हेटौँडा : बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज (सोमबार) अपराह्न ४ः३० बजेका लागि बोलाउनु भएको सर्वदलीय बैठक भोलि मंगलबार बिहान बस्ने भएको छ । भोलि मंगलबार दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठकअघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफलका लागि भन्दै आज (सोमबार) सर्वदलीय बैठक बोलाइएको थियो ।
आजै अपरान्ह प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने र सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका शालिकराम जम्कट्टेल समेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक भोलिका लागि सारिएको बुझिएको छ । सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा संचालनको विषयहरु टुंग्याउन सर्वदलीय बैठक आव्हान गरेको जानकारी दिनुभयो । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उहाँको भनाई छ ।
सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्ष बीचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्व्हान गरिएको हो । बैठकले प्रदेशसभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचिका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ । ११० सदस्यीय बागमती प्रदेशसभामा ७ दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेसका ३७, एमालेका २७ (उपसभामुखसहित), राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेश सभा सदस्य छन् ।