“फलानो गिरीबन्धु । चिलानो ललिता निवास । ढिस्कानो सुनकाण्ड । देशवासीलाई विदेशी शरणार्थी बनाएर पैसा उग्राउने अर्को छ। पानी ट्याङ्की, वाईड बडी, यती, ओम्नी, चेज, बतास, जलहरी, महाकालीदेखि मिन महलसम्म कति छन् कति। यहा “चोखो कोही छैन । सबै भ्रष्ट, नक्कली,राष्ट्रघाती । नेपालमा कम्यूनिष्ट कोही छैन ।”
हिमाल होस कि पहाड । तराई होस कि मधेश । के गाउ ? के शहर ? के काँठ । चोक, चौतारो चिया पसल । अटोभित्र, सुुमोभित्र, बसभित्र, जहाँ पुगे पनि के विद्वत वर्ग ? के आमजनता ? के कार्यकर्ता ? एकबाट दुई हुनासाथ सबैले यस्तै यही चर्चा गरेको सुनिन्छ । सबैले एउटै निष्कर्ष झिक्छन्, “सबै चोर हुन । यहा “कम्यूनिष्ट कोही छैन ।”
के हो त ? नेपालमा कम्यूनिष्ट साँच्चै छैनन् त ? प्रश्न सुन्दा धेरै मानिसलाई अचम्म लाग्छ । किनकि यहा “अरुका भन्दा कम्यूनिष्टहरुकै धेरै पार्टी छन् । गतिविधि पनि कम्यूनिष्टहरुकै बढि देखिन्छ । कम्यूनिष्टहरुले पाएका सबै मत जोड्दा दुई तिहाइ नाघ्छ । जस्तो सुकै घाम पानी, हुरीबतासमा होस् वा जतिसुकै लामो लाइनमा होस् कष्टका साथ उभिएर दुई तिहाइ भन्दा बढी नेपाली मतदाताले कुनै न कुनै पुच्छरधारी कम्यूनिष्ट पार्टीलाइ नै भोट दिंदै आएका छन् । कम्यूनिष्ट पार्टीले निकालेका जनभेला होस वा जन प्रदर्शनमा होस उर्लिने गरेको जनताको भिड पनि सानोतिनो हुन्न । सरकारमा कम्यूनिष्ट । सडकमा कम्यूनिष्ट । प्रमुख विपक्षी पनि कम्यूनिष्ट । जंगलमा कम्यूनिष्ट । हरेक राजनीतिक परिवर्तनको मुख्य भुमिकामा कम्यूनिष्ट । कम्यूनिष्टको साथबिना कसैले पनि सरकार चलाउन सक्ने अवस्था छैन । विदेशीहरुलाई आफ्ना हस्तक्षेपकारी अजेण्डा पास गराउन पनि विदेशीहरुलाई कम्यूनिष्टकै सहयोग चाहिने अवस्था । तैपनि आम जनताले नेपालमा कम्यूनिष्ट छैनन् भनेको सुन्दा विदेशीहरु त झन तीनछक पर्छन् । किनकि पद र पैसा वा व्यक्तिगत लाभ हानीलाई हेरेर आफ्ना राजतीतिक विचार र सिद्धान्त बदल्ने मानिस उनीहरुले देखेका छैनन् । पार्टीका रसिदधारी सदस्यहरु नै कम्यूनिष्ट हुन् भन्ने उनीहरुलाई लाग्छ । त्यसैले उनीहरु सदस्यतालाई हेर्छन् र पार्टिको आव्हानमा उर्लेको भिड हेर्छन । किनकि उनीहरुको देशमा कम्युनिष्ट पार्टीको सदस्यताले मानिसको आस्था, विश्वास तथा प्रतिबद्धता देखाउछ ।
संसारका जुनसुकै देशमा धेर–थोर संख्यामा कम्यूनिष्टहरु छन् । उनीहरु कतै भूमिगत रुपले कृयाशिल छन् भने कतै खुला रुपले । उनीहरुको रगत–पसिनाको मुल्यमा बनेका पार्टिहरु पनि छन् । कतै कम्यूनिष्ट पार्टी छन् भने कतै कम्यूनिष्टहरुको अर्कै नामको पार्टी छ । धेरै देशमा कम्यूनिष्ट पार्टीको सदस्य हुनलाई सजिलो छैन । त्यहाँ लामो समय सम्म परीक्षणमा बस्नु पर्छ । मानिसको सामाजिक छवि र वर्ग पक्षधरता हेरिन्छ । जसलाई भेट्यो त्यसैलाई सदस्यता दिइँंदैन । सदस्य हुनलाई कम्यूनिष्टमा हुनुपर्ने निम्नतम आचरण र गुण चाहिन्छ । त्यहाँ नेपालमा जस्तो कम्यूनिष्ट पार्टीको सदस्यता किलोको