२०७० सालबाट शिक्षा मन्त्रालयले देशको विभिन्न ५ वटा विद्यालयमा प्राविधिक शिक्षाको प्रारम्भ गरेको थियो । ५ वटा फरक–फरक प्राविधिक विषयहरु संचालन गर्ने अनुमति दिएर सुरु गरिएको यो प्राविधिक शिक्षा अहिलेको अवस्थामा आइपुग्दा देशभरका विभिन्न विद्यालय गरी २४० वटा विद्यालयमा संचालनमा रहेको छ । विद्यार्थीलाई उच्च शिक्षा अध्यापन गर्दाको अवस्थामा नै दक्ष जनशक्तिको रुपमा विकास गरी राष्ट्र सेवामा टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यक्रमलाई सुरुका अवस्थाहरुमा जनमानसले निकै रुचाएको पाइएको थियो भने अहिलेको अवस्थामा आइपुग्दा उक्त कार्यक्रममा तोकिएको सिट संख्या अनुरुप विद्यार्थी पाउन निकै मुस्किल भएको अवस्था छ ।
कक्षा ९ देखि कक्षा १२ सम्म ४ वर्ष र त्यस पश्चात ६ महिनाको ओजेटी गरी उक्त कोर्ष पूरा हुने गर्दछ । सामान्य धारका विषयसँगसँगै प्राविधिक धारका अन्य थप विषयहरुको अध्ययन गर्नुपर्ने गरी निर्माण गरिएको यो कोर्षमा विद्यार्थीहरुले पनि सामान्य धार भन्दा बढी मिहिनेत गरेर पढ्नु पर्ने र पढाइमा धेरै समय दिनुपर्ने नै हुन्छ । यसरी सामान्य धार भन्दा बढी समय र मिहिनेत खर्चिएर सब–इन्जिनियर (ओभरसियर) को रुपमा बजारमा आउने यी जनशक्तिहरुले आफ्नो कार्य कौशलता देखाउने उचित स्थान नपाएर बेरोजगार बस्नुपर्ने र सरकारीस्तरमा पनि यो जनशक्ति उत्पादन अनुरुपको रोजगारीमा उचित व्यवस्थापन हुन नसक्नुले भने यस शिक्षा प्रतिको अन्योलतालाई झल्काएको छ ।
समस्याहरु :
कुनै पनि विषयलाई संचालनमा ल्याउँदा त्यस विषयको अध्ययन पश्चात उक्त उत्पादित जनशक्तिलाई कहाँ प्रयोगमा ल्याउन सकिन्छ भन्ने बाटोहरु प्रसस्त खुलाएर कोर्ष संचालन सुरु गर्दा त्यस विषयले पूर्णता पाउँदछ । तर आवश्यकता भन्दा बढी उत्पादन भएपछि त्यस चीजको उचित व्यवस्थापन हुन सक्दैन र खेर जान्छ भनेझैं अहिलेको प्राविधिक शिक्षामा पनि धेरै वटा विद्यालयलाई प्राविधिक शिक्षाको सम्बन्धन दिनु र उत्पादन अनुरुपको कार्य कौशलता देखाउने ठाउँ दिन नसक्नु नै अहिलेको ठूलो बिडम्बना रहेको छ । यसका साथसाथै सिट संख्या पु¥याउनकै लागि उक्त कोर्ष अध्ययन गर्न सक्ने क्षमता नभएका विद्यार्थीहरुलाई पनि उक्त कोर्षमा भर्ना लिने प्रचलनले गर्दा एसईई र १२ कक्षाको परीक्षामा प्राविधिक धारतर्फको नतिजाहरु खस्कँदो पाइएको छ ।
