‘टुप्पो तल्तिर जरा मास्तिर’ संस्मरण तथा नियात्रा सङ्ग्रह वि.सं. २०३० सालमा जन्मिएकी संस्मरणकार अप्सरा पुडासैनीको दोस्रो कृति हो । उनको पहिलो ‘कुकुर बेचेर कोसेली’ हो । उनको पहिलो कृतिले उनलाई एक सशक्त संस्मरणकारको रुपमा चिनाएको छ ।
‘टुप्पो तल्तिर जरा मास्तिर’ पुस्तकमा ‘दोस्रो न्वारान’, ‘टुप्पो तल्तिर जरा मास्तिर’, ‘मामाको ऋण’, ‘कुकुर अम्बाबोट’, ‘अब बाँचिँदैन, मिठो खाओ’, ‘कोसेली बोकेर काठमान्डू’, ‘बदलिएका मान्छेसँग केही दिन’, ‘आफन्तपन र तीतोमीठो अनुभूति’, ‘द सहाराले दिएको परिचय’, ‘त्यो दर्दनाक दृश्य’, ‘गुफैगुफाको मन्दिरमा’, ‘सङ्ग्रौलासँग केही छिन’, ‘कुम्भमेलामा हामी पनि’, ‘हार्दिक श्रद्धाञ्जली अप्सरा’, ‘भानुभक्तलाई सम्झँदै भानुभक्तहरू’, ‘रारामा दुःख बिसाउँदा’, ‘आफू भलो त जगत् भलो’ गरी जम्मा १७ वटा संस्मरण तथा नियात्राहरू रहेका छन् ।
यस कृतिको पहिलो संस्मरण ‘दोस्रो न्वारान’ मा संस्मरणकारले आफ्नो बाल्यकालमा आमा बित्नुभएको पीडा, संस्मरणकारलाई निकै अनौठो तरिकाले फुल्याएको, त्यसैगरी आमा सरह नै माइजू बित्दाको पीडा, पहिलो पटक रिक्सा चढ्दाको अनुभव, दोस्रो न्वारानबारे कौतोहल आदि यस संस्मरणमा समावेश गरिएको छ ।
दोस्रो संस्मरण ‘टुप्पो तल्तिर, जरा मास्तिर’मा भने संस्मरणकारले आफूले भनेको कुरा नपाउँदा गरेको बिज्याइँलाई स्पष्ट पारिएको छ । यो संस्मरण निकै रोमाञ्चक रहेको छ ।
‘मामाको ऋण’ यस पुस्तकको तेस्रो संस्मरण हो । यस संस्मरणमा संस्मरणकारका मामाले उनका लागि गरेका अविस्मरणीय कार्यहरू दर्साइएको छ । साथै यस संस्मरणबाट छोरीलाई शिक्षा दिनुपर्छ, बालविवाह गराउनुहुँदैन भन्ने किसिमको सन्देश पनि प्राप्त गर्न सकिन्छ । ‘कुकुर अम्बाबोट’ यस पुस्तकको चौथो संस्मरण हो । यस संस्मरणमा दाजुबहिनीको झगडा, अम्बाको बोट भाग लगाएको कुरा, अम्बाको बोटको नामाकरण आदि कुराहरू रहेका छन् । यो संस्मरण पनि निकै रोमाञ्चक छ ।
त्यसैगरी पुस्तकको अर्को संस्मरण ‘अब बाँचिदैन, मिठो खाओ’ मा रोपाइँको बेलाको रमाइलो, संस्मरणकारको साइँलो मामा बिरामी भएको कुरा, बाढी पहिरो गइरहेको बेलामा माइजूको माया आदि कुराहरू रहेका छन् । त्यस कारणले गर्दा यो संस्मरण मार्मिक लाग्छ । ‘कोसेली बोकेर काठमान्डू’ यस कृतिको छैटौं संस्मरण तथा नियात्रा हो । यसमा संस्मरणकार पहिलो पटक काठमान्डू जाँदाको अनुभव, रात्रिबसमा संस्मरणकार र उनकी दिदीमाथि भएको दुव्र्यवहार, संस्मरणकार र उनकी दिदीले त्यसबाट बच्न खोजेका उपायहरू आदि समावेश गरिएको छ । यो संस्मरणबाट हामी सधैं सतर्क भएर बस्नुपर्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ ।
