हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगितामा आज बिहीबार सेमीफाइनल चरणको खेल हुँदैछ । चितवनको रत्ननगर नगरपालिकामा हुने प्रतियोगिताको सेमीफाइनल हेटौँडा उपमहानगरपालिकाले मकवानपुरको मनहरी गाउँपालिकाको टिमसँग सामना गर्नुपर्नेछ । आज बिहीबार हुने सेमीफाइनल चरणको खेलमा जीत निकाले हेटौँडाको टिमले फाइनलको यात्रा पूरा गर्नेछ ।
खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । मंगलबार भएको क्वार्टरफाइनल चरणको खेलमा चितवनको भरतपुर महानगरपालिकाको टिमलाई हेटौँडा उपमहानगरपालिकाको टिमले सडन डेथमा पराजित गरेर सेमीफाइनलको यात्रा तय गरेको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरले पहिलो चरणको खेलदेखि नै खेलाडीहरुले राम्रो प्रदर्शन गरेको कारणले फाइनलको यात्रा पूरा गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
मकवानपुर जिल्लाका एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठको नेतृत्वमा २० जना खेलाडी छनोट गरेर प्रतियोगितामा सहभागी भएको उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ११ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसीर १५ गते हुनेछ ।