यो सँगसँगै अर्को बिकराल समस्याको रुपमा देखा परेको परिस्थिति भने प्राविधिक धारमा अध्यापन गराउने प्राविधिक शिक्षकहरुको रहेको छ । २०७० साल देखि सुरु गरिएको उक्त कोर्षमा हालसम्म शिक्षा मन्त्रालयद्वारा प्राविधिक शिक्षकहरुको स्थायी दरबन्दी सिर्जना गर्नका लागि प्रस्ट प्रक्रिया अगाडि बढाएको पाइँदैन । न त मन्त्रालयले स्थायी नियुक्तिका लागि प्राविधिक शिक्षकहरुको माग राखी शिक्षक सेवा आयोगको माग फारममा पठाउने गरेको छ । यसैगरी न त यो समस्यालाई नेपाल इन्जिनियरिङ काउन्सिल, नेपाल इन्जिनियरिङ एसोसिएसन, प्राविधिक शिक्षक संघले पनि प्रभावकारी ढंगले उठान गरेको पाइँदैन । यसरी हरेक क्षेत्रको गैरजिम्मेवार प्रवृत्तिले गर्दा प्राविधिक शिक्षकहरु लामो समयसम्म अध्यापनमा नरहनु र अध्यापन कार्यलाई अन्य कुनै सुरक्षित र स्थायी रोजगारमा नपुगुन्जेलसम्मका लागि मात्रै अडिने आधार बनाउनु प्राविधिक शिक्षकहरुको बिडम्बना रहेको छ । यसतो स्थितिले अध्यपान कार्य पनि केहि फितलो हुन पुग्ने गर्दछ । जस अनुरुप अन्ततः विद्यार्थीहरु मारमा पर्ने गर्दछन् ।
समाधानका उपायहरु :
यो समस्यालाई हल गरी उचित निकास दिनको निमित्त धेरै कार्यहरु गर्नुपर्ने आवश्यकताको महसुस हुन्छ । सर्वप्रथम यस कोर्षमा अध्यापन गराइरहेका शिक्षकहरुको शिक्षक सेवा आयोगद्वारा परीक्षा लिई स्थायी नियुक्ति दिने प्रक्रियालाई शिक्षा मन्त्रालयले चाँडो भन्दा चाँडो अगाडि बढाउनु पर्ने देखिन्छ । जसका लागि नेपाल इन्जिनियरिङ काउन्सिल सँगसँगै नेपाल इन्जिनियर्स एसोसिएसन, प्राविधिक शिक्षक संघले पनि यस विषयलाई प्रभावकारी ढंगले उठान गरी उचित निकास दिनुको विकल्प छैन ।
यसका साथसाथै शिक्षा मन्त्रालयले उक्त प्राविधिक धारका कोर्षहरुलाई पुनः पाइलटिङ गरी अनुचित र अव्यवहारिक सम्बन्धनलाई घटाउँदै लैजाने र उत्पादन अनुरुपको जनशक्तिलाई सरकारीस्तरबाट नै व्यवस्थापन गर्न सक्ने किसिमको परिपाटीको विकास गर्नु पर्ने जरुरी देखिन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा प्राविधिक जनशक्तिको खाँचो हरेक क्षेत्रमा जरुरी छ । जसअनुरुप जनशक्तिहरु उत्पादन पनि भइरहेका छन् । उक्त जनशक्तिलाई स्वदेशमै उचित रोजगारी दिलाउन सकेको खण्डमा मात्रै यस प्राविधिक धारको कोर्षमा विद्यार्थी लगायत अभिभावकहरुको आकर्षण बढेर जाने देखिन्छ भने प्राविधिक शिक्षाको औचित्य पनि पूरा हुने देखिन्छ ।
यसका साथसाथै पाठ्यक्रमलाई पनि समयानुरुप परिमार्जित गर्दै लैजाने र प्राविधिक धार तर्फका विद्यार्थीहरुको प्राविधिक विषयहरुको ग्रेडिङ प्रक्रियालाई सामान्य धार भन्दा केहि फरक र प्रभाबकारी ढंगले अगाडि लैजाँदा प्राविधिक धारका विषयहरुले महत्व पाउने देखिन्छ । तसर्थ प्राविधिक शिक्षा आजको मात्रै होइन सधैको आवश्यकता हो र यस शिक्षालाई मजवुत बनाउन हरेक सरोकारवालाहरुले उत्तिकै चासो दिन सकेको खण्डमा यस शिक्षाले सोचे अनुरूपको प्रतिफल दिन सक्ने देखिन्छ ।