भवन निर्माणका लागि सिलान्यास गर्नुहुँदै मुख्यमन्त्री लामा ।

हेटौँडा : हेटौँडा–१, भिन्तुनापथमा नेपाल भाषा खलः को भवन निर्माणका लागि शिलान्यास गरिएको छ । बिहीबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिलान्यास गर्नुभएको हो । बागमती प्रदेश सरकारको २८ लाख ८४ हजार रुपैयाँ बजेट, लागत सहभागिता ३ लाख ३५ हजार रुपैयाँसहित ३३ लाख ३५ हजार रुपैयाँ बजेटले भवन निर्माणको थालनी गरिएको हो ।

आगामी असार १० गतेसम्म उपभोक्ता समितिमार्फत भवन निर्माणको सम्झौता भएको छ । भूकम्पका कारण जीर्ण भएपछि पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । स्वर्गीय हर्षनर बज्राचार्यले नेपाल भाषा खलःका लागि ४ दशकअघि १५ धुर जग्गा दान गर्नुभएको थियो । नेपाल भाषा खलःका अध्यक्ष महेश श्रेष्ठले ४ तल्लाको भवन निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार पारेको जानकारी दिनुभयो । अहिले प्देश सरकारले उपलब्ध गराएको बजेटबाट फाउण्डेशन तयार पारेर पिल्लरसम्म उठाउन सकिने र प्रदेश सरकारसँग आगामी आर्थिक वर्षमा पनि निरन्तर बजेट प्राप्तिका लागि पहल गर्ने उहाँले जानकारी दिनुभयो । भुइँतल्लालाई व्यापारिक प्रयोजनका लागि भाडामा लगाएर नियमित आयस्रोतको रुपमा विकसित गर्ने र माथिल्लो तल्लामा संग्रहालय, सभा हल, कार्यालय सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सिलान्यासपछि मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेश सरकारले जातीय भाषा, संस्कृतिको जगेर्ना गर्न सचेत रहेको बताउनुभयो । प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारको कामकाजी भाषाको रुपमा प्रचलनमा समेत ल्याइसकेको स्मरण गराउनुहुँदै जातीय समुदायले भाषाको प्रचलनलाई प्रवद्र्धन गर्न अग्रसर हुनुपर्ने मुख्यमन्त्री लामाको भनाइ थियो । बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले प्रदेश सरकारसँग मात्रै नभई नेपाल भाषा खलःले आफ्नो जातीय समुदाय र आम नागरिकसँग पनि सहयोग संकलन गरेर भवन निर्माण कार्य पूरा गर्नुपर्ने बताउनुभयो ।

भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, प्रदेश सभा सदस्य रामकुमार पहाडी, वडाध्यक्षहरु विष्णुगोपाल महर्जन, सविन न्यौपानेको पनि आतिथ्य रहेको थियो ।