हेटौँडाः नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इञ्चार्ज रामेश्वर रानाले राजावादीहरुले विरोधका नाममा अराजकता फैलाएको आरोप लगाउनु भएको छ । उहाँले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरुलाई कानून बमोजिम करवाही गर्न माग गर्नुभएको छ ।
नेकपा एमाले मकवानपुरले गणतन्त्रको पक्षमा हेटौँडामा गरेको प्रदर्शन तथा सभालाई सम्बोधन गर्नुहुँदै इञ्चार्ज रानाले सामन्तकालिन इतिहासतर्फ अब मुलुक फेरि फर्कन नसक्ने दावी गर्नुभयो । उहाँले गणतन्त्रको विरुद्धमा भइरहेका षड्यन्त्र विरुद्ध एकजुट हुन आग्रह गर्नुभयो ।
‘आज केही आफ्ना विवेकलाई धरौटी राख्ने, समान्तवादको चकरी गर्नेहरुले भ्रम सिर्जना गर्ने प्रयास गरिरहेका छन् । त्यो भ्रम र अन्यौलतामा रहन जरुरी छैन’, रानाले भन्नुभयो, ‘जनताको सर्वोच्चता, कानुनी राज, बहुदलीय प्रतिष्पर्धा, जनताको विश्वासको आधारमा मुलुकलाई अगाडि बढाउन आवश्यक छ । समृद्ध र सुखी नेपाल निर्माणमा संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको निम्ति संस्थागत जगेर्नाका लागि एकजुट हुन जरुरी छ ।’
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले राजावादीहरुको अराजकताले सीमा नाघेको बताउनुभयो । उहाँले लुटपाट, तोडफोट राजतन्त्रको चरित्र भएको आरोप लगाउनुभयो । राजतन्त्रको दम्भ मात्र नभई सत्ता प्राप्तका लागि जे पनि गर्न तयार भएको उहाँको भनाई छ । इतिहासमा दरबार हत्याकण्डलाई हेर्दा पनि आफ्ना परिवारलाई मारेर आफू सत्तामा जाने एकपछि अर्को षड्यन्त्र पूर्वराजा ज्ञानेन्द्र शाहले रचिरहेको उहाँले दावी गर्नुभयो। षड्यन्त्रबाट राजतन्त्र ल्याउन खोजिएको भन्दै गणतन्त्र र लोकतन्त्रको पक्षमा आवाज उठाएर विरोध जनाउन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको बताउनुभयो । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको उहाँले जानकारी दिनुभयो।