अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा ७८ वर्षीय डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पको विजयले रसिया–युक्रेन युद्ध, ईजरायल–लेबनान जस्ता युद्धको भविष्यबारे अर्थपूर्ण सन्देश प्रवाह गरेको छ । चुनावी दौरानमै रसिया–युक्रेन युद्ध पूर्णविराम लगाउँछु भन्ने ट्रम्प रसियासँग पनि परम्परागत मित्रवत सम्बन्ध बनाउन चाहन्छन् । ट्रम्पको विजयले विश्वव्यापी राजनीतिमा विशेषगरी युद्ध कुटनीति र सुरक्षा सम्बन्धी क्षेत्रमा नयाँ मोड आउने अनुमान गरिएको छ । ट्रम्पको “अमेरिकालाई फेरि विशाल बनाऔं (मेक अमेरिका ग्रेट अगेन)” भन्ने नाराले आम जनताको ठुलो समर्थन पाएको छ । एक कार्यकाल राष्ट्रपति भइसकेका ट्रम्पले आफ्नो पदमा रहँदा व्यापार संरक्षरणवादलाई प्राथमिकतामा राखेका थिए । फलतः यो दृष्टिकोणले अमेरिका र देशहरूबीचको व्यापार सम्बन्धमा उतार–चढाव ल्यायो ।
युरोप, एशिया र विशेषगरी चीनसँगको व्यापार युद्धले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्यो । यसले विकासशील देशहरूमा निर्यातमा असर पुर्यायो र विश्वव्यापी व्यापार प्रणालीमा अस्थिरता ल्यायो । ट्रम्पको विदेश नीतिमा ‘अमेरिकी फस्ट’ को सिद्धान्तले अमेरिकालाई पहिलो प्राथमिकतामा राखेर अन्य राष्ट्रहरूसँगको सम्बन्ध पुनः परिभाषित गर्यो । यसले नाटो जस्ता बहुपक्षीय संगठनहरूसँग सम्बन्धलाई कमजोर बनायो र पारम्परिक गठबन्धनहरूमा त्रास उत्पन्न गरायो । अमेरिका र इरानबीचको तनावको वृद्धि र उत्तर कोरियासँगको छलफल जस्ता विषयले विश्व राजनीति तात्यो ।
ट्रम्पको प्रशासनले मध्यपूर्वमा विवादास्पद निर्णयहरू लियो । इरानसँगको आणविक सम्झौता संयुक्त व्यापक कार्ययोजनाबाट अमेरिका बाहिरिएपछि इरान–अमेरिका सम्बन्धमा तनाव उत्पन्न भयो । यसले विश्वव्यापी रूपमा नयाँ युद्धको सम्भावना बढायो र तेलको आपूर्तिमा असर पार्यो । ट्रम्पले उत्तर कोरियासँगको परमाणु वार्ता र असहमतिको दौरान आक्रामक र कूटनीतिक दुवै दृष्टिकोण अपनाए । यसले कोरियाली प्रायद्वीपमा शान्तिको सम्भावना र परमाणु तनावको सन्तुलनलाई प्रभावित गर्यो । यसले दक्षिण एशियाली क्षेत्रका देशहरू, विशेषगरी भारत र चीनका कूटनीतिक गतिविधिहरूमा पनि परोक्ष प्रभाव पार्यो । ट्रम्पको विदेश नीतिका प्रभावले विश्व राजनीतिमा महत्वपूर्ण परिवर्तन ल्याउनेछ । रुस–युक्रेनको युद्ध र ईजरायल–हमासको संघर्षजस्ता विवादमा ट्रम्पको दृष्टिकोणले ठोस परिवर्तन ल्याउने देखिन्छ । ट्रम्पको ‘अमेरिका फस्ट’ नीति र क्षेत्रीय समस्याहरूमा अमरिकी भूमिकाको स्वरूप पुनः परिभाषित हुने सम्भावना देखिन्छ । ट्रम्पको इतिहासलाई हेर्दा, उनले रुससँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको देखिन्छ । आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा ट्रम्पले भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध कायम गरेका थिए ।
