यही चैत ७ गतेदेखि सुरु भएको विद्यालय शिक्षा परीक्षा (एसईई) मा मैले बालजागृति इंग्लिस सेकेन्डरी स्कूलबाट सहभागी भएँ । एसईईमा सहभागी भएर मैले धेरै अनुभवहरु बटुलेँ । परीक्षाका लागि मेरो मात्र नभएर सम्पूर्ण विद्यालयको तयारी उत्कृष्ट थियो । विद्यालयको साथ, समर्थनले मेरो परीक्षाको तयारी झन रमणीय बनेको थियो ।
समग्रमा परीक्षामा सोधिएको प्रश्नहरु मध्यम खालका थिए । ती प्रश्नहरुले मूलतः हाम्रो ज्ञान र अभिव्यक्तिको परीक्षण गरेको थियो । मेरो परीक्षा केन्द्र हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय थियो । त्यसैले मलगायत साथीहरु बिहान त्यहाँ पुग्यौँ । आधुनिक राट्रिय माध्यमिक विद्यालयको वातावरण परीक्षाको समयमा शान्त र व्यवस्थित थियो । परीक्षामा आएका सम्पूर्ण प्रश्नहरुको उत्तर चित्त बुझ्दो तरिकाले दिन मलाई समय पूर्णरुपमा पर्याप्त भएको थियो ।
परीक्षा दिँदै जाँदा त्यस्तो खासै चुनौति सामना गर्नु परेन । विद्यालयमै प्रायः परीक्षाहरु लिने भएकाले म परीक्षा दिन आत्मविश्वासका साथ सहभागी भएँ । म परीक्षाको नतिजा राम्रो आउला भन्ने अपेक्षा गर्दछु । भविष्यमा परीक्षा दिँदै जाँदा अझ समय व्यवस्थापन गर्न चाहन्छु । परीक्षा राम्रो भएकाले आत्मविश्वासका साथ सबै प्रश्नको उत्तर दिन सकेँ । प्रश्नपत्र पाठ्यक्रम अनुरुप आएको थियो । केही प्रश्नहरु गहन रुपमा सोच्न बाध्य पार्ने खालका थिए । परीक्षामा त्यस्तो हुनुपर्छ । नेपाली र अंग्रोजीका परीक्षा केही सरल थिए । सरल भन्नाले भाषिक रुपले थौरैमात्र घुमाएको थियो । परीक्षाको निगरानी पनि कडा भएकाले निष्पक्ष नतिजा प्रकाशन हुने आपेक्षा राख्दछु ।
समग्रमा मेरो आफ्नै अनुभवअनुसार परीक्षा सनतोषजनक रहेको आभास भयो । केही कमि, कमजोरीलाई अगामी दिनमा सुधार्ने मौका पाएँ । मेरो यो सन्तोषजनक परीक्षाको अनुभवको मूल श्रेय मेरो विद्यालय बालजागृतिको शिक्षण सिकाईको तरिका हो । परीक्षा हल जाँदा र आउँदा शिक्षकहरुको दैनिक उपस्थितिले मेरो र मेरा साथीहरुको आत्मबल बढेको थियो । अन्ततः सम्पूर्ण राष्ट्रको उत्कृष्ट नतिजाको कामना गर्दछु ।