सन्दर्भः गणेशमान सिंहको जन्मजयन्ती
प्रारम्भिक जीवनः गणेशमान सिंहको जन्म पिता ज्ञानमान सिंह र माता सानुनानी श्रेष्ठ सिंहको पुत्रको रुपमा बिक्रम सम्वत् १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९, १९१५ मा यटखाँ काठमाण्डौमा भएको थियो । बाल्यकालमा उनी उदण्ड, निडर, स्वाभीमानी एवम् विद्रोही स्वभावका थिए । उनको जीवन जति संघर्षमय थियो, त्यतिनै रोचक र रोमाञ्चक पनि छ । काठमाडौंको रैथाने कुलीन परिवार, दरबारको काजी खलकमा जन्मिएका र लाडप्यारमा हुर्किएका थिए नेपाली कांग्रेसका संस्थापक लौहपुरुष । उनका बुबा तथा हजुर बुबा समेतको निधन कम उमेरमै भएको थियो । गणेशमान सिंहले आइ.ए.सम्म अध्ययन गरेका थिए ।
गणेशमान सिंहकी जीवन संगिनी मंगलादेवी सिंह हुन् । उनीहरुका दुई छोरा र तीन वटी छोरी गरी पाँच सन्तानको जायजन्म भएको थियो । गणेशमानले १७ वर्षको उमेरमै मुलुकी अड्डामा बहिदारको जागीर समेत खाएका थिए । त्यसैगरी काठमाडौं जेलबाट भागेपछि कलकत्तामा पाइलट बन्ने ईच्छाबाट निर्देशित भई एयर फोर्समा भर्ना हुन लाहौर पनि पुगेकामा उचाई नपुगेपछि भर्ना हुन पाएनन् । उनले पछि सिक्किममा कृष्णबहादुर प्रधानको नाममा टाइपिष्टको नोकरी पनि गरेका थिए ।
राजनीतिक जीवनः गणेशमान सिंहमा राणा शासन प्रति घृणा थियो । उनी भारतका महात्मा गान्धीका विचार र भारतीय स्वतन्त्रता संग्राम तथा नेपालका शुक्रराज शास्त्रीको सामाजिक आन्दोलनबाट अत्यन्त प्रभावित थिए । भारतको कलकत्तामा अध्ययनरत रहँदादेखि नै उनमा राजनीतिक चेतनाको विस्तार भएको थियो । गणेशमान सिंह वि.सं. १९९७ (सन् १९४०) मा नेपालमा गठित पहिलो राजनीतिक संगठन नेपाल प्रजा परिषद्को संस्थापक सदस्य बनेका थिए । वि.सं. १९९७ कार्तिक २ (१९३० अक्टोबर १८) मा पर्चा वितरण गरेको पर्चा अभियोगमा गिरफ्तार भई राजकाज मुद्दामा फाँसीको सजाय भै सकेका उनलाई सर्वस्वहरणसहित आजीवन कारावासमा परिणत गरिएपछि भद्रगोल जेल चलान गरिएको थियो । कारागारमा बसेर केही नहुने महसुस गरी गणेशमान सिंह बि.सं. २००१ आषाढ ७ (तदनुसार सन् १९४४ जुन २०) मा जेलबाट फरार भई बुटवल हुँदै कलकत्ता पुगे । भारत पुगेपछि इ.सं. १९४६ अक्टोबर ४ को नेपाल अव्हानपछि गणेशमान सिंहको वी.पी.सँग कलकत्तामा पहिलो भेट भएको थियो । त्यसैगरी कृष्णप्रसाद भट्टराईसँग वनारसमा भेट भएको थियो । त्यसपछि एक कार्यक्रममा राणा शासन विरुद्धमा गणेशमान सिंहले भाषण समेत गरेका थिए । गणेशमान सिंहले महात्मा गान्धीलाई पनि २००४ भाद्र ०६ (इ.सं. १९४७ अगस्त २२) मा कलकत्तामा भेट गरेका थिए ।
