हेटौंडाः राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मकवानपुर तृतीय भएको छ । लामजुङ जिल्लाको आयोजनामा भोर्लेटारमा भएको प्रथम संस्करणको मेयर कप राष्ट्रिय तेक्वान्दोमा मकवानपुर तृतीय भएको हो ।
प्रतियोगितामा सहभागी भएका मकवानपुरका इच्छा वशिष्ठले दुई वटा स्वर्ण, आरुषी पराजुली र आरुष थापाले १÷१ स्वर्ण र काँस्य, आदित्या ढकाल, प्रिन्सप ढकाल र सौगात डिम्बुङले १÷१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । श्रियान्सी पोखरेलले, समृद्ध भण्डारी, प्रतीक तिमल्सिना, आर्यन चौधरी, सागर डिमडुङ, ईच्छा बिष्ट, जिदान बानियाँ, आशिष घिसिङ र निकूस त्रिपाठीले रजत पदक प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकाको टिमले उपाधि जित्दा रुपन्देही जिल्ला उपविजेता बन्न सफल भएको थियो भने चन्द्रगिरीको टिम चौथोस्थानमा सीमित भएको थियो । ४ सय ३६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष खड्ग बहादुर गुरुङ, सचिव तेज कँुवर मुख्य सहयोग रहेको थियो ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रीय सचिव सुवास तामाङ, संजयलाल श्रेष्ठ, केन्द्रीय सदस्य नारायण सिंह थिङको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशबाट सचिव भोजराज पराजुलीको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा सहभागीका लागि हेटौडा उपमहानगरपालिकाले करिब ५० हजार रुपैयाँको बजेट सहयोग गरेको छ ।