भाउमा बेच्न राखेको हुँदैन । रगत पसिनाको मूल्य तिरेर माग्नु पर्छ । नेपालमा पनि पहिला त्यस्तै थियो । सदस्यता पाउन ठूलो जोखिम मोल्नु पथ्र्यो । त्यसैले थोरै मानिसले मात्र कम्यूनिष्ट पार्टीको सदस्यता लिने आँट गर्थे । जसले सदस्यता लिन्थे ती साँच्चै कम्यूनिष्ट थिए । उनीहरुको व्यवहार, आचरण र बलिदानी भावनाले जनताको मन जितेको थियो । जनताले कम्यूनिष्ट शब्दलाई त्याग, समर्पण र बलिदानको पर्याायवाची मान्दै आएका पनि थिए । तर अहिले लोकतान्त्रिक खुला समाजमा कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु आचरण, विचार र व्यवहारले अरु पार्टीका नेता कार्यकर्ता भन्दा फरक देखिदैनन् । उनीहरु बिग्रिनुसम्म बिगे्रका छन् । त्यसैले निराश भएर जनताले भन्न थालेका छन्– “नेपालमा अब कम्यूनिष्ट छैनन् ।”
नेपाल एउटा गरिब जनताको देश हो । त्यसैले यहाँको सामाजिक मनोभाव कम्युनिष्टमैत्री छ । किनकि जनताकै काखबाट उठेको शोषक, सामन्त विरोधी, वर्ग सङ्घर्षबाट कम्युनिष्टको जन्म र विकास भएको हो । कम्युनिष्टहरुले विपन्न वर्ग र उत्पिडित जनसमुदायको हक अधिकारको पक्षमा गरेको बलिदानी सङ्घर्षले जनताको मन राम्रोसँग छोएको छ । त्यसैले सेल्टरदाता जनसमुदायलाई कम्युनिष्टहरुबाट ठुलो अपेक्षा हुनु स्वभाविक हो । अर्को कुरा छिमेकी राष्ट्र चीनलाई कम्युनिष्टहरुले विकासको गतिमा कहाँबाट कहाँ पुर्याए त्यसको लेखाजोखा नेपाली जनताले राखिरहेकै छन् । जसले गर्दा विपन्न नेपाली जनतालाई कम्युनिष्टमैत्री बनाएको छ । यहाँ कम्युनिष्ट नामका धेरै पार्टीहरु खुल्नुका कारण पनि यही हो । दुःखको कुरा के छ भने यहाँ कुनै पनि कम्युनिष्ट पार्टी लोकतान्त्रिक ढंगले चलेको देखिदैँन । कार्यकर्ताले स्वतन्त्र ढंगले बिचार सिद्धान्तलाई छानेर भन्दा हरेक पार्टीमा गुटबन्दी मार्फत् नेतृत्व निर्माण गर्ने चलन व्याप्त छ । त्यसैले इनेगिनेका केही नेतागणको लहड र सनकलाई मात्रै सिद्धान्त विधि र पद्धति मानिन्छ । कार्यकर्ताको काम तालि पिट्ने मात्रै हुन्छ । कसैले तर्क झिकेर लेनिनको जनवादी केन्द्रीयता खोज्यो भने त्यो भीम रावल बनिहाल्छ । तर्कको जवाफ तर्क हुन्छ । बल प्रयोग गर्ने पञ्चायत त हामीले धेरै पहिला मिल्काएका हौ । त्यसैले जनता भन्छन् । ‘अहिलेका कम्युनिष्टहरु खोलधारी हुन् । पहिलेका जस्ता होइनन् ।’
हरेक पार्टीसँग यसका सदस्यले गर्नैपर्ने केही र गर्नै नहुने केही कामको सूची हुन्छ । त्यसलाई पार्टीको मुल्य मान्यता भनिन्छ । त्यही मुल्य मान्यताले एउटा पार्टीलाई अर्को पार्टी भन्दा फरक देखाउछ । त्यही कामले एउटा पार्टीको कार्यकर्तालाई अर्को पार्टीको कार्यकर्ता भन्दा भिन्न देखाउछ । कुनै बेला जनै लगाउने मानिसले जाँड खाँदैन थे र जाँड खाने मानिसले जनै पनि लगाउदैनथे । अहिलेका कम्यूनिष्टहरु त्यो मानिस जस्ता भए । जसले जँँड पनि खान्छ र जनै पनि लगाउँछ । कम्यूनिष्ट पार्टीको सदस्यता मानिसको जात जस्तै भयो । जे गरे पनि नजाने । आफूलाई