गणेशमान सिंह वि.सं.२००३ (सन् १९४६) मा कृष्णबहादुर प्रधानकै नामबाट नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश भई पार्टीको कार्यकारी सदस्य समेत भएका थिए । उनले पार्टीको सत्याग्रह आन्दोलनमा इलाममा नेतृत्व गरेका थिए । वि.सं. २००६ साल (सन् १९४९) मा उनी भारतमा झरोवर काण्डको सिलसिलामा गिरफ्तार भई भारतको मोतिहारी जेलमा पनि परेका थिए । सशस्त्र जत्था लिएर नेपाल आएका उनलाई साथीहरु पक्राउ भएपछि नेपाल छाड्नु प¥यो । नेपालबाट बि.सं २००६ असोज (सन् १९५०) मा भारततर्फ फरार हुँदै गर्दा उनलाई ठोरीमा पक्राउ गरियो र सेन्ट्रल जेलमा राखियो । त्यस समयमा उनले सेन्ट्रल जेलको कठोर यातना समेत भोगे । सोही साल चैत्रमा नेपाली कांग्रेस कार्यसमितिको सदस्य निर्वाचित पनि भए । वि.सं. २००७ साल फागुनमा गठित राणा–कांग्रेस मन्त्रीमण्डलमा र सो मन्त्रीमण्डल विघटन भई मातृका प्रसाद कोइरालाको नेतृत्वमा गठित मन्त्रीमण्डल तथा वि.सं. २०१६ मा वी.पी. कोइरालाको नेतृत्वमा गठित पहिलो जननिर्वाचित मन्त्रीपरिषद्मा पनि गणेशमान सिंह मन्त्री नियुक्त भएका थिए ।
२०१७ साल पौष १ मा राजा महेन्द्रद्वारा जननिर्वाचित सरकारलाई अपदस्थ गरी संसद विघटन गरियो । यस घटनामा नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरियो । यस काण्डमा गणेशमान सिंह पनि पक्राउ परे । यो पक्राउपछि उनले ८ वर्षसम्म सुन्दरीजल जेलमा जेल जीवन व्यतित गरे । वि.सं. २०२५ कार्तिक १४ गते जेलमुक्त भएको, एक वर्षपछि उनी भारत निर्वासित भए । उनी पनि वी.पी.सँगै राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ पौष १६ मा स्वदेश फिर्ता हुँदा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएका सवै व्यक्तिहरुलाई हवाई अड्डाबाटै पक्राउ गरी पुनः सुन्दरी जेलमा राखियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबावपछि उनी वि.सं. २०३५ आषाढ ४ मा जेलमुक्त भएका थिए । गणेशमान सिंहले “निर्वासनमा बसीरहनु भनेको हामीले मन्दविष पिएर आफ्नो अस्तित्व विसर्जन गर्नु हो, मेलमिलापको नीति बोकेर स्वदेश फर्कनु भनेको राजाको टांगमुनी छिर्नु हो । यो धर्मसंकटको त्यो बखतमा मैले चाहीँ मेलमिलापको नीतिलाई एउटा प्रयोगको रुपमा मात्र लिएको हूँ”, भन्नु हुन्थ्यो । राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको मुख्य पक्ष नेपालको परिवर्तनमा विदेशीको हात रहुनु हुँदैन, राष्ट्रियता र लोकतन्त्र एक–अर्काका परिपूरक हुन्, राष्ट्रियता कमजोर बनाएर लोकतन्त्रको भविष्य हुँदैन, लोकतन्त्र नभई राष्ट्रियता मजबुत हुन्न भन्ने थियो । वी.पी.को स्पष्ट नीति राष्ट्रियताको सवालमा राजासँग सहकार्य र प्रजातन्त्रको मामलामा राजासँग संघर्षको थियो ।
गणेशमान सिंह र उनले निर्वाह गरेको जिम्मेवारी