ट्रम्पले चुनावी ¥यालीहरुला सम्बोधन गर्दा रुस–युक्रेन युद्ध २४ घण्टामै अन्त्य गर्ने घोषणा गरे । अहिले वर्तमानमा रुस–युक्रेन युद्धमा अमेरिकी सहयोगलाई रोक्न सक्ने प्रवल सम्भावना छ । उनले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग घटाउने कुरा पनि सार्वजनिक रूपमा व्यक्त गरेका छन् । यसले रुसलाई रणनीतिक रूपमा फाइदा पुर्याउन सक्छ । युक्रेनलाई अमेरिकी सैन्य सहायता घट्ने हो भने युक्रेनको प्रतिरक्षा क्षमतामा ह्रास आउनेछ । यो स्थिति रुसका लागि लाभदायक हुन्छ किन भन्दा यसले युरोपेली मुलुकहरूलाई थप दबावमा राख्नेछ, किनभने उनीहरूलाई युक्रेनका लागि थप सहायता दिनुपर्नेछ ।
ट्रम्पको विजयले रुसलाई अप्रत्यक्ष रूपमा मद्दत पुर्याउँछ भने, यसले युरोप र नाटोमा असन्तुलन ल्याउनेछ । ट्रम्पले नाटोमा अमेरिकी भूमिका पुनः समिक्षा गर्ने सम्भावना छ । उनले नाटो साझेदारहरूलाई थप आर्थिक योगदान दिन दबाव दिनेछन् । युरोपेली राष्ट्रहरूलाई आर्थिक तथा सैन्य रूपमा कमजोर पार्न सक्ने ट्रम्पको रणनीतिले रुसलाई युरोपमा थप प्रभुत्व कायम गर्न सजिलो हुनेछ ।
त्यसैगरी ट्रम्पले आफ्नो कार्यकालमा ईजरायलको कट्टर समर्थकका रूपमा चिनिएका थिए । उनले जेरुशलेमलाई ईजरायलको राजधानीको मान्यता दिएर ऐतिहासिक निर्णय गरेका थिए । अहिले उनको विजय पश्चात ईजरायल प्रतिको अमेरिकी समर्थन अझै बलियो हुनेछ । तर, ट्रम्पको यो नीतिले हमास र अरू अरब राष्ट्रहरूको मनोबल कमजोर गर्न सक्छ । मध्यपूर्वको द्वन्द्वमा अमेरिकाको स्पष्ट पक्षपाती दृष्टिकोणले क्षेत्रीय अस्थिरता थप बढाउन सक्छ । हमास र ईरानजस्ता समूहहरूले अमेरिका र ईजरायललाई थप लक्षित गर्न सक्छन् । ईरानको आणविक कार्यक्रमबारे ट्रम्पको कडा दृष्टिकोण अब पनि कायम रहन सक्छ । उनले आफ्नो कार्यकालमा ईरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिर निकालेका थिए । अब उनले ईरानमाथि थप प्रतिबन्ध लगाउने सम्भावना छ । ईरानले हमास र लेबनानी हिजबुल्लाहलाई सहयोग गर्दै आएको छ । यदि ट्रम्पले ईजरायललाई थप सहयोग गरे भने यो सहयोगलाई रोक्न ईरान अझ आक्रामक हुन सक्छ ।
यदि ट्रम्पको ‘अमेरिका फस्ट’ नीतिले व्यापकता पायो भने, यो केवल अमेरिकाको हितमा नभएर विश्व शक्तिसन्तुलनमा पनि दूरगामी प्रभाव पार्नेछ । नेपालले पनि निरन्तर विभिन्न विकास परियोजनामा अमेरिका सहायता लिँदै आएको छ । अमेरिकी सहयोग कार्यक्रम मार्फत नेपालले प्राप्त गर्ने सहायता शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण थियो । केही समयअघि मात्र नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना ठुलो बिरोधको बाबजुद पनि कार्यान्वयनमा ल्याएको छ ।
ट्रम्पको चीन विरोधी नीतिले नेपाललाई परोक्ष रूपमा प्रभाव पार्छ नै । नेपाल र चीनबीचको आर्थिक र रणनीतिक साझेदारीको विकास हुँदा, अमेरिकाको दृष्टिकोण र सहायता नीतिमा केही प्रभाव देखिन सक्थ्यो । यसले नेपाललाई आफ्नो कूटनीतिक सन्तुलन कायम राख्न र दुई ठूला शक्तिहरूसँगको सम्बन्ध व्यवस्थापन गर्न थप रणनीतिक सोचको आवश्यकतालाई पर्छ नै । जे होस् ट्रम्पको विजयले विश्वराजनीतिमा हलचल लिएर आउँछ । उत्पन्न युद्धले निम्त्याएको आर्थिक मन्दी, बेरोजगारीको समस्याले आहत भएका अमेरिकन जनताले ट्रम्पलाई शान्ति र स्थिरताका लागि रोजेका छन् । ट्रम्पको कार्यकालको सफलताको शुभकामनासहित हार्दिक बधाई..अस्तू ।।।