अहिलेको समयलाई सूचना तथा सञ्चारको युग भन्ने गरिएको छ । प्राचीन समयमा जोसँग बढी गाईवस्तु छन् उनीहरु धनी हुने अवस्था थियो । त्यसपछि जोसँग बढी जमिन छ, ऊ धनी हुने समय भयो । त्यसपछिको युगमा मुद्रा विनिमयको समय भएपछि रूपैयाँ, पैसा र सुन हुने धनी भए । अहिलेको समयमा रुपैयाँ पैसा र सुनले मात्रै मानिस धनी हुन्छ कि हुँदैन, यो छलफलको विषय हो । अहिले जोसँग सूचना छ, ऊ अघि हुने समय बनेको छ । त्यसकारण सूचना तथा सञ्चार प्रविधिको व्यापकता अहिलेको समयमा नकार्न सकिन्न ।
‘केवल परमेश्वरले मेरो हृदयमा राख्नुभएको सन्देशलाई अर्को रूपमा प्राप्त गर्न चाहन्थेँ, किनकि मलाई थाहा थियो कि छापा मिडिया मानिसहरूको फरक समूहमा पुग्नेछ ।’ ज्वेल अस्टिनको यो भनाइले छापा मिडियाको महत्वलाई दर्शाउँछ । समाचारपत्रले चाहे भने मानिसहरूलाई दिगभ्रमित समेत बनाउन सक्छन् । तर यसले जनसाधारणका आवाज उठाउन प्रयत्न गर्ने हो भने समय परिवर्तनमा यसको निकै ठूलो भूमिका हुने गर्दछ । सन्दर्भ जोड्न खोजेको ‘समृद्ध समाज राष्ट्रिय दैनिक’ जुन हेटौँडाबाट प्रकाशित हुन्छ, यसको १५ औं वार्षिकोत्सव रहेको छ । विभिन्न आरोह अवरोहहरूबीच र सानो सहरमा धेरै पत्रपत्रिका तथा अनलाइन संस्करण र रेडियोहरूका बीच यसले १५ औ बसन्तहरु पार गरेर अघि बढ्नु महत्वपूर्ण र सामाजिक योगदानमा प्रभावपूर्ण रहेको अनुभूति हुन्छ ।
मकवानपुरमा विभिन्न साहित्यिक संघ संस्थाहरू छन् र तिनले आफ्ना कार्यक्रमहरू आयोजना गर्ने गर्दछन् । यसलाई नजिकबाट पर्गेल्ने प्रयत्न भएका सबै पत्रपत्रिका, रेडियो तथा अनलाइन संस्करणहरूले गर्न सकेको अनुभूति हुँदैन । कसैको त साहित्यसँग गोरु जोतेको साइनो पनि छैन झैँ सम्बन्ध छ । तर समृद्ध समाज राष्ट्रिय दैनिक र साथमा अन्य केही पत्रिकाको यसमा फरक भूमिका रहेको छ । सृजनात्मक क्षेत्रमा सक्रिय नवसर्जकदेखि वृद्धवृद्धासम्मका रचनालाई अटाएर हप्ताको दुईवटा बारमा महत्वपूर्ण स्थान प्रदान गर्ने काम यो समाचारपत्रले गरेको छ । हुन त आजको समयमा मानिस हतारमा छन् र पत्रकारितालाई पनि हतारको साहित्य भनिने गरेको छ । तर अन्य पत्रकारिताका विषयका साथसाथै साहित्यलाई छुट्टै स्थान स्थापना गरेर यसमा संलग्न व्यक्तिहरुसँग न्यायोचित सम्बन्ध बनाएर समाज विकासको क्रममा योगदान पु¥याउने काम ‘समृद्ध समाज राष्ट्रिय दैनिक’ले गरेको छ ।
