्यता अनुसार महाकुम्भ मेलामा सहभागी हुँदा ईश्वरीय आनन्दप्राप्त हुनुका साथै मेलाले धार्मिक सहिष्णुता, साँस्कृतिक विविधता, र मानव सभ्यताको अद्भुत उदाहरण प्रस्तुत गरिरहेको छ । कुम्भ मेला हिन्दू धर्मको सबैभन्दा ठूलो धार्मिक उत्सव हो, जुन प्रत्येक १२ वर्षमा एक पटक चार पवित्र तीर्थस्थलहरू प्रयागराज, हरिद्वार, उज्जैन, र नासिकमा आयोजित हुन्छ । यो मेलालाई संसारकै सबैभन्दा ठूलो धार्मिक जमघट मानिन्छ, जहाँ करोडौं भक्तजनहरू सहभागी हुन्छन् । धार्मिक मान्यता अनुसार, कुम्भ मेलामा स्नान गर्दा सम्पूर्ण पापहरू नाश हुन्छन् र मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने विश्वास रही आएको छ । यस मेलामा हजारौं साधु–सन्तहरू, योगीहरू, धार्मिक गुरुहरू तथा साधारण भक्तजनहरू यस अवसरमा गंगा, यमुना, सरस्वती, क्षिप्रा र गोदावरी नदीहरूमा स्नान गर्न भेला हुन्छन् ।
महाकुम्भ मेलाको उत्पत्ति हिन्दू धर्मग्रन्थहरूमा उल्लेखित विभिन्न कथाहरूमा आधारित छ । यसको ऐतिहासिक प्रमाणहरू प्राचीन हिन्दू ग्रन्थहरू जस्तै विष्णु पुराण, महाभारत र रामायणमा पनि पाइन्छ । समुद्र मन्थनको कथा र कुम्भमेला एक आपसमा सम्बन्धित छ । समुद्र मन्थनको कथानुसार देवता र असुरहरूले अमृत (अमरत्व प्रदान गर्ने पदार्थ) प्राप्त गर्न मिलेर समुद्र मन्थन गरे । जब अमृत कलश (कुम्भ) बाहिर आयो, तब देवता र असुरहरूबीच त्यसको स्वामित्वको विषयमा झगडा भयो । असुरहरूले अमृतलाई आफ्नो कब्जामा लिन खोजे, जसका कारण देवता डराए । भगवान बिष्णुले असुरहरूलाई छल गरेर अमृत देवताहरूलाई दिनुभयो । तर, केही अमृतका थोपा पृथ्वीका चार स्थानहरूमा खसे । ती स्थानहरूमा प्रयागराज गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगमस्थल, हरिद्वार गंगा नदीको किनार । उज्जैन–क्षिप्रा नदीको किनार । नासिक–गोदावरी नदीको किनार ।
यी चार स्थानहरूलाई पवित्र मानिन्छ र यही कारणले हरेक १२ वर्षमा यी चार स्थानहरूमा पालैपालो कुम्भ मेला आयोजना गरिन्छ । इतिहासकारहरूका अनुसार, महाकुम्भ मेलाको प्राचीन अभिलेखहरू आठौँ शताब्दीका प्रसिद्ध हिन्दूविद्वान आदि शंकराचार्यद्वारा उल्लेख गरिएका छन् । उनले हिन्दू धर्मको पुनरुत्थान गर्ने क्रममा कुम्भ मेलालाई धार्मिक तथा सामाजिक रूपमा महत्वपूर्ण बनाउन भूमिका खेलेका थिए ।
हिन्दू धार्मिक मान्यता अनुसार, महाकुम्भ मेलामा स्नान गर्दा पापहरू नाश हुन्छन् । यो मेलालाई मोक्ष प्राप्तिको एउटा मार्ग पनि मानिन्छ । गंगा, यमुना, सरस्वती, क्षिप्रा र गोदावरी नदीहरूमा स्नान गर्दा आत्मशुद्धि हुन्छ भन्ने विश्वास छ । महाकुम्भ मेलामा विश्वभरबाट लाखौं साधु–सन्तहरू आउँछन् । विशेषगरी नागा साधुहरू, उदासिन अखाडा, वैष्णव सम्प्रदाय, र शैव सम्प्रदायका साधुहरूले मेलाको शोभा बढाउँछन् । कुम्भमेलाको सबैभन्दा ठूलो आकर्षण भनेकै शाही स्नान हो । विभिन्न अखाडाका साधु–सन्तहरू, विशेषगरी नागा बाबाहरू, हरेक मुख्य स्नानका दिन गंगा, यमुना, क्षिप्रा वा गोदावरी नदीमा प्रवेश गरेर धार्मिक अनुष्ठान गर्छन् । कुम्भमेला प्रत्येक १२ वर्षमा आयोजना गरिन्छ, तर मिति भने ग्रह र नक्षत्रहरूको स्थितिबाट निर्धारण गरिन्छ ।
