समृद्ध समाज राष्ट्रिय दैनिक प्रकाशनको १५ वर्ष पूरा भएर आजबाट १६ औं वर्षमा प्रवेश गरेको छ । १५ दिनअघि जस्तो लाग्छ समृद्ध समाज प्रकाशन आरम्भ भएको तर, कति छिट्टै १५ वर्ष पूरा भइसके छ । गणतन्त्र स्थापनाको उत्साहमा हामीले दैनिक समाचारपत्र प्रकाशन गरेका थियौं । सहरोन्मुख हेटौँडामा दैनिक समाचारपत्र प्रकाशनको योजना बनाउनु सामान्य विषय थिएन । गणतन्त्र स्थापनापछि जिल्लामा व्यावसायिक पत्रकारिताको अभ्यास गर्नु र जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमको प्रतिस्पर्धी समाचारपत्रको रुपमा स्थापित हुने लक्ष्यसहित समृद्ध समाज राष्ट्रिय दैनिक प्रकाशनको परिकल्पना गरिएको थियो । १५ वर्षको अनुभवबाट हामीले धेरै कुरा सिकेका छौं, बुझेका छौं ।
यतिबेला नेपालमा लोकतान्त्रिक गणतन्त्रको चरम दुरुपयोग भइरहेको छ । जसको असर सञ्चार माध्यममा पनि स्पष्ट देख्न सकिन्छ । लोकतान्त्रिक गणतन्त्रमा सत्तारुढ, प्रतिपक्षी दल र सरकारको सघन निगरानी गर्दै सचेत गराउनुपर्ने सञ्चारकर्मी नै सत्तारुढ दलको नजिक रहँदै सरकारको सञ्चार सल्लाहकार, सञ्चार संयोजकको जागिर खान प्रेरित देखिनु चिन्ताको विषय हो । आर्थिक लाभको लोभमा पत्रकारिताको सशक्त भूमिकालाई भुत्ते बनाइदिएको छ । हिजो पत्रकारलाई प्रलोभन देखायो भन्दा समाचार बन्ने अवस्था थियो भने आज पत्रकार आफैं लोभको सुगन्ध छर्दै सरकार र समाजका हरेक क्षेत्रमा सक्रिय छ ।
पत्रकार भन्ने सुन्दै तर्सने बद्मास समाज आज पत्रकारलाई नगद, जिन्सी जे अनुकुल हुन्छ त्यसैमा सम्झौता गरिरहेको छ । कोभिड–१९ को महामारी यता समाजको हरेक क्षेत्र असाध्यै कमजोर बन्दै गएको छ । मूलतः देश छाड्ने नागरिकको यकिन संख्या निकाल्न सकिने अवस्था छैन । मुलुकमा चरम संकट छ । चरम संकटलाई बुझ्ने र व्यवस्थापन गर्नेतर्फ जिम्मेवार तहमा बसेकाहरु चाहँदै चाहँदैनन्, अर्कोतिर चाहेर पनि उनीहरु अहिलेको मुलुक र समाजको संकटलाई व्यवस्थापन गर्ने क्षमता तिनमा छैन ।
हामी समृद्ध समाज राष्ट्रिय दैनिकमार्फत समाजको चरित्र, प्रवृत्ति र परिस्थितिलाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रयास गरिरहेका छौं । आज यो समाजमा यथार्थ प्रस्तुत गर्ने हामी मात्रै एक्लै भयौं कि भनेर पनि बेला बेलामा समीक्षा गर्ने गरेका छौं । तर, अन्तिम समयसम्म पनि आफ्नो धर्म छाड्नुहुन्न भन्नेमा हामी विश्वस्त छौं । यतिबेला सिंगो समाज वर्तमान चरम बेथिति देखेर दिक्दार भएका छन् । अब केही समयमै समाजमा हरेकले सत्य बोल्नुको विकल्प देख्ने छैनन् । व्यक्तिगत र सीमित वर्गको स्वार्थले आम नागरिकविरुद्ध भइरहेका गलत क्रियाकलापविरुद्ध सशक्त प्रतिवाद छिट्टै हुनेछ । यस्तो परिस्थितिले जिम्मेवार, चरित्रवान र सक्षमलाई जिम्मेवारीमा पु¥याउनेछ । यही विश्वासका साथ आजको यत्तिको संकटको समयमा पनि हामी हाम्रो धर्मलाई मनन् गर्न दृढ छौं । हामी आम नागरिकबाट दल, बल या यस्तै केही बहानामा सत्यको पक्षमा उभिन र समाजलाई सचेत गराउन हामी पछि हट्दैनौं ।
जिम्मेवार पत्रकारिताको अभ्यासका लागि हामीलाई घच्घच्याउने वर्गप्रति निरन्तर आभारी रहनेछौं । हामीलाई पढेर बुझ्नुहुने, हामीलाई अझ सशक्त हुन प्रेरित गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि तपाइँको साथ, सहयोग र स्नेह हाम्रा लागि पृष्ठपोषक हुनेछ ।