हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको जेसीआई मकवानपुरढीले दोस्रो संस्करणको चैनपूर जेसीज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार मनहरी गाउँपालिका वडा नम्बर–४ स्थित गोलघर खेलमैदानमा भएको फाइनल खेलमा हेटौँडा–१९, वस्तीपुरस्थित एफसी परेलीलाई १–० गोलअन्तरले हराउँदै जेसीआई मकवानपुरगढीले उपाधि हात पारेको हो ।

उपाधिसँगै जेसीआई मकवानपुरगढीले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एफसी परेलीले ५१ हजार एक सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । जेसीआई मकवानपुरगढीको जीतमा गणेश हमालले दोस्रो हाफको २५ औं मिनेटमा निर्णायक गोल गरे ।

मनहरी गाउँपालिकाको सहयोग तथा ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । शुक्रबार भएको सेमीफाइनल खेलमा एफसी नमोबुद्धलाई २–१ गोलअन्तरले हराउँदै जेसीआई मकवानपुरगढीले फाइनलमा यात्रा तय गरेको थियो भने शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा मनहरी–५ लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै एफसी परेलीले फाइनलको यात्रा तय गरेको थियो ।

चैनपूर जेसीजका अध्यक्ष रवीन ढकालको सभाध्यक्षमा तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो । पुरस्कार वितरण समारोहमा विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारी र चैनपूर जेसीजका निवर्तमान अध्यक्ष गणेश दर्पण अधिकारीको पनि उपस्थिति रहेको थियो । गत वर्ष भएको पहिलो संस्करणको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको थियो ।