१९ औं लोकतन्त्र दिवसको सन्दर्भमा गैरसरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेश समितिले बुधबार र बिहीबार दुइ दिन लोकतन्त्रको सवलीकरणमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया गरेको थियो । बुधबार लोकतन्त्रको सवलीकरणमा मिडियाको भूमिका विषयमा सम्पादकहरुसँग संवाद गरेको गैसस महासंघले बिहीबार नागरिक समाजका घटकहरुसँग लोकतन्त्रको सवलीकरणमा नागरिक समाजको भूमिका विषयमा अन्तरक्रियाको आयोजना गरेको थियो । सम्पादकसँगको संवादमा सम्पादकहरुको उपस्थिति न्यून थियो । समग्र सञ्चारकर्मी नै ५/७ जनाको उपस्थिति रहेको थियो । आयोजकतर्फ पनि न्यून उपस्थिति रहेको थियो । लोकतन्त्रको सवलीकरणमा मिडियाको भूमिका जस्तो संवेदनशील विषयमा न्यून संख्यामा सञ्चारकर्मी, सम्पादकको उपस्थिति पक्कै पनि अपेक्षित होइन । आयोजकको तर्फबाट पनि पर्याप्त तयारी नपुगेको हुन सक्छ ।
यस्तै बिहीबार लोकतन्त्रको सवलीकरणमा नागरिक समाजको भूमिका विषयमा पनि नागरिक समाजको सहभागिता र व्यक्त भएका सरोकारलाई हेर्ने हो भने नागरिक समाजको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था देखिएको छ । नागरिक समाज भनेको सिंगो समाजको प्रतिनिधि सचेत नागरिकको समूह हो । सचेत, जिम्मेवार, जवाफदेही सानो नागरिक समाजले सिंगो समाजलाई विधि, प्रक्रियामा रहन प्रेरित गर्न सक्नुपर्छ, राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन पहरेदारको भूमिका निर्वाह गर्न सक्नुपर्छ । १९औं लोकतन्त्र दिवसकै सन्दर्भमा पनि बागमती प्रदेश सरकार र प्रदेशको राजधानी रहेको स्थानीय सरकारदेखि राज्यका निकायले लोकतन्त्र दिवस मनाएको देखिएन । लोकतन्त्र दिवस मनाउने तयारी नभएको, कुनै किसिमको क्रियाकलाप नभएको विषयमा बुधबार र बिहीबार दुबै दिनको कार्यक्रममा सहभागीले चर्चा गरेका थिए । तर, राज्यका निकायले नै पछिल्लो महत्वपूर्ण राजनीतिक परिवर्तनको दिनलाई बिर्सनु या बेवास्ता गर्नु शोभनीय विषय होइन ।
बुधबार र बिहीबारको कार्यक्रमलाई हेर्दा नागरिक समाजको सक्रिय उपस्थितिका लागि गम्भीरताका साथ ध्यान दिनुपर्ने अवस्था जनाउँछ । नागरिक समाजले समाजको वस्तुस्थितिबारे जिम्मेवारीपूर्ण तरिकाबाट राज्य र सरोकारवालालाई ध्यानाकर्षण गराउने तर्फ ध्यान दिनुपर्ने देखिन्छ । अहिले जो जसले नागरिक समाजको भूमिकाको विषयमा चासो र सरोकार राखिरहेका छन् उनीहरुले नै थोरै मिहिनेत गरेर नागरिक समाजको मर्म कायम राख्दै त्यस्तो सानो वर्ग, समूहलाई स्थापित गर्दै आगामी दिनमा नागरिक समाजको सशक्त उपस्थितिका लागि निरन्तर मिहिनेत गर्नुपर्छ । नागरिक समाज मूलतः राजनीतिक स्वार्थ प्रेरित हुँदा, दातृ निकायको बजेट रहँदा मात्रै सीमित क्षेत्रमा क्रियाशील रहँदा आलोचित बनेको र आलोचनालाई सकारात्मक रुपमा लिई सुध्रन जाँगर नगर्नुको परिणाम आज नागरिक समाजको अस्तित्व नै संकटमा परेको हो । तर, एउटा जिम्मेवार जवाफदेही राज्यको परिकल्पनाका लागि सचेत र जागरुक नागरिक समाजको उपस्थिति जरुरी छ । त्यसका लागि अहिलेदेखि नै सुधारका योजनासहित सशक्त नागरिक समाज, पहरेदारी गर्न सक्ने नागरिक समाज निर्माणमा ध्यान दिनु आवश्यक छ ।