पत्रिकाहरूले व्यावसायिकता पनि सँगसँगै सोच्नु जरुरी छ । तर व्यावसायिकताले मात्र यिनीहरूको आत्मा जीवित हुन्छ भन्ने लाग्दैन । समाचारपत्रहरू कति सामाजिक भए, तिनले सामाजिक न्यायको निम्ति कति उत्तरदायित्व निर्वाह गर्न सके र समाजलाई मार्गनिर्देश गर्न कति भूमिका निर्वाह गर्न सके भन्ने कुराले बढी अर्थ राख्छ । आजको समयमा नकारात्मकता हावी भएको हामी जुनसुकै क्षेत्रमा देख्ने गर्छौं । तर त्यसले समाजलाई सही दिशामा डोर्याउँदैन । हिजोका कमिकमजोरी औँल्याउँदै भोलि कसरी अगाडि बढ्ने भन्ने कुरा सुझावका रुपमा प्रस्तुत गर्न सक्ने पक्षले मात्र सही मार्गनिर्देशन गर्दछ । भएन, भइरहेको छैन, हुनेवाला पनि छैन भन्ने रेडिमेड सोचको सिकार धेरै क्षेत्र भएको पाइन्छ । यसले छोटो समय मानिसको ध्यान त तान्ला तर समयलाई उचित निष्कर्षतिर डो¥याउँदैन । मैले देखेको चिनेको ‘समृद्ध समाज’ ले यस्तो भूमिका निर्वाह गरेको छैन । बरु कुनै सम्भावित क्षमतालाई प्रकट गर्न र अघि बढ्न सधैँ प्रेरणा दिएको पाएको छु ।
मकवानपुरमा नयाँ पुस्तालाई समेट्ने ‘नवसर्जक साहित्य चौतारी’ देखि बुढ्यौली पुस्ताका आवाज बोल्ने ‘बुढ्यौली साहित्य समाज’ सम्मका संस्थाहरू सक्रिय छन् । विधागत लेखनीलाई अघि बढाउने उद्देश्यले गजल र मुक्तकका कार्यक्रम मात्र सञ्चालन गर्ने गरी ‘गजल मञ्च मकवानपुर’, ‘लघुकथा चौतारी’ र ‘मुक्तक मञ्च’ समेत रहेका छन् । तत्कालीन पञ्चायती व्यवस्थामा रहेका समस्याहरू चिर्दै बहुदलीय प्रजातन्त्र स्थापनाका निम्ति संघर्षरत सर्जकहरुले स्थापना गरेको ‘साहित्य संगम मकवानपुर’, मकवानपुरको पूर्वी भेगमा क्रियाशील सर्जकहरूको संस्था ‘झरना साहित्यिक परिवार’, पश्चिमी भेगमा क्रियाशील ‘पालुङ साहित्य परिषद्’, मकवानपुरको साहित्य संगीत र संस्कृतिमा अग्लो धरहराको रुपमा स्थापित भीम बिरागलाई सम्झिने ‘भीम बिराग संगीत साहित्य कला प्रतिष्ठान’, समग्र नारीहरूको एक मात्र संस्था ‘आँचल साहित्य कला पुञ्ज’, राष्ट्रका विभिन्न भेगमा रहनुभएका साहित्यकारहरूको योगदानलाई कदर गरेर पुरस्कार तथा सम्मानहरू प्रदान गर्ने ‘मातृभूमि साहित्य समाज’ आआफ्नो हिसाबले सक्रिय छन् । यिनका गतिविधिलाई पत्रिका प्रकाशनको सुरुवातीदेखि नै उत्तिकै महत्वका साथ प्रकाशन र प्रसारण गर्ने ‘समृद्ध समाज’ समग्र साहित्यिक सर्जकहरूको मनको कुनामा प्रिय बनेर रहेको अनुभूति हुन्छ ।
सबैले आफ्नो यत्नमा सवलीकरण गर्ने प्रयत्न गर्नु ऊ थप असल र सफल हुने संकेत हो । समृद्ध समाज यही यात्रामा रहेको मैले महसुस गर्छु । सही प्रयत्नको स्थापना, त्यसको निरन्तरताले भोलिको सही गन्तव्य निर्धारण गर्दछ । यही यात्रामा रहेको समृद्ध समाजलाई १५औं वार्षिकोत्सवको अवसरमा मेरो आफ्नो तर्फबाट हार्दिक शुभकामना ।
(खनाल विचारको उल्टो नदी र सपनाका अवयव दुई कविता कृतिका सर्जक र श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विज्ञान विषयका शिक्षक हुनुहुन्छ । )