अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले ।

हेटौँडा : १९औं लोकतन्त्र दिवसको अवसरमा लोकतन्त्रको सवलीकरणमा नागरिक समाजको भूमिका र चुनौति विषयक अन्तरक्रिया भएको छ । नागरिक समाजको सहभागितामा गठन भएका विभिन्न संघ, संस्थाका प्रतिनिधिको उपस्थितिमा गैरसरकारी संस्था (गैसस) महासंघ मकवानपुरको सभाकक्षमा बिहीबार अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सहभागीले नागरिक समाजको भूमिका र सक्रियता नगन्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नागरिक समाजले पहरेदारीको भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेको भनी चिन्ता व्यक्त गरिएको हो । नागरिक समाज भनिए पनि विभिन्न दलमा आवद्ध भएर पूर्वाग्रहका आधारमा बहस पैरवी हुनु, कतिपय सार्वजनिक मुद्दालाई नागरिक समाजले देखे–नदेखे गर्नु समस्याको विषय भएको सहभागीको भनाइ थियो । राज्यलाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक समाजले प्रश्न उठाइरहनुपर्ने, निगरानी गरिरहनुपर्नेमा पनि सहभागीले जोड दिएका छन् ।

अन्तरक्रियामा वन विज्ञान अध्ययन संस्थानअन्तर्गतको हेटौँडा क्याम्पसका प्राध्यापक राजबाबु पहाडीले नागरिक समाजको अवधारणा, भूमिका र जिम्मेवारी तथा चुनौतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले राज्यले लोकतन्त्र दिवस नै बिर्सनु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । उहाँले नागरिक समाज स्थायी प्रतिपक्षीको भूमिकामा रहनुपर्नेमा जोड दिनुभयो ।

गैसस महासंघ बागमती प्रदेश समितिका कार्यवाहक अध्यक्ष कमल कुमार बिश्वकर्माले नागरिक समाजलाई सशक्त र बलियो बनाउन निरन्तर बहसको आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, राष्ट्रिय मानवअधिकार आयोगको हेटौँडास्थित कार्यालयका प्रमुख पवन कुमार भट्ट, गैसस महासंघको केन्द्रीय समिति सचिव बुद्धशरण लामा, नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटासहित विभिन्न संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।