हेटौँडाः प्रदेश लोकसेवा आयोगको गरिमा बढाउन, आयोगलाई प्रभावकारी बनाउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले बताउनुभएको छ । आइतबार हेटौँडामा बागमती प्रदेश लोकसेवा आयोगको पाँचौं वार्षिकोत्सव समारोहलाई सम्बाधेन गर्नुहुँदै मुख्यमन्त्री तामाङ्ले आयोगको काम, कारवाहीमा सरकारको तर्फबाट कुनै किसिमको हस्तक्षेप र दवाव नरहने स्पष्ट पार्नुहुँदै आयोगलाई सवल र सक्षम बनाउन आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताउनुभयो ।
मुख्यमन्त्रीअघि बोल्नुभएका सभामुख भुवनकुमार पाठकले कर्मचारी छनोट र नियुक्तिसँगै सरुवाको अधिकार पनि आयोगलाई दिनुपर्ने प्रस्तावको समर्थन गर्नुहुँदै आयोगको विश्वसनीयतालाई स्वीकार गर्दै सरुवाको अधिकार पनि आयोगलाई दिने गरी काम गर्न आफू तयार रहेको बताउनुभयो । नयाँ ढंगले काम गर्न आफू तयार रहेको र त्यसका लागि आवश्यक कानुन निर्माणमा जान सकिने मुख्यमन्त्री तामाङको भनाइ थियो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले मुलुकको विकासका लागि कर्मचारीतन्त्र बलियो हुनुपर्ने बताउनुभयो । यतिबेला दक्ष युवा जनशक्ति विदेश पलायन भइरहनु मुलुककोे दुर्भाग्य भएको उल्लेख गर्नुहुँदै सभामुख पाठकले स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रमा नयाँ पुस्ताको आकर्षण नहुनु चिन्ताको विषय भएको बताउनुभयो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा आयोगको गरिमा उच्च बनाउन आवश्यक रहेको औँल्याउनुभयो । स्थानीय तहले आफूले नियुक्त गरेका कर्मचारी विस्थापित हुने, स्थायी कर्मचारी नियुक्त हुँदा व्ययभार बढ्ने डरले प्रदेश लोकसेवा आयोगमार्फत स्थायी दक्ष र योग्य कर्मचारी नियुक्तिको प्रक्रियालाई प्राथमिकतामा नराखेको उहाँले उल्लेख गर्नुभयो ।
आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षता तथा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो । एक महिनाअघि मात्रै आयोगको अध्यक्ष नियुक्त हुनुभएका महेश्वर श्रेष्ठले आयोगको गरिमा उच्च राख्न आफू नेतृत्वको आयोगले जिम्मेवार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख अपसरा चापागाई, मन्त्रीहरु, प्रमुख सचिव डा. हरिप्रसाद लम्साललगायत प्रदेश सरकारका मातहतका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो । वार्षिकोत्सवको अवसरमा आयोगका अधिकृत ईश्वर श्रेष्ठलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।