विद्यार्थीलाई आय र अनुभवसँग जोड्ने विषयमा छलफलमा सहभागी ।

हेटौँडाः वाणिज्य संकायमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई आय र अनुभवसँग जोड्ने गरी मकवानपुर बहुमुखी क्याम्पसले जिल्लामा रहेका सहकारीमा प्रशिक्षार्थीको रुपमा परिचालन गर्ने भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघसँगको सहकार्यमा मकवानपुर बहुमुखी क्याम्पसले विद्यार्थीलाई आय र अनुभवसँग जोड्ने तयारी गरेको हो ।

मंगलबार जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, सचिव वीरेन्द्रप्रसाद ढुंगाना, सदस्य जानकी चौधरी र व्यवस्थापक सुमित्रा वाईबा सम्मिलित समूहसँग क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल, सहायक क्याम्पस प्रमुखहरु संगम चौलागाई, दिनेश विडारी, उत्तम अर्याल र प्राचार्य सन्देश विडारी, सहायक प्राध्यापक सुरेश श्रेष्ठ, पुस्तकालयका प्रमुख मोहनप्रसाद ढकाल सम्मिलित समूहले छलफल गरेको छ । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसमै भएको प्रारम्भिक चरणको छलफलमा संघ र क्याम्पसले सहकार्य गरेर विद्यार्थीलाई सिक्दै कमाउने अवसर सिर्जना गर्न दुबै पक्ष सहमत भएको हो । प्रशिक्षार्थीको रुपमा काम गर्दै गर्दा विद्यार्थीले निश्चित पारिश्रमिक समेत प्राप्त गर्ने गरी परिचालन गर्ने सहमति भएको छ ।

छलफलमा सहभागी जिल्ला बचत संघका पदाधिकारीहरु ।

सहकार्यसम्बन्धी सम्झौता नै गरेर अगाडि बढ्ने सहमति भएको छ । स्नातक तह अध्ययनरत विद्यार्थीलाई सिकाई हुने र अध्ययनसँगै केही आम्दानी पनि हुने अवसर सिर्जना गर्दै गर्दा विद्यार्थीलाई देशमै बसेर काम गर्न सकिने वातावरण बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले समुदायमा रहेका सामुदायिक, निजी संघ, संस्थासँगको सहकार्यमा विद्यार्थीलाई आयआर्जन र व्यवहारिक शिक्षा प्रदान गर्न क्याम्पसले अन्य निकायसँग पनि सहकार्य गर्ने बताउनुभयो ।

क्याम्पसले आफ्नै प्रशासिन एवम् शैक्षिक क्रियाकलापमा समेत कर्मचारीको अनिवार्य अवकासपछि रिक्त रहेको स्थानमा विद्यार्थीलाई प्रशिक्षार्थीको रुपमा परिचालन गरेर गुणात्मक काम लिनुका साथै आर्थिक भार पनि कम गर्दै लगेको जानकारी दिनुभयो । सहकारीको क्षेत्रमा आवश्यक अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी परिचालन गर्न सकिने उहाँको भनाइ थियो । क्याम्पसले विद्यार्थीलाई शिक्षासँगै रोजगारीको अवसर समेत सिर्जना गर्ने गरी सरोकारवालासँग औपचारिकरुपमै सहकार्य गरेर अगाडि बढ्ने क्रममा अन्य निकायसँग पनि आवश्यक सहकार्य गर्ने क्याम्पस प्रमुख सिलवालले बताउनुभएको छ ।

यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले क्याम्पससँग औपचारिक सम्झौता नै गरेर सहकार्य गर्ने बताउनुभयो । संघका सचिव वीरेन्द्र ढुंगानाले दक्ष जनशक्ति तयार पार्न पनि क्याम्पस र संघबीचको सहकार्य उपलब्धीमूलक हुने अपेक्षा व्यक्त गर्नुभएको छ । सहकारीमा विद्यार्थीलाई परिचालन गर्नुअघि एक साताको प्रारम्भिक प्रशिक्षण प्रदान गरिनेछ ।