द्वन्द्वात्मक भौतिकवादी ठान्ने कम्यूनिष्ट नेताहरु घन्टौ सम्म पुजा कोठामा घण्टी बजाएर बसिरहेका हुन्छन् । ज्ञान आशीर्वादका लागि भनेर दारी बाबा र सारी महतारीका पाउ पुज्न विभिन्न मठमन्दिर तिर धाउँछन् । आमा सरहका गरिब महिलालाई बोक्सी भन्दै मरणासन्न हुनेगरी पिट्ने र मुखमा अभक्ष आची पदार्थ हालिदिने हात पनि कम्यूनिष्ट नेताकै भएको समाचारले खबर कागजका पाना नभरिएको दिनै हुन्न । भ्रष्टाचारका राष्ट्रिय कथा कहानी पढ्दै जाने हो भने कम्यूनिष्ट नेता तथा कार्यकर्ता नमुछिएको कुनै पाना हुन्न । ६ महिना पनि नटिक्ने पिच, तीन महिनामै भत्किने पुल, वर्ष दिन भन्दा बढि नटिक्ने भवनमा खोज्दै जाने हो भने पनि सकेसम्म नायक नभए सहनायकमा पनि कम्यूनिष्ट नेता या कार्यकर्ता नै भेटिन्छन् । सानादेखि ठुलासम्म बिग्रेका सार्वजनिक शैक्षिक वा अन्य संस्थाहरुमा खोज्दै जाने हो भने कम्युनिष्ट नभेटिए खुशी हुनुपर्ने दिन आइसकेको छैन । सहकारी घोटला र मानव तस्करीमा त मन्त्री नै भेटिन्छ । भ्रष्ट भाउजुहरुसँग रगतको साहिनो नरहेका कम्यूनिष्ट नेता भेट्टाउन दुर्लभ भएको छ । “बुढी लागी रमितैमा स्यालले कुखुरा बोक्यो” भने जस्तै यता सोझा साझा कार्यकर्ता माक्र्सको दर्शन, लेनिनको सिद्धान्त, माओका ध्यान दिनुपर्ने आठ कुरा रटेर बसेका हुन्छन् उता नेताहरु कताबाट पैसा आउँछ भनेर हेरिरहेका हुन्छन् । तर कसैको सदस्यता गएको समाचार आएका छैनन् । यहा “कम्यूनिष्ट हुनलाई कुनै बिचार, सिद्धान्त, संस्कृति र ब्यवहार चाहिदैन । कागजको एउटा चिर्कटोले मानिसलाई कम्यूनिष्ट बनाइदिन्छ । एक जना मानिसले ठट्यौली पारामा भनेका थिए “कम्यूनिष्टहरु बाहुन जस्तै भए । जे गर्दा पनि जात नजाने।”
कतिपय मानिसले गैरशोषक, स्वाभिमानी, श्रमजीवी मानिसलाई कम्यूनिष्ट भन्ने गर्छन् । तर आफू मात्रै गैरशोषक र श्रमजीवी भएर पुग्दैन । माक्र्सवादी शास्त्रका अनुसार कम्यूनिष्ट एउटा राजनीतिकर्मी पनि हो । जसले संगठित भएर श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा राजनीति गर्छ । मजदुर, किसान, श्रमिक, शिल्पीहरु मात्रै होइन नाफा अनुसारको कानून सम्मत कर महशुल राज्यलाई तिरेर देशवासीलाई रोजगारी दिने उद्योगपति ब्यापारीहरु समेतका पक्षधर र सबै खाले दमन र उत्पीडन विरोधी राजनीतिकर्मीलाई प्रचलित शास्त्रले कम्यूनिष्ट भन्छ । तर बिचार र सिद्धान्तसँग समतुल्य आचरण, व्यवहार, इमान, अडानको कसिमा हेर्दा जनताले कम्यूनिष्ट भन्न मिल्ने स्वनामधन्य धेरैलाई देख्दैन । गरीब नेपाली जनताको पेटमा लात हानेर कर महसुल मारालाई काखी चेप्ने मानिस पनि कतै कम्यूनिष्ट हुन्छ ? त्यसैले उनीहरु नेपालमा कम्यूनिष्ट कोहि छैन भन्ने निष्कर्षमा पुगेका हुनुपर्छ । उत्पादनको साधनलाई सामुहिक स्वामित्वमा हस्तान्तरण गर्दै समतामुलक तथा वर्गविहीन समाजको निर्माण गर्ने अभियानमा हिँडेका मानिसले ब्यक्तिगत सम्पत्तिको लोभ गर्दैन । यदि कसैले गर्छ भने त्यो कम्यूनिष्ट होइन भन्ने जनताको बुझाई छ । आचरणमा भ्रष्ट, ब्यवहारमा अवसरवादी र विचार वा सिद्धान्तहीन मानिसले सदस्यता लिए पनि त्यो नौटंकी हो भन्ने धेरै जनताले बुझिसकेका छन् ।