– वि.सं. २००६ चैत्र तदनुसार सन् १९५० मार्चमा नेपाली कांग्रेस कार्यसमितिको सदस्य निर्वाचित ।
– २००७ फागुन ७ गते गठित राणा–कांग्रेस मन्त्रीपरिषद्मा उद्योग तथा बाणिज्य मन्त्री नियुक्त ।
– २००८ मार्ग १ मा गठित मात्रिका प्रसाद कोईराला मन्त्रीपरिषद्मा कृषि, पशुविकास र भुमिसुधार मन्त्री ।
– २०१६।२।१३ मा वी.पी.कोईरालाको नेतृत्वमा गठित जननिर्वाचित कांग्रेस सरकारमा मालपोत विकास, निर्माण तथा सञ्चार र नहर मन्त्री ।
– विर्ता उन्मुलन मस्यौदा समितिका संयोजक,
– २०१३ मा मुम्बईमा र २०१४ मा नेपालको शितल निवासमा भएको अफ्रो एशियाली समाजवादी सम्मेलनमा सहभागी ।
उनको दृष्टिकोण तथा निर्वाह गरेका अन्य भूमिका
२०३७ को जनमत संग्रहको समयमा गणेशमान सिंहले पूर्वाधार खडा नगरी जनमत संग्रहमा भागलिन नहुने दृष्टिकोण व्यक्त गरेका थिए । तर उनको सो दृष्टिकोण कार्यान्वयन भएन । पार्टी जनमत संग्रहमा सहभागी भयो । अन्ततः तत्कालीन सरकारबाट जनमत संग्रहको नतिजा पञ्चायतकै पोल्टामा हाल्यो ।
यसै बीच २०३९ श्रावणमा वी.पि. कोईरालाको देहावसान भयो । तत्पश्चात गणेशमानको नेतृत्वमा २०४२ सालमा सत्याग्रह तथा वि.सं. २०४६ मा जनआन्दोलन सम्पन्न भयो । सो जनआन्दोलनकै फलस्वरुप बहुदलीय व्यवस्थाको पुनस्र्थापना पनि भयो । २०४६ सालको आन्दोलनपछि गणेशमान सिंह सर्वमान्य नेता तथा सर्वोच्च प्रजातन्त्रवादी नेता जस्ता विशेषणबाट सम्मानित भएका थिए । २०४६ सालको आन्दोलनपछि पाएको प्रधानमन्त्री पदलाई स्वेच्छाले त्यागेर आफ्ना सहयोद्धा नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई उनले खुशीसाथ सुम्पिएका थिए । कृष्णप्रसाद भट्टराईकैे नेतृत्वमा अन्तरिम मन्त्रीपरिषद् गठन भएको थियो । सोही मन्त्रीपरिषद्ले संविधान निर्माण र २०४८ को संसदीय निर्वाचन समेत सम्पन्न ग¥यो । सो निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त भयो र नेपाली कांग्रेसको सरकार गठन भयो ।
२०४८ सालमा नेपाली कांग्रेसको सरकार गठन भएपछि गणेशमान सिंहले राजनीतिक नियुक्तिहरुमा सन्तुलित, समानुपातिक र समावेशी व्यवहार अपनाउने र चुनावमा पराजित भएकालाई लाभको पदमा नल्याउने प्रस्ताव राखे । उनले उठाएका प्रश्नहरु प्रजातन्त्रमा सबै जात जातिका, सबै लिंगका, सबै धर्मका, सबै वर्गका र सबै क्षेत्रका बासिन्दाले यो मेरो व्यवस्था हो भनी आत्मसात गर्न सक्ने बनाउन आवश्यक छ भन्ने थियो । तर उनले उठाएका कुरा लागु गरिएनन् ।
गणेशमान सिंह नेपालमा प्रजातन्त्रका लागि जीवनभर अथकरुपले लागेका व्यक्ति हुन् । लोकतान्त्रिक पद्दति र संस्कारका लागि पार्टी भित्र पनि संघर्ष गरेका व्यक्तित्व हुन् । आफ्नै पार्टीको सरकार हुँदा समेत उनले उठाएका गम्भीर विषयहरुलाई अमल गरिएन । यसरी उनको जीवनको उत्तरार्धमा नेपाली कांग्रेस भित्र आन्तरिक विग्रह सृजना भयो । सोही आन्तरिक विग्रहका कारण उनको मन दुख्यो । त्यसबाट उनी असन्तुष्ट भई २०५१ भाद्र ३१ गते पार्टी परित्याग गरी उनी पार्टीबाट अलग भए । अन्तमा वि.सं २०५४ असोज २ गते उनको मृत्यु भयो ।
