चुडाराज उप्रेती ।

२०६४ सालतिरको कुरो हो, २०६२÷०६३ को १९ दिने जनआन्दोलन पश्चात पहिलो संविधान सभाको निर्वाचनमा देश पुरै तातेको अवस्था थियोे । भर्खरै दिल्लीको १२ बुँदे सम्झौता, तत्पश्चातको तेस्रो जनआन्दोलन, प्रतिनिधि सभाको पुनर्गठन र अन्तरिम संविधान जारी इत्यादी विशेष मोडपछिको निर्वाचनको माहौल थियो । एकथरी बन्दुकको नालबाट सत्ताप्रति हुन्छ भन्ने विचारधारा बोकेका माओवादी, संसदीय अभ्यासमा विश्वास राखी अभ्यासरत नेकपा एमाले र प्रजातान्त्रिक समाजवादकोे वैचारिक धारको कांग्रेस मुख्यतः चुनावमा रस्साकस्सीमा थिए । माओवादी विचारधाराका पार्टी नेकपा माओवादीको जनसेना पूर्णतः बाहिरै थिए वा भनौं सेना सहितको पार्टी माओवादी चुनावमा थियो । राप र ताप माओवादी पार्टीमा थियो भने अन्य पार्टीका उम्मेद्वार निर्धक्क भोट माग्न सुगम जिल्लाकै सबै भागमा पुग्न समेत अवरोध थियो । ठाउँ–ठाउँमा नेकपा माओवादी पार्टीले कार्यकर्ता बन्धक बनाएका, आम सभा बिथोलेका, सभामा जान आम सर्वसाधारण कार्यकर्ता नेतृत्वलाई अवरोध गरेका घटना सञ्चार माध्यममा आउँदै गर्दा एक चुनावी आमसभालाई सम्बोधन गर्न प्रदीप गिरी हेटौंडा आईपुगेका थिए ।

म राजनीतिशास्त्रमा भर्खरै स्नातकोत्तरको बिट मार्ने तरखरमा थिएँ । प्रदीप गिरीका कम्युन सामाजिक वितरण प्रणाली र उन्नत समाज, प्रजातान्त्रिक समाजवाद इत्यादीका केही लामा छोटा लेखहरु छापामा आइरहन्थे । टिभिका केही अन्तरवार्तामा प्रश्नकर्ताको प्रश्नको जवाफ यति गहिरो र सान्दर्भिक विश्लेषणसहित प्रष्ट उत्तर दिने समाकालिन नेतृत्वमा मलाई अब्वल लाग्दथ्यो । त्यति बेलाकै समयमा प्रकाशक ‘मित्रसेन दाहाल’ भएर प्रदीप गिरीको केही छापामा आएका लेखहरुको संग्रह म अध्ययन गरिरहेथेँ । तत्कालीन नेपाली कांग्रेस मकवानपुरका सभापति तथा उम्मेद्वार माईकल रामचन्द्र अर्याल दाजुले मलाई प्रदीप गिरीको बसकोे व्यवस्था मिलाउन खटाउनु भएको थियो । मनमा थियो प्रदीप गिरी एक केन्द्रिय तहका नेता त्यसमाथि पनि समाजवादको व्याख्याता तथा वौद्धिक । प्रायः कुर्ता पाईजामा लगाउने आकर्षक व्यक्तित्व । चुनावकै समयमा केही दिनहरु उहाँसँग बिताउन पाइयो ।

उहाँको स्वभाव के थाहा भयो भने रात्रीकालिन समयमा १२ वा १, २ बजे विहानीसम्म अध्ययन गर्ने र त्यसपछि ९, १० बजे विहानसम्म सुत्ने । आफ्नै समयमा आफू अनुकुल ढाल्ने । २ दिनको चुनावी कार्यक्रमका लागि आउँदा समेत पढ्न केही किताबहरु ल्याउनु भएको थियो जसको व्यवस्थापन धनुषाका युवा नेता राम पल्टन साहले गर्नुभएको थियो । यही दुई दिनकै चिनजान विस्तारै यति घनिष्ट तथा आत्मिय भयो कि उहाँको घरपरिवारकै एक सदस्य जस्तो भई उहाँबाट संचालित ‘स्वराज आश्रम’कै सदस्य समेत कालान्तरमा भईयो । काठमाडौंको भिमसेन गोला नजिकै ‘छक्कु बख्खु’ विद्यालय नजिकै डेरा थियो प्रदीप गिरीको । एक पुरानो तर फराकिलो कम्पाउन्ड भएको घरमा प्रदीप गिरीको माथिल्लो तलामा ३ कोठा र तल्लो तलामा ३ कोठा थियो । तल्लो तलाको एक कोठाभरी किताबै किताबको चाङ थियो । बसाई सायद व्यवस्थित कहिल्यै थिएन जस्तो । प्रायः भिडभाड नै भईराख्ने र तल्लो तलामा एक कोठा अध्ययन अनुसन्धानका लागि तथा उहाँको लेख रचनाका लागि छुट्याइएको थियो । नयाँ जनजागरण भन्ने पत्रिकाको कार्य त्यहीँ हुन्थ्यो । सम्पादक थिए गोपाल दाहाल । केही समय पत्रिकाको समाचार लेख्नका लागि मैले पनि कार्य गरेको छु । यो विषय यहाँ जोड्नुको मतलब प्रदीप गिरी एउटा छापाको माध्यमबाट नियमित रुपमा आम जनमानसमा प्रजातान्त्रिक समाजवादको संवाद गर्न चाहन्थे जस्तो लाग्दछ । प्रदीप गिरीकहा“ कांग्रेसका नेतृत्व तहका देखि सामान्य कार्यकर्ता इत्यादिको त आउने जाने क्रम सामान्य नै भईहाल्योे । तथापि तत्कालिन नेकपा माओवादी, नेकपा एमालेलगायतका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु लामो समय गफिन या अन्य केही प्रायः आइरहेका देखिन्थे ।