प्रयागराजमा जब बृहस्पति मीन राशिमा र सूर्य तथा चन्द्र मकर राशिमा प्रवेश गर्छन् । त्यस्तै हरिद्वारमा जब बृहस्पति कुम्भ राशिमा र सूर्य मेष राशिमा हुन्छ र उज्जैनमा जब बृहस्पति सिंह राशिमा र सूर्य मेष राशिमा हुन्छ । त्यस्तै नासिकमा जब बृहस्पति सिंह राशिमा र सूर्य कर्कट राशिमा हुन्छ । त्यस्तै कुम्भ मेलाले हिन्दू धर्मका विभिन्न सम्प्रदायहरूलाई एउटै थलोमा ल्याएर धार्मिक सहिष्णुता र एकताको भावना बढाउँछ । महाकुम्भ मेलामा करोडौं तीर्थयात्रीहरू भारत तथा विदेशबाट आउँछन् । यसले होटल, यातायात, खाद्य आपूर्ति, तथा अन्य सेवाहरूमा ठुलो आर्थिक प्रभाव पार्छ । मेला अवधिमा लाखौं अस्थायी रोजगारीहरू सिर्जना हुन्छन् । कुम्भमेलाको अर्को प्रमुख आकर्षण भनेको नागा साधुहरूको प्रवेश हो ।
नागा साधुहरू निर्वस्त्र भएर, शरीरमा भष्म लगाएर, र त्रिशूल, डमरू आदि बोकेर नदीमा स्नान गर्न प्रवेश गर्छन् । यो दृश्य धेरै आकर्षक मानिन्छ । महाकुम्भ मेलामा विभिन्न धार्मिक अखाडाहरू पनि सहभागी हुन्छन् । तिनीहरू मध्ये केही प्रमुख अखाडाहरूमा जूना अखाडा, महानिर्वाणी अखाडा, निरंजनी अखाडा, अवधूत अखाडा हुन् । कुम्भ मेलामा योग शिविरहरू, धार्मिक प्रवचनहरू, साँस्कृतिक कार्यक्रमहरू तथा आयुर्वेदिक उपचार केन्द्रहरू जस्ता गतिविधिहरू सञ्चालन गरिन्छ, जसले सनातनी हिन्दु संस्कृति तथा परम्पराको जगेर्ना गर्न मद्दत गर्छ ।
मेला लाग्ने विभिन्न प्रकारहरू छन् जस्तै अर्ध कुम्भ मेला हरेक ६ वर्षमा आयोजना गरिन्छ । पूर्ण कुम्भ मेला हरेक १२ वर्षमा आयोजना गरिन्छ । महाकुम्भ मेला हरेक १२ पूर्ण कुम्भपछि अर्थात् १४४ वर्षमा मात्र एक पटक प्रयागराजमा आयोजना गरिन्छ । अहिले यो महाकुम्भ मेला १४४ वर्षपछि हुँदैछ । तसर्थ करोडौ भक्तजन सहभागी हुँदैछन् । यस बिच भिडभाडले केहि मानिसहरू हताहत भएका छन् । यि घटनालाई दृष्टिगत गरेर भारत सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।
महाकुम्भ मेला हिन्दू धर्मको सबैभन्दा पवित्र र महत्वपूर्ण धार्मिक पर्व हो । यसको धार्मिक, साँस्कृतिक, सामाजिक र आर्थिक महत्व विशाल छ । कुम्भमेलाको विशेष अवसरमा लाखौं भक्तजनहरू गंगा, यमुना, सरस्वती, क्षिप्रा र गोदावरी नदीहरूमा स्नान गरेर आध्यात्मिक शुद्धि प्राप्त गर्ने प्रयास गर्छन् । यो केवल धार्मिक उत्सव मात्र नभई हिन्दू सभ्यता, संस्कृति र परम्पराको अनुपम उदाहरण हो । यसको व्यवस्थापन, सुरक्षा तथा आध्यात्मिक प्रभाव अपार छ । कुम्भमेलालाई हिन्दूधर्मको गौरवपूर्ण उत्सव मानिन्छ, जसले सम्पूर्ण मानव सभ्यतालाई एकताको सन्देश दिन्छ ।