यस कृतिको सातौं संस्मरण ‘बदलिएका मान्छेसँग केही दिन’मा भूकम्प गइसकेपछिको काठमान्डूको परिवर्तित अवस्था, त्रिपाल छाएर बसेका निकै मानिसहरूसँग संस्मरणकारको भेटघाट आदि कुराहरू रहेका छन् । यसमा संस्मरणकारले त्यस बेला लेखेको एउटा छोटो मिठो कविता पनि रहेको छ । पहिलो कृति ‘कुकुर बेचेर कोसेली’ विमोचन गर्न लाग्दा इष्टमित्र, परिवारका सदस्यहरूबाट पाएको साथ सहयोग, दाइले जीवनभर नबिर्सने गरी लाउनुभएको तितो वचन र झरना साहित्यिक परिवारको आजीवन सदस्य बनेको प्रक्रिया आदि कुराहरू ‘आफन्तपन र तीतोमिठो अनुभूति’मा रहेका छन् । यसबाट हामीले कुनै पनि राम्रो कामको थालनी गर्दा यस कामको विरोधीभन्दा सहयोगी धेरै पाउन सकिन्छ भन्ने निकै ठूलो र महत्त्वपूर्ण शिक्षा प्राप्त गर्न सक्छौं ।
‘द सहाराले दिएको परिचय’ मा संस्मरणकारसँग रचना टाइप गर्न पैसा नहुँदा द सहारामा काम गरी अगि बढ्न पाएका कुराहरू रहेका छन् ।
सो कृतिको दसौं संस्मरण ‘त्यो दर्दनाक दृश्य’ मा बारा र पर्सामा गएको हावाहुरीका दर्दनाक घटनाहरू रहेका छन् । त्यो घटना घट्नुका कारणहरू पनि रहेका छन् । हामीले कुनै पनि कुराको सीमा नाघ्नु हुँदैन नत्र पाप धुरीबाट कराउँछ भन्ने सन्देश रहेको छ ।
‘गुफैगुफाको मन्दिर’ नियात्रा हो । यस नियात्रामा खोटाङको हलेसी महादेवको मन्दिरको यात्रामा जाँदाका अनुभवहरू समेटिएका छन् । नेपालका वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलासँग संस्मरणकारको भेट, उनलाई भेट्दाको खुसी आदि कुराहरू यस कृतिको ‘सङ्ग्रौलासँग केही दिन’ नामक संस्मरणमा रहेका छन् । साथै साहित्यकारहरूमा घमण्ड, रिसराग, सानो ठूलो भन्ने भावना केही हुँदैन, उनीहरू पानीजस्तै निर्मल हुन्छन् भन्ने सन्देश पनि यसले दिएको छ ।
नेपाल भारत साहित्यिक महोत्सव कुम्भमेलामा संस्मरणकार पनि सहभागी भएको र त्यहाँको त्यसबेलाको वातावरणका बारेमा ‘कुम्भमेलामा हामी पनि’ मा प्रस्तुत गरिएको छ । ‘हार्दिक श्रद्धाञ्जली अप्सरा’ मा साहित्यकार अप्सरा तिमल्सिनाको निधनको खबर सुन्दाको पीडा तथा अप्सरा तिमल्सिनासँग बिताएका पलहरूलाई सम्झिएकी छिन् र उनलाई हार्दिक श्रद्धाञ्जली दिएकी छिन् ।
त्यसैगरी ‘भानुभक्तलाई सम्झँदै भानुभक्तहरू’ मा संस्मरणकार गएका विभिन्न कार्यक्रममा के के भयो भन्ने कुराहरू रहेका छन् । ‘रारामा दुःख बिसाउँदा’ नियात्रामा झरना साहित्यिक परिवारसँग हेटौंडादेखि रारातालसम्म यात्रा गर्दाका घटनाहरू रहेका छन् । ‘आफू भलो त जगत् भलो’ नियात्रामा रारातालमा गरेको रमाइलो, यात्राको समयमा गाडीमा गरेको रमाइलो, राराबाट छुटेर सदरमुकाम खलङ्गा बजारभित्र जानु अगाडिको श्रीकृष्ण मन्दिर, बजारको बीच भागमा रहेको ठूलो चन्दननाथ मन्दिर, स्याउ खेती, त्यतातिरको वातावरण, सुर्खेतको बुलबुले ताल, काँक्रेविहार, देउती बज्यै आदि स्थानहरू घुमेको वर्णन गरिएको छ ।
‘टुप्पो तल्तिर जरा मास्तिर’ कृतिमा मलाई सबैभन्दा राम्रो लागेको कुरा संस्मरणकारले केही पनि कुरा लुकाएकी छैनन् । सम्पूर्ण कुराहरू पाठकमाझ प्रष्टसँग प्रस्तुत गरेकी छिन् । यो नै कृतिकार अप्सरा पुडासैनीको सवल पक्ष हो ।
(कक्षा–१०, चन्द्रोदय माध्यमिक विद्यालय, हेटौंडा–८, कमाने, बहादुरगन्ज)