हेटौँडा : हेटौँडा–९ स्थित मानवसेवा आश्रमले अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयव्यय विवरण शनिबार सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरेर आयव्यय विवरण सार्वजनिक गर्ने क्रममा नगद एक करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ संकलन भएको जानकारी दिएको छ ।
हेटौँडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रममा चैत १७ गतेदेखि २४ गतेसम्म संचालन गरेको महायज्ञमा हेटौँडा उपमहानगरले डेढ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ताराप्रसाद लामिछानेले दुई करोड ८७ लाख ६२ हजार एक सय २३ रुपैयाँ विभिन्न सहयोगीदाताले सहयोग गरिने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । जसमा सरकारी निकाय, स्थानीय वडा र पालिकाबाट मात्रै २ करोड ३९ लाख ८७ हजार ३ सय ६६ रुपैयाँ प्रतिवद्धता व्यक्त भएको छ ।
संस्थागतरुपमा १८ लाख ५५ हजार ४ सय ७ रुपैयाँ, व्यक्तिगत रुपमा २९ लाख १९ हजार ५० रुपैयाँ सहयोगको प्रतिबद्धता जनाइएको कोषाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । यस्तै ३ लाख ३१ हजार ६ सय ६१ रुपैैयाँ बराबरको जिन्सी गरी ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैयाँ रकम उठेको उहाँले बताउनुभयो । महायज्ञमा ३२ लाख ३३ हजार १ सय ८४ रुपैयाँ खर्च भएको बताइएको छ । मानवसेवा आश्रमले १० करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्यसहित महायज्ञको आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ—२०८१ मूल अयोजक समितिका संयोजक बद्रीनाथ शर्मा, सचिव प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो । सन् २०८२ सम्ममा सहयोगापेक्षी सडकमानव मुक्त मुलुक घोषणा गर्ने उद्देश्यसहित मानवसेवा आश्रमले देशव्यापी उद्दार, पुनस्र्थापना र परिवारमा पुनर्मिलनको अभियान सञ्चालन गरिरहेको छ । हालसम्म आश्रमले एक हजार २ सय ६ जना पुरुष र ५ सय ९७ जना महिला गरेर एक हजार ८ सय ३ जनाको उद्दार गरेको छ । एक सय ६९ पुरुष, ६८ महिला र २८ बालबालिका गरी २ सय ३७ जना आश्रममा आश्रित छन् ।