प्रदीप गिरीसँग प्रायः कुराकानी हुँदा मैले के पाएँ भने उहाँ जनजिविकाको तल्लो तहदेखि पुँजीवादी चरित्रको हावी र अनियन्त्रित बजारीकरण, दलाल पुँजीवाद इत्यादिको मिहिन सूचना राख्नुहुन्थ्यो । प्रत्येक युवा कांग्रेसीले आफ्नो समाज समुदायमा गर्न सकिने जनचेतनाको काम, स्थानीय पुँजी परिचालन, स्थानीय सीप कला–कौशलको संरक्षण इत्यादिमा प्रत्यक्ष संलग्न रही नेतृत्व लिनु पर्दछ भन्ने कुरा उहाँ गर्नुहुन्थ्योे । कार्यकर्तालाई कुनै न कुनै कार्यमा व्यस्त बनाउने, पुस्तक पर्चा नियमित प्रकाशन गर्न लगाउने, स्थानीय समस्या समुदायमै छलफल गराएर निकास निकाल्ने, संविधानको मौलिक हक, अधिकार सुसूचित गराउने, पार्टीका सिद्धान्त तथा पद्दतीको छलफल चलाउने इत्यादि विषयमा जोड दिनुहुन्थ्यो । केही पछि उहाँ नजिकै एउटा घर किनेर सर्नु भएको थियो तर रोगसँगको लडाईमा त्यो घर बिक्री गर्नु परेको र खर्चको व्यवस्था गर्नुपरेको थियो । सिराहाको लाहान बजारबाट केही मिनेटको यात्रापछि वस्तिपुर गाउँ पुगिन्छ । यस्तै ४÷५ किलोमिटरको दुरी होला लाहान बजारबाट उत्तरतर्फ । वस्तिपुर मिश्रित समुदाय रहेर बसेको, पहाडभन्दा केही नजिकैको बस्ती, यो बस्तीमा ‘ईश्वर बराल’लगायत नाम चलेका विद्वानहरुको गाउँ ।

२००२ सालमा जन्मेर माध्यमिक शिक्षा त्यही गाउँमै समाप्त भएको थियो । गाउँको पूर्वपट्टी पुख्र्याैली जमिनमा प्रदीप गिरीको ‘कम्युन’ प्रकारको आश्रम थियो । यही आश्रममा अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवा, स्व. कृष्णप्रसाद भट्टराईलगायत भारतका उच्च तहका नेताको केही दिनहरु बितेका छन् । आश्रममा दलित स–साना विद्यार्थीहरु आश्रित छन् । लगभग ५०÷६० जना जति । आश्रमकै खेतबारीको अन्नबाली, आश्रममै गाईर्भैंसी गोठ, फलफूल बगैंचा, माछा पोखरी, केरा खेतीबाट भरथेग आर्थिक उपार्जन भई खर्च चलेको छ । आँप बगैंचा अहिले वनभोजस्थल बनेको छ । खुट्टी खोलाको छेउ आश्रम रमणीय त छ तर प्रदीप गिरीको अबको संरक्षण बिना के हुने हो त्यो हेर्न बाँकी नै छ । एउटा कुरा अध्ययन गर्ने, आश्रमको नियमित कार्यमा सघाउने वा श्रम गर्ने, जो कोही आश्रममा आश्रित हुन सक्ने व्यवस्था छ । अब प्रदीप गिरीको त्यो ओजस्वी स्वर र शरीर अब हामी समु नभए पनि चिन्तनको रुपमा सँधै रहनुहुनेछ ।