चिरञ्जीवी लामिछाने

योग दर्शन पूर्वीय दर्शनभित्र एउटा छुट्टै पहिचान राख्ने मौलिक र उच्च महत्वको दर्शन हो । उद्गम पूर्वीय सभ्यता भएपनि हाल आएर यसको फैलावट विश्वभरि नै हुदै गएको पाइन्छ । योगदर्शनलाई अध्ययन, अनुसन्धान तथा व्यवहारिक प्रयोगका हिसाबले अगाडि बढाउनेमा पश्चिमा देशहरु पनि उत्तिकै अगाडि देखिन्छन् । मानसिक बेचैनी, मनको चञ्चलता, अनिद्रा लगायतका मनका असाधारण अवस्थाहरु तथा विविध प्रकारका शारीरिक समस्याहरुको समाधानका लागि योगदर्शनलाई एउटा अस्त्रका रुपमा समेत हेर्ने गरिएको छ । धेरै मानिसहरुले योगाभ्यासका माध्यमबाट व्यवहारिक रुपमा नै धेरै प्रकारका लाभहरु हासिल गरिसकेकाले पनि पूर्वीय दर्शनभित्र छुट्टै महत्व बोकेको योगदर्शनको प्रभावकारिता बढ्दै गइरहेको छ ।

योगदर्शनको सुरुवात कहिले र कसबाट भयो भन्ने कुरामा सबैको एकमत रहन सकेको पाइदैन । भक्तिवेदान्त बुक ट्रस्टद्वारा प्रकाशित तथा स्वामी प्रभुपादद्वारा लिखित श्रीमदभागवत् गीताको व्याख्या अनुसार गीता ज्ञानलाई लाखौं वर्षअघि श्रीकृष्णले सूर्यलाई, सूर्यले मनुलाई र मनुले यस धर्तीभरी फिजाएको विश्वास गरिएको छ । गीता ज्ञानभित्र नै योगदर्शनको कुरा पनि रहेकाले योगदर्शनको सुरुवात लाखौं वर्षअघि भएको भन्ने एउटा निष्कर्षमा पुग्न सकिन्छ । तर अर्काथरि मतअनुसार महाभारतको युद्ध करिब ५००० वर्ष अगाडि भएको र महाभारत युद्धकै अवधिमा श्रीकृष्णले अर्जुनलाई दिएको दिव्यज्ञान नै श्रीमतभागवत गीता भएको हुनाले योगदर्शनको सुरुवात पनि करिब ५००० वर्षअघि नै भएको मान्न सकिन्छ । अझ अर्काथरी मत राख्नेहरूले समयक्रमलाई समीक्षा गरेर महाभारतका रचयिता महर्षि वेदव्यासको समयमा योगसूत्रको सुरुवात भएको हुन सक्ने आधारहरु देख्दैनन् । हुन त वेदव्यासद्वारा रचित महाभारत लिखित रुपमा भन्दा वाणीमा आधारित भएकाले समयक्रम अनुसार केही कुराहरु थपघट हुदै आएको पनि हुनसक्दछ । यस आधारमा हेर्दा योगदर्शन उनै महर्षि वेदव्यासद्वारा जनमानसमा ल्याइएको हो वा पछि थप गरिएको विषय हो भन्नेमा अझै प्रष्ट हुन सक्ने ठाउ छैन । अलिक पछिल्लो समयमा आएर महर्षि पतञ्जलीले योगसूत्रलाई सरल भाषामा अघि सारेको पाइन्छ । पतञ्जलीले अघि सारेको योगसूत्र मौलिक हो वा वेदव्यासबाटै अघि सारिएको योगसूत्रको निरन्तरता हो भन्ने चाहि अझै प्रष्ट छैन । आखिर जुन आधारलाई मान्ने हो भने पनि योगदर्शनको सुरुवात शताब्दियौं अघिदेखि नै भएको भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

