हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको छ । सोमबार बिहान भएको फाइनल खेलमा वडा नम्बर ३ लाई २५–१४, २३–२५, २५–१६, २५–२३ को सेटमा पराजित गरेको हो । उपाधिसँगै वडा नम्बर ५ ले नगद ७५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको वडा नम्बर ३ ले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनल खेलमा वडा ५ ले वडा २ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने वडा नम्बर ३ ले १० नम्बरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा ५ का धिरज लो घोषित भए भने उदीयमान खेलाडीमा वडा ४ का नमराज मोक्तान घोषित भए । उत्कृष्ट स्पाइकरमा वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डरमा वडा ५ का विजय तितुङ, उत्कृष्ट सेटरमा वडा ३ का बालचन्द्र मल्ल, उत्कृष्ट ब्लकरमा वडा ५ का वीरबहादुर वाईवा र उत्कृष्ट प्रशिक्षक वडा ५ का गोविन्द वाईबा घोषित भए । विधागत विजेताहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
कैलाश गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक मोहन वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्य रहेको थियो । विजेता टोलीलाई उपाध्यक्ष मल्लले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष छेकु लामा, वडा ३ का कार्यबाहक अध्यक्ष राममाया प्रजा, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, समाजसेवी नरेन्द्र रिजाल लगायतको आतिथ्य रहेको थियो ।