नेपाल हिन्दु राष्ट्र हो । ८२ प्रतिशत जनसंख्या हिन्दु भएको मुलुकलाई बिदेशी दवाव र षडयन्त्रमा धर्म निरपेक्ष राष्ट्र बनाईयो । आज योजनाबद्ध ढंगबाट तीव्र धर्म परिवर्तन गरिएको छ । लोभ, लालच र प्रलोभनमा पारेर धर्मान्तर डढेलो जस्तो गाउँका गाउँनै धर्म परिवर्तन गर्न प्रोत्साहित गरिएको छ । बिधर्मीहरूले यो पवित्र देवभूमि, तपोभूमिमा धर्मको आवरणमा देशलाई विभाजन गर्ने कुत्सित प्रयास गरिरहेका छन् । फलतः हिन्दू धर्म र संस्कृतिमाथि चौतर्फी आक्रमण जारी छ । यस पृष्ठभूमिमा स्वधर्मको रक्षाको लागि हिन्दूवादीहरूको एकता जरूरी छ ।
यहाँको पशुपतिनाथ, मुक्तिनाथ, जनकपूरघाम, बराहक्षेत्र, पाथिभरामाता अंसख्य देवी देवता पुजनीय छन् । करिब डेढ करोड हिन्दुहरुको पवित्र देश हो नेपाल यहाँको हिन्दूत्व र शक्तिपिठहरुको राम्ररी प्रचार गर्न सके लाखौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । संसारकै हिन्दुहरुको आस्थाको केन्द्र हो नेपाल यस्तो अवस्था संसारको जूनसुकै कुनामा हुने धार्मिक उत्सव, अनुष्ठान, पुजापाठ, भगवानप्रतिको भक्ति, धार्मिक मेलाप्रति स्वाभाविक हिन्दू धर्मावलम्बीहरूको रुचि र अपार समर्पण देखिनू अन्यथा होईन । प्रयागराज पनि करौडौ हिन्दूहरू आस्था र विश्वासले डो¥याएर पुगेका छन् ।
आत्मा शुद्धी, मनको शान्ति, ईश्वरीय आनन्द यस्ता कुम्भमेलामा प्राप्त गर्न सकिन्छ । संसारमा मनको शान्तिले ठूलो आनन्द प्राप्त हुन्छ । आजको भागदौड समाज भौतिकताले उत्पन्न मानसिक तनाव, प्रकृतिमाथिको जोरजबरजस्त आक्रमणले आक्रान्त समाजमा अध्यात्म, योग, एक चित्त मनको शान्तिले प्राप्त सुखानुभूति सबभन्दा बढि प्रितिकर हुन्छ । सनातन धर्म, संस्कृतिले हामीलाई निरन्तर सुमार्ग तिर आकृष्ट गर्दछ । माया, प्रेम, करुणा, दया, क्षमा हाम्रो धर्मको विशेषता हुन् । यस्तो अदभूत शक्ति र मानवताले वशिभूत हिन्दूधर्मको गुणीय तत्व मानव कल्याणको सोपान हो । हिन्दुत्व, सदाचार, सदाशयतालाई कमजोर ठान्ने बिधर्मीहरू कुनै जामानामा धर्मको नाममा केहि टाठाबाठाले भित्र्याएको कूरीतिलाई देखाएर धर्ममाथि प्रहार गर्न छोडेका छैन । जबकी आजको समाज ति कुरा मान्दैन र धर्मलाई सकारात्मक उर्जा प्राप्त गर्ने सुमार्ग हो भन्ने ठम्याईमा छ । तसर्थ कुम्भमेला धार्मिक ठूला ठूला अनुष्ठानहरूले सकारात्मक उर्जा प्रदान गर्दछ ।
१४४ वर्षपछि आयोजना भएको भारतभूमिको प्रयागराजमा भएको धार्मिक जमघटले त्यस्तै उर्जा प्रदान गरेको छ । यस्ले सम्पूर्ण हिन्दुवादीहरूको आस्था र विश्वास बढाएको छ । नेपालमा रहने सम्पूर्ण हिन्दुवादीहरुको ऐक्यवद्धता रहेको कुम्भमेलामा सहभागी हुन लाखौ नेपालीहरू पनि पुगेका छन् । तिरूपतिदेखि मुक्तिनाथसम्म, विश्वनाथ बाबादेखि पशुपति नाथसम्म, जनकपुरधामदेखि बाबाघामसम्मको कनेक्टिभिटी जोड्न सके भारतबाट आउने लाखौ धार्मिक पर्यटकहरूको आगमनले नेपालले प्रचूर मात्रमा लाभ लिन सकिन्थ्यो । यसतर्फ सरकारको ध्यान जान जरूरी छ । हिन्दू धर्मावलम्बीको बहूलता रहेको भारत नेपालको धार्मिक सहअस्तित्वको लाभ उठाउन दुबै देशले ध्यान दिउन ।
पशुपति नाथले सबैको कल्याण गरून ।
हर हर महादेव ।
ऊ नम शिवाय..
सबैको कल्याण होस..अस्तू ।।