हेटौंडाः मकवानपुरको हेटौंडा-१३, स्थित पदमपोखरी अस्पतालमा सबैभन्दा बढी खोप लगाउने र जुकाको औषधी खाने सेवाग्राही मात्र भिड देखिएको छ । गत आर्थिक वर्ष २०८० साल माघ ५ गते हेटौंडा उपमहानगरकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभएसँगै अस्पतालमा निशुल्क सेवा सुचारु भएको थियो । हेटौंडा उपमहानगरभित्रका स्वास्थ्य संस्था स्तरोन्नति गर्ने उद्देश्यले अस्पतालमा सञ्चालनमा ल्याएको थियो ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमदेखि नियमित खोप सेवा मार्फत सरसफाइ प्रवद्र्वन कार्यक्रम भइरहेको पदमपोखरी अस्पतालका इन्चार्ज शेरबहादुर ब्लोनले जानकारी दिनुभयो । यस्तै इमर्जेन्सी, ओपिडी, गर्भपतन, प्रसुति, बाल पोषण, परिवार नियोजन, विद्यार्थीलाई आइरन चक्की वितरणदेखि परामर्श सेवा अस्पतालले निशुल्क दिने गरिएका छन् । तर अस्पतालले ल्याब परीक्षण गर्दा भने ५० रुपैयाँदेखि ७ सय रुपैयाँसम्म शुल्क लिने गरेको छ ।
हेटौंडा-१२, १३ र १४ नम्बर वडाका सेवाग्राही अस्पतालमा आउने गरेको छ । इन्चार्ज ब्लोनकाअनुसार क्षयरोग, एचआईभी, दम, सुगर, प्रेसरका बिरामीदेखि खोप, जुका औषधी खाने करिव एक हजार २ सय सेवाग्राहीहरु निशुल्क सेवा लिन अस्पतालमा आउने गरेका छन् । ५ बेडको मान्यता प्राप्त अस्पतालमा ६ बेड राखिएको छ तर मंगलबार बेड खाली थिए । इमर्जेन्सी सेवा लिन सेवाग्राही नआएसँगै बेड खाली भएको हो ।
अस्पताललाई बार्थिङ सेन्टर, रेडियोग्राफी सेवा ल्याउन आवश्यक रहेको इन्चार्ज ब्लोनले जानकारी दिनुभयो । उक्त सेवा बिना बिमा लागू गर्न नसकिने उहाँको भनाई छ । एक जना मेडिकल अधिकृत, अहेब ३, नर्स २, ल्याब टेक्निसिएन एक, कार्यालय सहयोगी २ गरी ९ जना जनशक्ति छन् । अस्पतालले १० देखि ५ बजेसम्म मात्र सेवा दिँदै आइरहेको छ ।