हेटौँडाः बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रकाशन भइरहेको समृद्ध समाज राष्ट्रिय दैनिकको १५ औं वार्षिकोत्सवको अवसरमा आमन्त्रित सबै अतिथिलाई उपहारस्वरुप पुस्तक प्रदान गरिएको छ । पठन संस्कृतिको विकास गर्न समाचारपत्रको वार्षिकोत्सवको अवसरमा ४ वर्षदेखि यस्तो अभ्यास गर्दै आएको छ । छापा माध्यमको रुपमा समाचारपत्र पढ्नुपर्ने र सामान्य जीवनमा पनि पठन अभ्यास जरुरी रहेकाले वार्षिकोत्सवको अवसरमा आमन्त्रित सबै अतिथिलाई उपहारस्वरुप पुस्तक प्रदान गरिएको सम्पादक सुरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।
शनिबार समृद्ध समाजको १५औं वार्षिकोत्सवको अवसरमा होटल एभोकाडो एण्ड अर्किट रिसोर्टमा आयोजित समारोहमा उपस्थित करिब २ सय जनालाई पुस्तक उपहार दिइएको छ । अनौपचारिकरुपमा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिको रुपमा आसन ग्रहण र भाषणको कार्य भएन । कार्यक्रममा सहभागीले नै एक–आपसमा पुस्तक आदान–प्रदान गरेका थिए । २०७८ सालमा हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा समृद्ध समाज राष्ट्रिय दैनिकले आमन्त्रित अतिथिलाई पुस्तक वितरण गरेको थियो । २०७९ सालमा समृद्ध समाज राष्ट्रिय दैनिक आफैंले पुस्तक वितरण गरेको थियो । गत वर्ष आमन्त्रित सबैलाई पुस्तक उपलब्ध गराउन आग्रह गरेर प्राप्त पुस्तकमा थप पुस्तक समावेश गरी हेटौँडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको थियो ।
यस बर्ष भने उपहारस्वरुप पुस्तक हस्तान्तरणका लागि समृद्ध समाजले हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलसँग सहकार्य गरेको थियो । पठन संस्कृतिको विकासमा विद्यालय तहमै रचनात्मक कार्य गर्दै आएको बालजागृतिसँग सहकार्य गरिएको सम्पादक श्रेष्ठले बताउनुभयो । विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले भने समाचारपत्रले रचनात्मक काम गर्न लागेको सुनेर खुसी हुँदै सहकार्यका लागि सहमत भएको बताउनुभयो । बालजागृतिले विद्यालय तहमा बालबालिकाको पठन संस्कृतिको विकासमा सक्दो प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै प्रिन्सीपल सुवेदीले भन्नुभयो, “विद्यार्थीले मात्रै नभई अभिभावक, व्यवसायी, उद्यमी, मजदुर, समाजका हरेक सदस्यले पढ्नुपर्ने भएकोले समृद्ध समाज राष्ट्रिय दैनिकको प्रयासमा हामी पनि साथै रहेको जनाउन सहकार्य गरिएको हो ।” समृद्ध समाजले विभिन्न विधा, विषय र शीर्षकका पुस्तक उपलब्ध गराएको थियो ।