महर्षि पतञ्जलीद्वारा अघि सारिएको योग दर्शनमा ११५ सूत्रहरू छन् । ती सूत्रहरुलाई साधना, समाधि, विभूति र कैवल्य गरी चार खण्डमा विभाजन गरिएको छ । यी चार फरक–फरक खण्डहरुले योगदर्शन भित्रका फरक–फरक कुराहरूको व्याख्या गरेका छन् । पहिलो खण्ड अर्थात् साधनाले मन के हो र यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा उपाय देखाएको छ । यसैगरी दोस्रो खण्ड अर्थात् समाधि खण्डले दुख हटाउने उपाय के हो भन्ने विषयमा चर्चा गरेको छ । तेस्रो खण्ड अर्थात् विभूति खण्डले मनलाई कसरी एकाग्र बनाउने विषयमा चर्चा गरेको छ । त्यसैगरी अन्तिम खण्ड अर्थात् कैवल्य खण्डले मोक्ष कसरी प्राप्त गर्ने भन्ने विषय सुझाएको देखिन्छ ।

योगदर्शनका पिता समेत मानिने महर्षि पतञ्जलीद्वारा सुत्रपात गरिएको योगसूत्रको अन्तिम लक्ष्य मोक्षलाई राखिएको छ । मोक्ष प्राप्तिको अवस्थामा पुग्नका लागि अष्टाड्ड मार्ग भनी उल्लेख गरिएको छ । यो अष्टाड्ड मार्ग के हो त ? दर्शनशास्त्रका अध्येता विष्णु अधिकारीद्वारा लिखित सारसंक्षेपमा पूर्वीय दर्शन पुस्तकमा उल्लेख गरिएअनुसार योगशास्त्रका अष्टाड्ड मार्ग निम्न अनुसारका छन्ःअष्टाड्ड मार्ग मध्येको पहिलो मार्गलाई इन्द्रियहरूको नियन्त्रण गर्ने प्रक्रिया अर्थात यम भनिएको छ । यसभित्र फेरि पाचवटा छुट्टै अंगहरु राखेका छन् ती हुन्ः सत्य वचन बोल्नु, चोरी नगर्नु, सञ्चय नगर्नु, हिंसा नगर्नु र ब्रह्मचर्यमा रहनु ।यसको दोस्रो मार्ग नियम भनिएको छ । यसभित्र आत्मानुशासन कुराहरु राखिएको छ । नियमभित्र पनि ५ वटा अड्ड रहेका छन् । तिनीहरु हुन्ः शारीरिक शुद्धि, तप, सन्तोष, स्वाध्ययन र भगवानमा भक्ति ।तेस्रो नियमलाई आसन भनिएको छ । योगाभ्यास गर्दा कस्तो आसनमा रहने भन्ने कुराले महत्व राख्दछ । आसनहरु यति नै हुन्छन् भने कुनै निश्चित नभए पनि पतञ्जलीले “स्थिरसुखमासनम्” अर्थात् जसरी सजिलो हुन्छ त्यस्तै आसन बनाउनू भनेर छिटोछरितो उपाय सुझाएका छन् ।अष्टाड्ड मार्गको चौँथो मार्गका रूपमा प्रणायामलाई लिइएको छ । स्वासप्रस्वासलाई नियन्त्रण गर्दै मनको चञ्चलतालाई कम गर्ने उपायका रूपमा प्राणायामसम्बन्धी कुराहरू यस मार्गमा समेटिएका छन् ।योगको पाचौं अड्डका रूपमा प्रत्याहारलाई लिइएको छ । प्रत्याहारको अर्थ सबै इन्द्रियहरूलाई अधिनमा राख्ने प्रक्रिया भनिएको छ ।छैठौं अड्डलाई धारणा भनिएको छ । यसको अर्थ मनलाई एउटै कुरामा एकाग्र बनाउनु वा ध्यानको पूर्वावस्थामा प्रवेश गर्नु भनिएको छ ।

