समृद्ध समाज राष्ट्रिय दैनिकको सुरूवातदेखि नै मेरा विभिन्न लेख, रचनाले प्राथमिकता पाइरहेकै छ । तथापि सुरूवाती लेखरचना मध्ये समृद्ध समाजमा २०६८ सालमा रुपचन्द्र विष्टबारे छापिएको लेख अलि बढी सम्झिन्छु । मेरा हास्यव्यङ्ग्य लेखन प्रयासमा सबैभन्दा बढी आलेखहरू छापिएको सञ्चार माध्यम नै समृद्ध समाज राष्ट्रिय दैनिक हो ।
लेखनको सुरूवातीदेखि नै हास्यव्यङ्ग्य लेखनमा अलि बढी प्रेम भयो । यस समाचारपत्रमै पनि विगतमा हास्यव्यङ्ग्य लेखन र प्रकाशनकै क्रममा एकछिन ल स्तम्भको लगभग ३२ शृङ्खला प्रकाशन भए । हास्यव्यङ्ग्य लेखनकै क्रममा यही विषयका महत्वका चाडहरू गाईजात्रा, लुते सङ्क्रान्ती (साउने सङ्क्रान्ति), भ्यालेन्टाइन डेसम्मले अनेकन व्यङ्ग्य सिर्जना गराए । कसलाई मात्रै उडाइएन ? शिक्षक, ठेकेदार, माइक्रोसफ्टका मालिक विल गेट्सदेखि, नवधनाढ्यको कुकुरप्रेमसम्म अनि राजनीतिकर्मीदेखि पत्रकारसम्मलाई बाँकी राखिएन । समाचारपत्रले उक्साएको लेखनको सिकाइ र प्रयोग आपूmप्रति पनि व्यङ्ग्य जारी राखेकै छु ।
त्यसो त शिक्षा, साहित्य, अध्यात्म, राजनीति तथा दर्शन, विविध विचारलाई पत्रिकाले सदैव महत्वपूर्ण स्थान दिइरहेको छ । प्रिन्ट मिडियामाथि टिक्नेसम्मको चुनौति थपिँदै गएको विश्वव्यापी अवस्थालाई हेर्दा यस समाचारपत्रको भविष्य मिति अहिल्यै आँकलन गर्न नसक्ने अर्थात् अझै वर्षौँसम्म टिक्न सक्ने धरातल बनिसकेको महसुस गर्दछु ।
शिक्षालाई विशेष स्थान दिएको यस दैनिक पत्रिकाले साहित्यलाई समेत सँगसँगै लिएर हिँडिरहेको छ । विशेषतः विद्यालय तहमा अध्ययनरत नवसर्जकहरूका रचना प्रकाशन गराएर नेपाली साहित्य लेखनमा ऊर्जा दिने काम यस समाचारपत्रले विगतदेखि गर्दै आइरहेको छ । पठन संस्कृति अनि पुस्तकालय अभियानलाई जोड मात्रै नभई सम्पादक सुरेश श्रेष्ठ पठनसँगै लेखनमा जोड गर्दै, आम मानिसमा सूचनाको महत्व बुझाउन लागीपर्नु भएको छ भने पत्रकारिताका कर्मीहरू उत्पादनमा उल्लेख्य भूमिका खेल्दै आइरहनु भएको हामीले प्रत्यक्षतः देखेका र महसुस गरेका छौं नै ।
समृद्ध समाज राष्ट्रिय दैनिकको १५ वर्षको यो यात्रादेखि यसले विद्यालय तहदेखि नै पत्रकारिताको कार्यशालामा विशेष जोड गरोस् । पत्रिकाबारे गुनासो पनि राखौं न त भनेर सोँच्दा सोँच्दा केही नभेटेपछि यति लेख्न मन लाग्यो । यो अवसरमा म्यागाजिन आकारमा पत्रिकाको विशेष अङ्क प्रकाशन हुन सके जाति हुन्थ्यो । भइरहेका सुन्दर कर्महरूको निरन्तरताको कामना । लगन र मिहिनेतले परिपक्व बनिसकेको समाचारपत्र अनि सिङ्गो परिवारलाई हार्दिक बधाई तथा शुभकामना ।