“ए छोरो ! तैंले जागिर खालास् र सुखको दिन आउला भन्ठानेको खोइ त ! आकाशको फल आँखा तरी मर भने झैँ हुने भो ।”
“ए आमा ! नेपालमा जागिर ! तिनीहरुको आफ्नो मान्छेलाई नै भ्याएका छैनन् । हामीले पाउन त उही हो । अब छिट्टै भिसा झर्छ चिन्ता लिनु पर्दैन ।” विश्वासका साथ छोराले भने ।
“छोरा ! छिटो हुन्छ भन्दा भन्दै वर्ष दिन बितिसक्यो ! पैसा जम्मै लगेर खन्याई हालिस् । त्यो पैसा भएको भए पनि आज तेरो बाउलाई औषधी गर्न हुन्थ्यो नि । तङ्ग्रिएलान् कि भन्दाभन्दै झन थला नै परिसके । घरमा सुको छैन । बरु जा न त्यो डाक्टरले लेखिदिएको औषधी पसलमा गएर उधारो लिएर आइज ।”
“आमा ! अस्ति बजारमा मलाई देखेर औषधीको बाँकी पैसा खोइ तिरेको भन्दै थियो, फेरि उधारो लिन म जान्न ।”
“त्यसो हो भने तेरा बाउले, मेरो तिलहरी बेचेर छापेको त्यो साहित्यको किताब बजारमा बेचेर औषधी लिएर आइज, जा ।”
“हुन्छ आमा !” भनेर छोरा किताबको ठेली बोकेर बजारतिर लागे ।
कोठा भित्रबाट कोही बोलेको सुनियो, “ए, छोराकी आमा ! तँ कहाँ छेस् ? भित्र आइज न !”
लोग्नेले बोलाएको सुनेर उनी भित्र पस्दै भनिन्,” होइन, के भो तपाईंलाई ?”
“तेरो अनुहार हेर्ने यो जन्ममा अब यति मात्रै होला । अब त मैले बाँच्ने आशा पनि मारिसकेँ !”
“के भन्नुभाको त्यस्तो ! तपाइँलाई केही हुन दिन्न ।” छोरा औषधी लिन गएको छ भन्दै लोग्नेलाई अँगालो हालेर रोईरहिन् ।
छोरो आएको चाल पाएर उनी लोग्नेको अँगालोबाट अलगिइन् । छोरो अँध्यारो मुख लगाएर खाली हात फर्केको देखेर उनले सोधिन्, “छोरा ! खोइ औषधी ?”
“आमा ! किताब बिक्री भए त ल्याउने हो ! कसैले किन्न नै मानेन । अन्तमा एउटा चटपटे पसलेले बल्ल बल्ल बीस रुपैयाँ किलोमा किन्यो । त्यो पैसाले औषधी दोकानमा पुरानो बाँकी तिर्न पनि नपुगेकाले औषधी उधारो दिएन र खाली हात फर्किएँ ।

हेटौँडा–६, चौघडा