विद्वत वर्गको नजरमा गणेशमान सिंह ः
१. कट्टर सिद्धान्तवादी, प्रजातन्त्रका अथक योद्धा, वरिष्ठ प्रजातन्त्रवादी नेता, प्रखर राष्ट्रवादी, महान देशभक्त, जननेता, आर्थिक क्रान्तिका पक्षधर तथा व्यवहारिक राजनेता ।
२. उहाँको बानी व्यहोरा अत्यन्त सरल थियो । साथसाथै उहाँ अत्यन्त कठोर पनि हुनु हुन्थ्यो (डेढ वर्षसम्म कसैलाई भेट्नु भएन) । आफ्नो काम आफैं गर्नुपर्छ भन्ने कुरा व्यवहारमै उतार्नु हुन्थ्यो । उहाँ अरुको दुःख देख्न नसक्ने, त्यस्तालाई सकेको सहयोग गर्ने गर्नु हुन्थ्यो । राजनीतिक सिद्धान्त र आदर्शप्रति उहाँको कडा अडान थियो । उहाँले २०४६ सालपछि आर्थिक क्रान्ति गर्नु पर्छ र समाजमा अवसर नपाएकालाई अवसर दिनुपर्छ भन्नु हुन्थ्यो । ठुलो मान्छे हुनका लागि दृढ निश्चयी हुनु पर्छ भन्ने कुरा उहाँबाट सिक्न सकिन्छ ।
३. लोकतन्त्रका जाज्वल्यमान तारा, नेपालमा लोकतान्त्रिक आन्दोलनका इतिहास निर्माता, सर्वमान्य राजनेता । साहस, वीरता र इमान्दारिबाट बनेको उहाँको जीवन आजको पुस्ताका लागि प्रेरणादायी छ । उनी प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि संघर्षका हिसावले वी.पी. कोइराला भन्दा बढी अवधिसम्म समर्पित, सैद्धान्तिक हिसावले वी.पी. का कट्टर समर्थक थिए ।
४. गणेशमान सिंह नसोची कहिल्यै नबोल्ने र बोली सकेपछि त्यसैमा टिक्नु हुन्थो ।
५. गणेशमान सिंहको व्यक्तित्वका आयामः स्पष्टवादिता, निर्भिकता, साहसिक र निस्वार्थ । प्रजातन्त्रप्रति अविचलित आस्था र विश्वास (गुण), आदर्श मूल्य, मान्यतामा आधारित राजनीतिक संस्कार र संस्कृति बसाल्न समर्पित नेता, जनतालाई भरोसा गर्न र भरोसा दिलाउन जानेका कर्मयोगी नेता ।
६. नेपालको राजनीतिक एकीकरण गर्ने पृथ्वी नारायण शाह, नेपाललाई भाषागत रुपमा एकीकरण गर्ने आदिकवि भानुभक्त आचार्य र प्रजातान्त्रिक रुपले एकीकरण गर्ने महापुरुष मध्येका एक गणेशमान सिंह हुनुहुन्छ ।
७. गणेशमान सिंहको जीवन त्यागको पर्यायवाची हो । उनको आर्थिक क्रान्ति महंगीमा राहत र रोजगारी, भष्टाचार र गरिबीको अन्त्य, दीर्घ जलस्रोतको सदुपयोग, कृषि क्षेत्रको विकास, उत्पादनमा बृद्धि र न्यायोचित वितरण ।
८. गरिब, कमजोरले पनि राज्यलाई आफ्नो ठान्ने व्यवस्था स्थापित होस् भन्ने ठान्थे गणेशमान । राजनीतिकर्मीहरु तुच्छ र अदूरदर्शी भएपछि जनताले सकस भोग्नु पर्छ । अहिले भोग्नु परेको गरिबी, अशान्ति र विखण्डनको कारक राजनीतिक नेतृत्वको कमजोरी नै हो ।