सातौं मार्गका रूपमा ध्यानलाई दिइएको छ । यहा लामो समयसम्म भगवानको स्वरुप सम्झेर बस्न सक्नुलाई नै ध्यान भनिएको छ । अर्थात् भगवान नै ध्यानका एकमात्र आधार हुन् भन्ने कुरा यहा दर्साउन खोजिएको छ ।यसको अन्तिम मार्ग समाधि हो । यसलाई नै योगसूत्रको अन्तिम लक्ष्य अर्थात मोक्ष प्राप्ति भनिएको छ ।यसरी योगदर्शनको अष्टाड्ड मार्गलाई केलाएर हेर्ने हो भने योगका दुई पक्षहरु देखिन्छन् । पहिलो बाहिरी पक्ष र दोस्रो भित्री पक्ष । शारीरिक अभ्यास र विभिन्न आसनहरुलाई बाहिरी पक्षका रुपमा लिन सकिन्छ भने मनको एकाग्रता, आत्मिक शान्ति र मोक्ष प्राप्तिलाई भित्री पक्षका रूपमा लिन सकिन्छ । मानिसको व्यस्त जीवनशैली तथा विभिन्न किसिमका अपेक्षित तथा अनपेक्षित समस्याहरुका बीचमा शरीरलाई आरोग्यता प्रदान गर्नु, मनलाई स्थिर बनाउनु तथा आत्मालाई मोक्ष प्राप्तिको बाटोमा अग्रसर गराउनु चुनौतीको विषय मात्र नभई कतिपयका लागि असम्भव जस्तै देखिने कुरा हो । वास्तवमा अवसरको खोजी पनि चुनौतीकै बीचमा हुने गर्दछ । यसर्थ यस्ता चुनौतीहरूको सामना गर्नका लागि पूर्वीय दर्शनको एउटा अद्वितीय आविष्कारको रुपमा योगशास्त्रलाई लिन सकिन्छ । धेरै मानिसहरुले योगसूत्रको प्रयोगद्वारा व्यवहारिक रुपमा नै विभिन्न शारीरिक समस्याहरूको निराकरण, बेचैनी र चञ्चलताको नियन्त्रण तथा निरन्तरको ध्यान साधनाद्वारा समाधिको अवस्था प्राप्त गरिसकेका छन् ।

वर्तमान विश्वले सामना गरिरहेको कोरोना महामारीका कारण मानिसहरुले चौतर्फीरुपमा संकट तथा समस्याहरु झेलिरहेको यो अवस्थामा योगसूत्रको महत्व अझै बढेर गएको छ । कमजोर बन्दै गइरहेको मानिसको आत्मबल बढाउन, सामान्य स्वास्थ्य समस्याहरुलाई हल गर्न, मानिसहरूलाई स्फूर्ति प्रदान गर्न, रोगसग लड्ने क्षमताको अभिवृद्धि गर्न, शरीरका लागि पर्याप्त उर्जा प्रदान गर्न तथा शरीरमा भएका विकारहरूलाई शरीर बाहिर पठाउन आदिका लागि योगसुत्रहरु अत्यन्तै उपयोगी सावित हुन सक्दछन् । यहा के चाहि भन्न खोजेको होइन भने कोरोनाको लागि यो सुत्रहरू नै पर्याप्त छन् भनेर भन्न खोजिएको चाहि होइन । तर पनि कोरोना लगायत अन्य विभिन्न संक्रमणहरूबाट बच्न तथा तिनीहरूबाट हुने जोखिम कम गर्नका लागि यो एउटा अस्त्र चाहिसावित हुन सक्दछ ।


कतिपय आधुनिक देखिन खोज्ने मानिसहरूले योगशास्त्रलाई पुरातनवादी सोच मान्ने गरेपनि यसलाई उच्च महत्व दिनेहरुको जमात पनि सानो छैन । वास्तवमा योगशास्त्र सैद्धान्तिक रूपमा मात्र बुझ्नुको सट्टा व्यवहारिक रुपमा प्रयोग गरेर हेर्न सकिने र यसको लाभ पनि तत्कालै प्राप्त गर्न सकिने भएकाले यसप्रति संसारभरिकै मानिसहरूको आकर्षण बढ्दै गइरहेको छ । यसरी मानव जीवनसग जोडिएका सबै पक्षहरूलाई समग्र रुपमा फाइदा गर्ने हेतुले अघि सारिएको योग दर्शन को सिद्धान्तले पक्कै पनि अनन्तकालसम्म मानव कल्याण गरिरहनेछ भन्ने विश्वास गर्न सकिन्छ ।