हेटौँडा : हेटौँडामै बिक्री वितरण गर्ने उद्देश्यले ल्याइएको ठूलो परिमाणको लागूऔषध मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ९ः३० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले ५ हजार ७ सय ५० पत्ता लागूऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७, बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र सोही स्थानका वर्ष २३ को सुनिल पटेल रहेका छन् । बारा जिल्लाको सिम्रौनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा–१५, रातोमाटे चेकपोष्टमा रोकेर सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो ।
पासवान चालक हुन् भने पटेल सहचालक हुन् । उनीहरुमाथि शंका लागेर तलासी गर्दा गाडीको अगाडिको ईन्जिन भएको भागमा लुकाई ल्याएको अवस्थामा ट्रामाडोल ५ हजार ७५० थान (५७ हजार ५०० क्याप्सुल) बरामद भएको थियो । सो लागूऔषध ट्रामाडोलको बजार मूल्य प्रतिपत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ रुपैयाँ हुने प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक खड्काका अनुसार सो लागुऔषध ट्रामाडाल हेटौँडामै बिक्री वितरणका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ । घटनाको विषयमा प्रहरीले बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।