९. गणेशमानको विकास मोडल समानुपातिक र समावेशी अर्थात सामाजिक अभियान्त्रीकरण थियो ।
उपसंहारः नेपाली कांग्रेसको आदर्श, मूल्य र मान्यता राष्ट्रियता, लोकतन्त्र र समाजवाद रही आएको तथ्य सर्वविदित नै छ । नेपाली कांग्रेसले यिनै आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण गतिशील र समतामूलक समाजको स्थापना गर्ने, नेपाललाई सभ्य, सुखी र सम्पन्न रुपमा स्थापित गर्ने प्रतिवद्धताका विषय दस्तावेजहरुमा उल्लेख गरेको छ । वर्तमानमा एकातिर आँफूले सिन्को नभाँच्ने पूर्वजहरुले गरेको कार्यको व्याजमा रमाउने प्रवृत्ति हावी भएको छ भने अर्कोतर्फ गुटबन्दीेको विजारोपण नराम्रोसँग मौलाएको पाइन्छ । नेतृत्वबाट यस्तो बिग्रहलाई सम्बोधन गरी पार्टीलाई एकताबद्ध र सुसंगठित गराउनेतर्फ आवश्यक पहल गरिनु पर्ने हो । हालका नेतृत्व तहबाट त्यस प्रकारको ठोस पहल गरिएको पाइन्न । गरिएका भए के कस्ता कार्यहरु गरिए वा गरिँदै वा गर्न लागिएको छ ? सो विषय जनसमक्ष स्पष्ट आउनु जरुरी छ ।
हुन त नेपाली कांग्रेस भित्र समय–समयमा थरी–थरीका अवसरपरस्त र स्वार्थी गुट, उपगुट, समूह, उपसमूह तिव्ररुपमा सिर्जना हुने आन्तरिक विग्रहजन्य रोग साविकदेखिकै हो भन्ने तथ्य कसैबाट छिपेको छैन । स्वयम् गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई समेत यस्ता विग्रहको चपेटामा परेको दृष्टान्त छ । विधानको उद्देश्य अनुसार नेपाललाई सभ्य, सुखी र सम्पन्न तुल्याउन राजनीतिक पार्टीहरुले पार्टी भित्र आन्तरिक विग्रह सिर्जना हुन दिनु हुँदैन र सिर्जना भइहाले त्यसलाई सच्याई हाल्नु पर्ने हो । तर, त्यसो नगरी केन्द्रदेखि स्थानीय तहसम्म नेताहरु आआफ्नो गुट, उपगुटमा विभाजित भई एकले अर्कोलाई खुइल्याउने र परस्पर तानातानमा रमाउने प्रवृत्ति हावी छ । फलस्वरुप यो वा त्यो गुट उपगुटको चिरा ग्रामीण तहसम्मै देखिन्छ । यो अवस्थाले अग्रजहरुले योगदानको अवमूल्यन र शुभेच्छुक मतदाताहरुको विश्वासमा आघात हुन गएको छ । यो समस्यालाई सबै तहका नेतृत्व वर्गबाट यथोचित संवोधन हुनु जरुरी देखिन्छ ।
र अन्त्यमा वर्तमानका कांग्रेसी नेता तथा कार्यकर्ताहरुबाट वी.पी. कोइराला, गणेशमान सिंह एवम् कृष्ण प्रसाद भट्टराईको त्याग, समर्पण, आदर्श र उनीहरुको योगदानको कदर हुन नसकेको विषय मुखरित भएको छ । गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा वर्तमानका नेतृत्व वर्गलाई अग्रजहरुकोे योगदानलाई कदर गर्न, उनीहरुकै आदशर्, मूल्य, मान्यता र सिद्धान्तमा आधारित उद्देश्यमूलक राजनीतिको माध्यमबाट नेपाल र नेपालीलाई सवल, सुखी र सम्पन्न तुल्याउने दिशामा अग्रसर हुने प्रेरणा मिलोस । अस्तु ।