स्थापना काल देखि नै नेपाल कम्यूनिष्ट पार्टीले देशको राष्ट्रियताको रक्षा तथा जनतन्त्र र जनजीविकाको सुनिश्चितताको लागि अनवरत संघर्ष गर्दै आएको छ । मुलुकको लोकतान्त्रिकरण र सबै जनसमुदायको मूल प्रवाहीकरणका लागि भएको संघर्षमा धेरै कम्यूनिष्टको रगत बगेको छ । त्यस्तै कठोर जेल जीवन भोग्नेमा पनि कम्यूनिष्टहरु कै संख्या बढी छ । किसान र मजदुरले वर्गहितका लागि विद्यार्थी, शिक्षक र सुकुम्बासीले अधिकारका लागि, महिला, दलित जनजाती र आदिवासीले समानताको लागि चलाएको सबै आन्दोलनमा कम्यूनिष्टहरु नै अग्र मोर्चामा रहेका छन् । पछिल्लो चरणमा कम्यूनिष्टहरुले पकड क्षेत्रमा जनअदालत र जनसरकारको नमुना देखाउन पनि भ्याएका थिए । यसले निरीह जनतालाई ठूलो राहत दिएको थियो । साहुको हात बाट उनिहरुले आफ्ना जग्गा फिर्ता पाएका थिए । उनीहरुको जाली कागजलाई च्यातेर कम्यूनिष्टहरुले अटेर गरी बसेका मिटरव्याजीहरुलाई सुँगुरको खोरभित्र थुनेका थिए । मादक पदार्थ सेवन गरेर गाउँमा अशान्ति मच्चाई हिँड्ने बदमासहरुले भाटाका निलडाम भेटेका थिए । महिलाहरुले जँड्याहा पतिबाट कुटाई खानु पर्ने अवस्था समाप्त भएको थियो । तास चपाएर निल्नुपरेको कष्टकर सजाय भोगेका जुवाडेहरुले अहिले पनि सम्झिरहेका छन् । सार्वजनिक सम्पति हिनामिना गर्ने स्वार्थी लुटेरा तत्वहरुको रुवाबासी भएको थियो । भ्रष्टकर्मचारी तथा जनप्रतिनिधिहरु जनकार्वाहीमा परेका थिए । न्यायका लागि कम्यूनिष्टहरुनै चाहिने रहेछ भन्ने विश्वासको बिउ जनताका मनभित्र उम्रिन थालेको थियो । यी सबै कामले गर्दा जनतामा कम्यूनिष्टहरु प्रति सकारात्मक धारणा बनेको थियो । तर अहिले पार्टीको रसीद टल्काउ“दै आउने कम्यूनिष्टहरुको गतिविधि सिद्धान्त अनुकुल नदेखिएको कारण जनताले निरास भएर भन्न थालेका हुन् –“अब नेपालमा कम्यूनिष्ट छैन । “हुँ” भन्दै आउने सबै रामनामी हुन ।”
हरेक राजनीतिक दलभित्र सबै खाले मानिस हुन्छन् । मौका नपाएर असल बनेका खराब मनका मानिस पनि त्यहाँ हुन्छन् । साँच्चै नै असल मानिस पनि त्यहाँ हुन्छन् । कम्यूनिष्ट पार्टी भित्र पनि असल खराब दुवै खाले मान्छे छन् । नक्कली नोटहरु बजारमा निस्कन थालेपछि सक्कली नोटहरु हराउँन थाल्छन् भन्ने अर्थशास्त्रको नियम छ । नेतृत्व तहमा गलत मानिस पुगेपछि त्यसको असर भूँई खुट्टासम्म पुग्छ । नक्कलीहरुको बिगबिगी बढ्न थालेकोले सही कम्यूनिष्टहरु ओझेलमा परेका छन् । नेपालमा कम्यूनिष्ट नभएका चाँहि होइनन् । नेपालमा कम्यूनिष्ट थिए, छन् र रहने छन् । सही कम्युनिष्ट पहिचान गर्न सही चेतना, इमान्दारिता र सक्रियता चाहिन्छ । तर दुःखको कुरा के छ भने चेतनशील मानिस इमान्दार छैन, इमान्दार मानिस सक्रिय छैन त्यसैले नक्कली कम्युनिष्टहरुले जनतामा बिगारेको धारणाले सक्कलीहरु पनि सिकार भएका हुन् ।