आजबाट नेपालमा नयाँ वर्ष सुरु भएको छ । आज बैशाख १ गतेबाट विक्रम सम्बत् २०८२ सुरु भएको छ । २०८१ लाई विदा गर्दै २०८२ को स्वागत गर्दै देशभर विभिन्न भागमा उत्सव, महोत्सव, कार्यक्रम आयोजना गरेर खुशीयाली मनाइँदैछ । कुनै पनि देश, क्षेत्र, समुदाय, जाति आदिमा प्रचलनमा रहेको पात्रोको पहिलो दिन तथा वर्ष वा सालको आरम्भलाई नयाँ वर्ष भनिन्छ । नेपालमा धेरै सम्बत् मान्ने गरिए पनि सरकारी वा औपचारिक कामकाजमा विक्रम सम्बत्लाई मानिन्छ । प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित विक्रम सम्बत् इस्वी सम्बत्भन्दा ५७ वर्ष ८ महिना १५ दिन चाँडो छ । विक्रम सम्वत् पात्रोअनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ ।

नेपालमा वैधानिक र राष्ट्रिय सम्बत्का रुपमा रहेको विक्रम सम्बत् भारतमा पनि अनौपचारिक रुपमा प्रचलनमा छ । विक्रम सम्बत् नेपालीको राष्ट्रिय सम्बत् भएकाले विदेशमा बसेका नेपालीले पनि यसको पहिलो दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । प्रचलित सम्बत्हरु मध्ये वैज्ञानिक तथा सूर्यको गति र प्रकृतिमा आधारित सम्बत्को रुपमा विक्रम सम्बत्लाई स्वीकार गरिएको छ । संसारको शक्तिको प्रमुख स्रोत मानिएको सूर्यलाई धार्मिक आधारमा पनि उत्तिकै महत्व दिने गरिएको छ । सूर्य नै प्रकृति र समयको आधार पनि हो । यही सूर्यको गतिका आधारमा तयार गरिएको विक्रम सम्बत्को १२ महिना सूर्यको १२ वटा राशिमा भ्रमण गर्ने गर्दछ, जसको समय एक महिना नै हुन्छ ।

नेपालमा थुप्रै सम्बत् तथा नयाँ वर्ष मनाउने गरिएको छ । यहाँका नेवार, मगर, थारु, किराँत, तामाङ, शेर्पा, थकाली, गुरुङ, मुस्लिम, बौद्ध, क्रिस्चियन समुदायले फरक–फरक दिनलाई आफ्नो नयाँ वर्षको सुरुवातको रुपमा मनाउने गरेका छन् । विक्रम सम्बत्, इस्वी सम्बत्, नेपाल सम्बत्, माघे संक्रान्ति (माघी), किराँत येले सम्बत्, तमु ल्होछार, सोनाम ल्होछार, ग्याल्पो ल्होछार, हिजरी सम्बत्, वुद्ध पूर्णिमालाई नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । नेपालीहरुले आ–आफ्नो परम्परा र रितिरिवाज अनुसार विभिन्न दिनलाई नयाँ वर्षको सुरुवातको रुपमा मनाउने गरे पनि सरकारले सार्वजनिक विदा दिने औपचारिक नयाँ वर्ष बैशाख १ गते नै हो । नयाँ वर्षको सुरुवातलाई विशेष महत्वका साथ लिएर स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले हर्षोल्लासका साथ मनाउनु पर्छ ।

नयाँ वर्षको पहिलो दिनलाई धेरैले विषेश दिनको रुपमा लिने गर्दछन् । यस दिन बितेको वर्षभरि गरेको कामको मूल्यांकन गरी कमजोरीलाई दोहोरिन नदिने अठोट लिने गरिन्छ । गलत कामलाई त्यागेर असल र नयाँ कामको सुरुवात गर्ने संकल्पका साथै नयाँ योजना निर्माणको काम पनि नयाँ वर्षकै पहिलो दिनमा गरिन्छ । मीठा परिकार खाएर परिवारका सदस्य, आफन्त तथा साथीसँग भेटघाट गर्ने, घुमफिर गर्ने र एकापसमा शुभकामना व्यक्त गर्ने काम पनि आजकै दिनमा गरिन्छ । व्यक्तिगतरुपमा हरेकको सफलता तथा असफलता स्वयम् केलाउनुपर्छ । तर, आम नेपालीको हिसाबले देशको विकासका लागि सरकारले गरेको कामहरु २०८१ मा उल्लेख्य रहेनन् । यस वर्षमा सरकार परिवर्तन भयो तर, झण्डै दुई तिहाइ बहुमतको बलियो भनिएको सरकारले पनि देश र जनताको लागि ठोस योगदान दिन नसक्दा चरम निराशा छाएको छ । नयाँ वर्ष २०८२ मा नेपाल तथा नेपालीजनमा सुख, शान्ति र समृद्धि हासिल होस् । सरकार र राजनीतिक दलले आम नागरिकको हितअनुकूल काम गरुन्, नयाँ वर्ष सबैका लागि शुभ बनोस्, शुभकामना ।