हेटौँडा : हेटौँडा–१० स्थित एक रेष्टुरेन्टमा बुधबार साँझ हेटौँडा–२, संगमचोकका २८ वर्षीय जेन खड्कीलाई कैँचीले पेटमा हान्ने हेटौँडा–२, सिद्धार्थपथका २७ वर्षीय उर्गेन लामालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ८ बजेर १५ मिनेटको समयमा हेटौँडा–१० स्थित जिरो किलोमिटर रेष्टुरेन्टमा उर्गेनले जेनलाई कैँची प्रहार गरेका हुन् ।

पुरानो रिसईबीका कारण उर्गेनले जेनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । उर्गेनलाई प्रहरीले बिहीबार बिहान ११ बजेको समयमा पक्राउ गरेको छ । परिवारका सदस्यले नै उर्गेनलाई प्रहरी सामु बुझाएका हुन् । उर्गेन र जेनबीच यसअघि पनि पटक–पटक झगडा भइरहेको बुझिएको प्रहरीले जनाएको छ । घाइते खड्कीलाई हेटौँडा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घाइते खड्कीको शल्यक्रिया गरी उपचार भइरहेको र खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ । उर्गेन विरुद्ध प्रहरीले ज्यान मुद्दामा कारवाही अगाडि बढाउने प्रवक्ता अर्यालले जानकारी दिनुभएको छ ।