प्रमोद अर्याल

डेढ दशक लामो पत्रकारिताको इतिहास बोकेको समृद्ध समाज राष्ट्रिय दैनिकको हेटौँडामा आफ्नो अलग्गै विरासत छ । यसले स्वतन्त्र र निष्पक्ष पत्रकारितामार्फत समाजको हरेक विषय उठान गरेको मात्रै नभई सरोकारवाला निकायलाई जिम्मेवारी बोध गराउन समेत सफल छ । यस अर्थमा पनि म व्यक्तिगत रुपमा समृद्ध समाजसँग जोडिन पाउँदा हर्षित छु । म अहिले जुन अवस्थामा छु, त्यसमा समृद्ध समाजको योगदान अतुलनीय छ भनेर भन्न पाउँदा गौरवान्वित महसुस हुन्छ ।

दैनिक रुपमा नियमित समाचारपत्र प्रकाशन आफैंमा चुनौतीपूर्ण छ । मोफसलमा रहेर डेढ दशकसम्म अविछिन्न रुपमा आम नागरिकलाई सुसुचित गराउँदै जिम्मेवार नागरिक बनाउने प्रयासमा पनि यसको भूमिका सकारात्मक नै छ । मकवानपुर जिल्लामा मात्र नभई राष्ट्रिय सञ्चार माध्यममा पनि अहिले सञ्चार अभ्यास गर्ने धेरै पत्रकारहरु जन्माउन पनि यसको भूमिका महत्वपूर्ण छ ।

आमसञ्चार माध्यमको धर्म नै रचनात्मक प्रतिपक्षी हो । देश संघीयतामा प्रवेश गरेको केही वर्षपछि सुरुवात भएको समृद्ध समाजले यसको असल अभ्यासको सँधै वकालत गरिरहेको छ । स्थानीय सरकारलाई विशेषगरी सचेत र जागरुक बनाउन यसको भूमिका स्पष्ट रुपमा देखिन्छ । प्रतिपक्षी धर्ममा खरो उत्रिएको छ । पत्रकारिताका विभिन्न आयामहरुमा यसले आफ्नो उपस्थिति दरिलो बनाउँदै लगेको कुरामा कसैको दुईमत नहोला ।

यतिबेला दैनिक समाचारपत्र आफ्नै उपस्थिति प्रमाणित गर्नुपर्ने र आफूलाई दीगो रुपमा टिकाई राख्नु पर्ने दोहोरो चुनौतिमा छ । संख्यात्मक रुपमा बढेको सञ्चार माध्यमहरु, सूचना प्रविधिको बढ्दो उपयोगका कारण देखिएका चुनौतिहरु, सूचना प्रविधिमा सहज पहूँच, सामाजिक सञ्जाल नै सूचनाको स्रोत र माध्यम बनिरहेको अवस्थामा दैनिकरुपमा प्रकाशित समाचारपत्रको महत्वमाथि प्रश्न उठेको पक्कै हो । यसका साथै आर्थिक रुपमा संकटको सामना गर्नु परेको अवस्थाबाट मोफसलका सञ्चारमाध्यमहरु सबैभन्दा बढी मारमा परेका छन् ।

विशेषगरी कोरोनाकालपछि सबैभन्दा बढी मारमा परेको तर समाधानका लागि कसैको दृष्टि नपरेको क्षेत्र सञ्चार क्षेत्र हो, खासगरी मोफसलमा । यो संकटबीच पनि सूचना प्रवाह गर्दै आम नागरिकलाई सुसूचित गरी जागरुक बनाउन र सरोकारवालाहरुलाई जिम्मेवारी बोध गराउन समृद्ध समाज चुकेको छैन । यही नै यसको वास्तविक सफलता हो । समाचारपत्रको महत्वमाथि प्रश्न उठ्दै गर्दा समृद्ध समाज दैनिकको गुणस्तरीय सामग्रीसहितको नियमित प्रकाशन नै दरिलो जवाफ हो ।

अस्वभाविक आलोचना र नकारात्मकताको बढ्दो सामग्रीहरुकै बीच समाजमा सकारात्मक समाचारको पनि राम्रो उपस्थिति समृद्ध समाजले देखाएको छ । पछिल्लो समय पठन संस्कृतिको विकासमा समृद्ध समाजको भूमिका अग्रणी देखिएको छ । विद्यालय तहमा समाचारपत्र पठन हुनु पर्छ भन्ने मान्यताले समृद्धले काम गरिरहेको छ तथापी विद्यालयहरुको चासो भने यतातर्फ नदेखिएको हो कि भन्ने लाग्छ ।

समाजको सबै तप्कामा अझै पनि पहूँच पुग्न त सकेको छैन तर नवीन र उर्जाशील पुस्ता निर्माणमा भने यसको भूमिका अग्रणी देखिन्छ । डेढ दशक लामो असल अभ्यासकै बलमा यसले समाजमा आफ्नो भूमिकालाई अझै फैलाउन सकेको छ । पत्रकारिताको असल अभ्यासकै निरन्तरताको कामनासहित समृद्ध समाज राष्ट्रिय दैनिकलाई धेरै शुभकामना ।