हेटौँडा : बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहभागितामा आज सर्वदलीय बैठक बस्दैछ । बागमती प्रदेशसभाको बैठक संचालनको लागि सर्वदलीय बैठक आव्हान गरिएको हो ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले चैत १८ गते (आज) अपरान्ह ४ः३० बजे प्रदेशसभा सचिवालयका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा संचालनको विषयहरु टुंग्याउन सर्वदलीय बैठक आव्हान गरिएको उहाँले जानकारी दिनुभयो । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी गरिएको उहाँको भनाई छ ।
उहाँका अनुसार सत्तापक्ष र प्रतिपक्ष बीचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आव्हान गरिएको हो । बैठकले प्रदेशसभाको भोलि चैत १९ गते बस्ने बैठकका कार्यसूचिका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ । ‘केही समयपछि बैठक बस्ने तय भएकाले छलफल गर्न तयारी भएको हो । बैठकका लागि प्रदेशसभाका ७ वटै दललाई पत्रकाचार भएको छ’, सभामुख पाठकले भन्नुभयो, ‘संसद बैठक अघि केही असहमति, एजेण्डाका विषयमा छलफल गर्न सर्वदलीय बैठक महत्वपूर्ण हुने भएकाले आह्वान गरिएको हो । सत्तापक्ष र प्रतिपक्ष बीचका विषयहरुलाई पनि समेट्ने गरी छलफल हुनेछ । विकसित राजनीतिक घटनाक्रममा दलहरुको धारणा बुझेर प्रदेशसभा बैठकको कार्यसूचि र संचालनको विषय निचोडमा पुग्नेछ । प्रदेश सभा बैठक संचालनका लागि हालसम्म कुनै असहज अवस्था छैन ।’
११० सदस्यीय बागमती प्रदेशसभाका ७ दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुखसहित), राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ जना सदस्य छन् ।